
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार सरकारी ढुकुटीमा कुल १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ सञ्चिति रहेको छ ।
जुन गत असार मसान्तको भन्दा १३.८ प्रतिशतले बढी हो । गत असार, २०७९ मा यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु. १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।










प्रतिक्रिया