शुक्रबार, ४ जेठ २०८१

माग र आपूर्तिबीचको असन्तुलनले अस्वस्थ प्रतिस्पर्धालाई जन्म दिन्छ

समयपोष्ट २०७८ फागुन २४ गते १३:१२

Advertisement

एभरेष्ट इन्स्योरेन्स एभरेष्ट इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

वित्तीय तथा व्यवस्थापकीय दुवै हिसाबले कम्पनीको पछिल्लो अवस्था सबल छ । हामीले मुलुकको आर्थिक वृद्धि तथा बीमा बजारको समग्र वृद्धिसँग तालमेल राख्दै व्यवसायलाई अगाडि बढाएका छौँ । व्यवसायमा अन्तरनिहित जोखिमप्रति सजग रहँदै, सुशासनलाई सर्वाेपरि राख्दै, ग्राहक सेवाको स्तर अभिवृद्धि गरी एउटा पूर्णव्यावसायिक, ग्राहकमैत्री तथा सबल कम्पनीको रुपमा बजारमा स्थापित भएका छौँ ।

हामी अत्यन्त संयमताका साथ दृढतापूर्वक अघि बढ्दैछौँ । समय र परिस्थिति हेरी हामी आफ्नो गति परिवर्तन गछौँ । नम्वर १ को होडबाजीमा लाग्नु अहिले हाम्रो प्राथमिकताको विषय होइन ।

कुनै समय एक नम्बरमा रहेको एभरेष्ट इन्स्योरेन्सले आफूलाई पुरानै अवस्थामा फर्काउन कस्तो रणनीतिअनुसार अघि बढेको छ ?

Advertisement

हामी बीमा बजारको विस्तार र मुलुकको अर्थतन्त्रको वृद्धि सँगसँगै तालमेल मिलाएर व्यवसाय बढाउने कुरामा विश्वास राख्छौँ र सोहीअनुरुप अघि बढ्दैछौँ । बीमा बजारको वृद्धिको गति, देशको आर्थिक वृद्धिको गतिभन्दा छिटो दगुर्न खोज्यो भने आफू अलिकति अगाडि त पुगिएला तर यस्तो कार्यले समस्त बीमा बजारलाई अशान्त बनाउँछ, अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँछ र प्राप्त उपलब्धि पनि दिगो हुँदैन। तसर्थ, हामी अत्यन्त संयमताका साथ दृढतापूर्वक अघि बढ्दैछौँ । समय र परिस्थिति हेरी हामी आफ्नो गति परिवर्तन गछौँ । नम्वर १ को होडबाजीमा लाग्नु अहिले हाम्रो प्राथमिकताको विषय होइन ।

बीमा समितिले समयमा वित्तीय विवरण नबुझाउने केही कम्पनीलाई कारबाही गरेको छ । समयमा वित्तीय विवरण बुझाउन के समस्या छ ?

वित्तीय विवरण समयमा नबुझाई कारबाहीमा पर्ने कम्पनीहरुमा धेरै जीवन बीमा कम्पनीहरु र केही निर्जीवन बीमा कम्पनी छन् । कुनै पनि कम्पनीलाई कारबाहीमा पर्ने रहर पक्कै हुँदैन । केही अप्ठ्यारा, केही समस्या र बाध्यताहरुका कारणले पनि समयभित्र काम सम्पन्न हुन सकेन होला । केही निर्जीवन बीमा कम्पनीले समयमा वित्तीय विवरण बुझाउन नसक्नुमा कम्पनीका आफ्नै विशिष्ट र आन्तरिक कारण होलान् । समयमा वित्तीय विवरण बुझाउन नसक्नुको प्रमुख कारण नियमित वित्तीय विवरणका अतिरिक्त एनएफआरएसमा आधारित वित्तीय विवरण बनाउनुपर्ने र सोका लागि थप समय लाग्नु हो । तर, मलाई आशा छ, आउँदा दिनमा यसमा पक्कै सुधार हुनेछ ।

बीमा समितिले हालै जोखिममा आधारित पुँजी लागु गर्न निर्देशिका जारी गरेको छ । यसका लागि अहिलेदेखि नै नगद लाभांश प्रस्ताव नगर्न निर्देशन पनि दिएको छ । यहाँको विचारमा यो कतिको आवश्यक हो ?

जोखिममा आधारित पुँजी लागु गर्ने कुरा राम्रो कुरा हो । यो अन्तर्राष्ट्रिय अभ्यास हो र जोखिम वहन गर्दा पुँजीको पर्याप्तताबाट निर्देशित हुनुपर्छ भन्ने धारणा हो । यो लागु गर्दा तत्कालै यसबाट पर्ने असर र हाम्रो बहन गर्न सक्ने क्षमतालाई ध्यान दिँदै क्रमिकरुपमा यसलाई लागु गर्दै जानुपर्छ र बीमा समितिबाट प्राप्त निर्देशन पनि सोहीबमोजिम छ । नेपाली बीमा उद्योगलाई पूर्णव्यावसायिक, स्वस्थ, सबल, विकृतिरहित र अन्तर्राष्ट्रियस्तरको बनाउने क्रममा बीमा समितिले समयसापेक्ष निर्णय गर्नु र निर्देशन दिनु सामान्य कुरा हो । यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

बीमा कम्पनीको सङ्ख्या र बीमा कम्पनीहरुको पुँजी बीमा बजारको आकारसँग मेल खानुपर्छ । बजारलाई नियमित रुपमा नियमन, निरीक्षण गर्नुपर्छ र आवश्यक निर्देशन दिनुपर्छ ।

निर्जीवन बीमा क्षेत्रमा अलि बढी अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । यसको न्यूनीकरण कसरी गर्न सकिएला ?

