बुधबार, २६ वैशाख २०८१

सरकारले बनायो छ सदस्यीय जाँचबुझ आयोग, हवाई दुर्घटना दोहोरिन नदिन उपाय खोजिने

समयपोष्ट २०७४ फागुन २८ गते १६:२५

मन्त्रिपरिषद्को बैठकले आज भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ ।

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताउनुभयो । बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ ।

बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथ महान्यायाधिवक्ताको प्रक्रियाजस्तै गरी प्रदेशको उच्च अदालतको मुख्य न्यायाधीशको उपस्थितिमा गराउने निर्णय गरेको छ ।

हवाई दुर्घटना दोहोरिन नदिन उपाय खोजिने छःप्रम

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु लिएर काठमाडौंँ आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाउनुभएका नेपाली÷बंगलादेशीलगायत सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गरी उहाँले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएका यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । सो त्रासदीपूर्र्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गरेको जनाउँदै उहाँले यस्ता प्रकृतिका घटना दोहोरिन नदिन उपाय खोजिने बताउनुभएको छ ।

दुर्घटनामा परेका यात्रुको शीघ्र उद्धारमा तदारुकताका साथ घटनास्थलमा खटिनु भएका नेपाली सेनालगायत सुरक्षा निकाय, नेपाल नागरिक उड्ययन प्राधिकरण, दमकल, एम्बुलेन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राष्ट्रसेवक कर्मचारीसहित घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री