बिहीबार, १५ चैत २०८०

भारतीय राजदूतावास काठमाडौँले यसरी मनायो २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

समयपोष्ट २०७९ चैत ४ गते १९:४१

Advertisement

भारतीय राजदूतावास, काठमाडौँले आज दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २१ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ ।

कार्यक्रममा गएका वर्ष र यो वर्ष स्वर्ण जयन्ती छात्रवृत्ति पाएका विद्यार्थी लगायत २५० भन्दा बढी अतिथिको उपस्थिति थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यक्रममा भएको भेलालाई सम्बोधन गर्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालय (विज्ञान तथा प्रविधि) का सचिव प्रमिला देवी बज्राचार्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी तथा नेपालका प्रमुख विश्वविद्यालयका उपकूलपतिको विशेष उपस्थिति थियो ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा नन्द बहादुर सिंह, नेपाल खुल्ला विश्वविद्यालयका उपकूलपति प्रा. डा. शिलु मानन्धर बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा. डा. तिलकराम आचार्य, कृषि तथा वन विश्वविद्यालयका उपकूलपति प्रा. डा. पुण्य प्रसाद रेग्मी पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न कलेजका डिन तथा विभिन्न प्रतिष्ठित विद्यालयका प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो ।

मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २१ औं ब्याचका छात्रवृत्ति विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आगामी वर्षदेखि स्वर्ण जयन्ती छात्रवृत्ति पाउने जेहेन्दार विद्यार्थीरुलाई विभिन्न विधामा भारतीय दूतावासको विशेष रोल अफ अनर प्रदान गर्ने घोषणा गर्नुभयो ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । यो योजनाको सुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति संख्या थपेर १०० पुर्याइएको थियो । सन् २०१२ देखि छात्रवृत्तिको संख्या दोब्बर बढेर २०० पुगेको छ । यस छात्रवृत्ति योजना अन्तर्गत,MBBS/BDS अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु. ४०००, BE अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु. ४००० र अन्य undergraduateकोर्ष.BA, BEd, B. Pharmacy, BSc Agriculture, BBA, BBM र BBS अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि नेरु. ३००० प्राप्त गर्दछन् ।

यस प्रतिष्ठित योजनाबाट हालसम्म नेपालका ७७ जिल्लाका ३००० जना विद्यार्थी लाभान्वित भइसकेका छन् । स्वर्ण जयन्ती छात्रवृत्ति पाएका कूल विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

यस पटक स्वर्ण जयन्ती छात्रवृत्ति पाएका ७३ जिल्लाका २०० जना विद्यार्थीमध्ये ४४ प्रतिशत छात्रा छन् । स्वर्ण जयन्ती छात्रवृत्ति योजना अन्तर्गत यो वर्ष आठ जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा undergraduate तथा graduate तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, कला, कमर्स, विज्ञान, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फर्मिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झण्डै १६०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ । सन् २००६ यता हालसम्म २७,००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

‘निकट एवम् मैत्री छिमेक सम्बन्ध रहेको भारत र नेपालबीच शिक्षाको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ ।’ भारतीय राजदूतावास काठमाडौंद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ -‘ यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको छ । ’

प्रतिक्रिया

सम्बन्धित सामाग्री