कुनै पनि व्यवसायमा वस्तु वा सेवाको खरिद–विक्री हुने गर्दछ । व्यवसायमा विद्यमान सेवाको गुणस्तर, प्रतिस्पर्धाको स्तर सो वस्तु वा सेवाको माग र आपूर्तिबीचको सन्तुलनमा भर पर्छ । हाल बीमा क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा मूलतः बीमा बजारमा बीमा सेवाको आपूर्ति बढी र माग कम हुनुको कारणले हो । प्रतिस्पर्धाले ग्राहकलाई गुणस्तरीय सेवा प्राप्त गर्ने अवसर दिन्छ तर अस्वस्थ प्रतिस्पर्धाले बजारलाई हानि पुर्याउँछ र बजारको शाखमा नकारात्मक प्रभाव पार्छ । यसको निराकरणका लागि बीमा बजारको विस्तार हुनुपर्छ । बीमाको माग पक्ष दह्रो हुनुपर्छ । यसका लागि सरकारी स्तरबाट बीमालाई प्राथमिकतामा राख्नुपर्छ । देश आर्थिक सम्पन्नतातर्फ लम्किनुपर्छ । जनताको आयस्तर वृद्धि हुनुपर्छ, जसले उनीहरु सहजरुपमा बीमाप्रति आकर्षित हुन्छन् । सबै मिलेर बीमा सचेतना कार्यक्रम बढाउनुपर्छ । दाबी प्रक्रिया जति सक्यो सरल र झण्झटरहित बनाउँदै जानुपर्छ । बीमा कम्पनीको सङ्ख्या र बीमा कम्पनीहरुको पुँजी बीमा बजारको आकारसँग मेल खानुपर्छ । बजारलाई नियमित रुपमा नियमन, निरीक्षण गर्नुपर्छ र आवश्यक निर्देशन दिनुपर्छ । यो काम बीमा समितिबाट नियमित रुपमा र हाल आएर प्रभावकारीरुपमा भइराखेको छ । यसको सकारात्मक प्रभाव पनि बिस्तारै देखिँदैछ । बीमा कम्पनीहरु पनि आफैँ संयमित र अनुशासित भई व्यवसाय गर्नुपर्छ ।

कोभिडसँगै हरेक क्षेत्र डिजिटलाइज हुँदै गएका छन् तर बीमा क्षेत्रमा भने पोलिसी डिजिटल माध्यमबाट किन्न सकिने भए पनि दाबी भुक्तानीका लागि कम्पनीमै धाउनुपर्ने बाध्यता छ । यसको अन्त्य कसरी गर्न सकिएला ?

बीमा बजारमा तीव्र प्रतिस्पर्धा छ र हरेक कम्पनी निरन्तर आफ्नो सेवाको गुणस्तर अझ बढी परिष्कृत र उत्कृष्ट बनाउने होडबाजी गर्दैछन् । व्यवसायमा डिजिटल माध्यमको प्रयोगबाट सेवा स्तरीय हुने र लागत पनि कम हुने हुँदा यसको उपयोग दिनप्रतिदिन बढ्दै जानेछ र दाबी भुक्तानीमा समेत यसको प्रयोग हुनेछ । डिजिटलाइजेसन अवसरमात्र होइन, यसले अवसर सँगसँगै सम्भावित जोखिम पनि ल्याउँछ । जोखिमका लागि आवश्यक तयारी पूरा गर्दै अघि बढ्नुपर्छ । यो समय क्रममा स्वतः विकास हुँदै जाने कुरा हो । दाबी प्रक्रियामा बीमक र बीमितको मात्र भूमिका नभई अन्य पक्ष जस्तै– सर्भेयर, स्थानीय सरकार, सुरक्षा निकाय, चिकित्सक, अस्पताल आदिको समेत भूमिका हुने हुँदा हाम्रो एकल प्रयासले मात्र यो क्षेत्र पूर्णडिजिटलाइज हुन सक्दैन । हाम्रो कम्पनीबाट दाबीको भुक्तानी डिजिटल माध्यमबाट भइरहेको छ ।

अन्त्यमा, एभरेष्ट इन्स्योरेन्सका आगामी योजना के–के छन् ?

हाम्रा आगामी योजना भनेकै ग्राहकको बदलिँदो आवश्यकतालाई पूरा गर्न नयाँ सेवाको निरन्तर खोजी गर्ने, सेवाको गुणस्तरलाई अभिवृद्धि गर्ने, ग्राहक सङ्ख्या वृद्धि गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, ग्राहकको सुविधालाई प्राथमिकता दिने, प्रविधिको उच्चतम् प्रयोग गर्ने, बीमा सचेतना अभियानमा हातेमालो गर्ने, शाखा विस्तार गर्ने, शेयरधनीलाई लगानीको उचित प्रतिफल दिने र नियमनकारी निकायलगायत सबै पक्षको हामीप्रतिको दृष्टिकोण अझ बढी सकारात्मक बनाउँदै लैजाने र सदासर्वदा एउटा असल संस्थागत नागरिकको रुपमा नेपाली बीमाबजारलाई अझ बढी योगदान दिने नै हो ।समयबोध म्यागेजिन, फागुन २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री