२० फिटे बाटो नभएका जग्गा किनबेचमा रोक !

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिइरै गरिएका २०० बढी प्लटिङका जग्गा तत्काल रोक्का हुने भएका छन् ।

Advertisement

काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरमा गरी करीब २०० हाराहारी ठाउँमा अनधिकृत प्लटिङ भएको पत्ता लगाइसकेको छ ।

अहिले ती प्लटिङ भएका जग्गाको कित्ता नम्बर खोज्न विकास प्राधिकरणले टोली खटाएको छ । केही ठाउँमा कित्ता नम्बर समेत पत्ता लगाइसकेको प्राधिकरणले सबै अनधिकृत प्लटिङको कित्ता नम्बर आएपछि सिधै मालपोत कार्यालयलाई पत्राचार गरेर रोक्का राख्ने योजना बनाएको छ ।

‘अहिले भक्तपुर र ललितपुरले पहिचान गरेका करीब २०० ठाउँका अनधिकृत प्लटिङको कित्ता नम्बर खोजीरहेका छौ ।’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी आयुक्त जानूका ढकालले अभियानलाई भनिन्, ‘सबै ठाउँको कित्ता नम्बर आयो भने ती जग्गा रोक्का राख्नको लागि मालपोत कार्यालयलाई पत्राचार गर्छौ ।’

मालपोत कार्यालयबाट जग्गा रोक्का राखिसकेपछि उनीहरूले मापदण्ड अनुसारको ५ प्रतिशत खुल्ला क्षेत्र र २० फिट बाटो कायम गरे भने मात्रै फुकुवा गर्ने पनि ढकालले बताइन् । अन्यथा उक्त जग्गाको किनबेच पूर्णरुपमा रोक्का रहने उनको भनाई छ ।

Advertisement

रातारात नाफा कमाउन अनधिकृत काम
घरजग्गा व्यवसायीहरूले नाफा मात्रै हेरेर काम गर्दा शहर नै कुरुप हुने गरि साँघुरा बाटो राखेर प्लटिङ भइरहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

अहिले जग्गाको मूल्य अचाक्ली बढेको छ । मान्छेहरूलाई सस्तो सस्तो जग्गा चाहिएको छ । व्यवसायीलाई एकै महीनामा करोड रुपैयाँ नकमाई भएको छैन ।

२० फिटे बाटो राखेर ५ प्रतिशत खुल्ला क्षेत्र छोडेर नियम अनुसार काम गर्दा एक रोपनी जग्गामा २/३ ओटा भन्दा बढी घडेरी बनाउन सकिन्न ।

तर त्यहि जग्गा अनुमति नलिएर १३ फिटे बाटो राखेर प्लटिङ गर्दा ४ ओटासम्म घडेरी बनाउन सकिन्छ । त्यसै कारण व्यवसायीहरूले अनधिकृत प्लटिङ गर्ने गरेको जानकारहरू बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री