
जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरूको जोडी विगत तीन वर्षदेखि भोटानचौरमै छ ।
उनीहरूको रमाएका मुहार देख्दा लाग्छ, यिनीहरू नै यस धर्तीका सबैभन्दा सुखी प्राणी हुन् । तर, उनीहरूको विगत’bout जसले सुन्ने धैर्य गर्छ, भरिएको उत्साह पनि बेलुनबाट फुस्केको हावाझैं, दुःखको वायुमण्डलमा मिसिन्छ । तातोपानी गाउँपालिका–७ सर्मी गाउँको यो दृष्टिविहीन दम्पतीको जीवन अनेक दुख, कष्ट, अभाव र अपमान सहँदै घस्रिरहेको छ, खुट्टा खोच्याउने गोरुले तानेको हलो जस्तो, घचक्कघचक्क ।
उनीहरूसँग भोकै सुतेका कैयौं रात छन्, अपमान सहेका दिन छन् । तीन वर्षअघि मात्रै उनीहरूले अन्तरजातीय विवाह गरे । पुर्खाले जग बसाएको छुवाछुतको छानामुनि जातीय विभेदको जालो तोडेर समाजमा अन्तरजातीय विवाहलाई स्थापित गर्नु ‘फलामको चिउरा चपाउनु’सरह थियो । अहिले ३३औं वसन्तमा प्रवेश गरेका दृष्टिविहीन मानबहादुर कुँवरले बाल्यकालमै आमाबुवा गुमाए । दुई वर्षको उमेरमा दुवै आँखाको ज्योति गुमाएका मानबहादुरले तेस्रो आँखा अर्थात् ‘शिक्षाको आँखा’ले दुनियाँ नियाल्ने रहर गरे । २०६० सालमा सिंजामा रहेको भैरव माविमा भर्ना भएर पढाइ सुरु गरे तर कक्षा ७ मा पुगेपछि औपचारिक शिक्षा आर्जनमा पूर्णविराम लाग्यो । जन्मघर सर्मीबाट धेरै टाढा छ, सिंजा नराकोटको भैरव मावि । त्यतिबेला अहिलेको जस्तो सवारीसुविधा पनि थिएन । घरबाट नराकोट पु¥याउने कोही भएन । बुवाआमाको मृत्युपछि मानबहादुरलाई खरानीको थुप्रोमा नयाँ जीवनको सुरुवात गर्नुसरह थियो । ‘दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला भयो, जतिबेला एक दिनको पैदल यात्रा गर्न नसकी पढ्ने चाहनालाई तिलाञ्जली दिनुप¥यो । दृष्टिविहीन नभएको भए आज मेरो यो हाल हुने थिएन होला,’ मानबहादुरले भने । आजको राजधानी दैनिकमा यो समाचार छ ।







प्रतिक्रिया