बिहीबार, १५ चैत २०८०

‘वाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या

समयपोष्ट २०७४ फागुन २९ गते १५:०५

विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

Advertisement

उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको हो ।

घटनामा संलग्न भएको भन्दै ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित विर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ घर भई विर्तामोड– ३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाका र संगठित अपराधअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिनुभयो । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ । उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले उनीहरुका साथबाट घटनामा संलग्न भएको एक थान स्कुटर र सुनका गहरगहना , सिमसहितका छ थान मोबाइल सेटसमेत बरामत गरेको प्रहरी उपरीक्षक केसी बताउनुभयो । घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती बजारबाट सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।

गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक बेपत्ता भएका थिए । बेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार मात्र शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।
यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विर्तामोड बजार बन्द गराएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री