शुक्रबार, १६ चैत २०८०

निर्वाचनका लागि आज रातिदेखि मौन अवधि

समयपोष्ट २०७४ फागुन २६ गते १३:१५

राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।

Advertisement

निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ ।

सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।

आयोगले आज सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ ।

यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नवराज ढकालले आज विज्ञप्ति जारी गरी यही फागुन २२ गते अन्तिम नामावली प्रकाशित भएको जनाउनुभएको हो ।

नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउनुहुने छैन । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री