शुक्रबार, १४ वैशाख २०८१

तेल कम्पनीका पूर्वअध्यक्षलाई भ्रष्टाचारको मुद्दामा एघार वर्षको जेल सजाय

समयपोष्ट २०७४ फागुन २४ गते १०:२५

ब्राजिलमा राज्यद्वारा सञ्चालित एक तेल कम्पनीका पूर्वअध्यक्षलाई भ्रष्टाचारको मुद्दामा बुधबार एघार वर्षको जेल सजाय सुनाइएको छ ।

Advertisement

यहाँको सरकारी समाचार समितिले सो जानकारी दिएको छ । सन् २०१५ को फेब्रुअरीदेखि २०१६ को मे महिनासम्म अध्यक्ष रहेका एल्डेमिर बेनदिनेलाई सो सजाय सुनाइएको हो ।

उनीमाथि सो तेल कम्पनीमा भएको भ्रष्टाचार सञ्जालको अनुसन्धान भइरहेको समाचार यसअघि नै आएको थियो ।

यहाँको एक सङघीय अदालतका न्यायाधीश सिर्गियो मोरोको इजलाशले उनलाई सो कारबाही सुनाएको उक्त समाचार समितिले जानकारी दिएको छ ।

न्यायाधीश मोरोकाकाअनुसार ब्राजिलमा डिल्मा रुसेफ राष्ट्रपति भएको समयमा उनलाई उक्त पेट्रोलियम कम्पनीमा अध्यक्ष बनाइएको थियो । त्यस्तै उनलाई ब्राजिलको एक सरकारी बैंकमा पनि निर्देशकको नियुक्ति दिइएको थियो ।

अनुसन्धानको क्रममा बेनदिनेलाई गत जुलाइमा हिरासतमा लिइएको थियो । भ्रष्टाचार पुष्टी भएपछि उनलाई हाल एघार वर्षको जेल सजाय भएको जनाइएको छ ।
रासस/सिन्हवा

प्रतिक्रिया

सम्बन्धित सामाग्री