शनिबार, १५ वैशाख २०८१

८० वर्षपछि अस्पतालमा औषधालय सेवा सञ्चालनमा

समयपोष्ट २०७४ फागुन २२ गते ६:३१

स्थापना भएको करीव ८० वर्षपछि नवलपरासी जिल्ला पृथ्वी चन्द्र औषधालय सेवा सञ्चालनमा आएको छ ।
अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार महिनाअघिदेखि औषधालय सेवा सञ्चालनमा आएको हो । सोअनुसार निःशुल्क र सशुल्क दुवै प्रकारका औषधि प्रदान गरिएको छ । सरकारले नियमानुसार उपलब्ध गराउने निःशुल्क औषधिको अभिलेख खडा गर्न भनिएको छ ।

Advertisement

सशुल्क उपलब्ध गराइने औषधि बाहिरको मूल्यभन्दा निकै सस्तोमा उपलब्ध गराइँदै आएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए ।

नाफामूलकभन्दा पनि सेवामूलक भावनाले औषधालय सेवा सञ्चालनमा ल्याइएको हो । श्रीवास्तवका अनुसार चौबीसै घण्टा बाहिरका औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराइने छ ।

अस्पतालभित्र औषधालय सेवा नभएका कारण बिरामीलाई औषधि लिनका अस्पताल बाहिर भएको क्लिनिकमा जानुपर्ने बाध्यता रहँदै आएको थियो । अस्पतालमा ५३ जनशक्तिको दरबन्दी भए पनि हाल २१ जना मात्रले काम चलाउनुपर्दा प्रभावकारी सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको छ । हालै मात्र ५० शय्याको क्षमता विस्तार भएको अस्पतालमा दिनहुँ करीव १५० बिरामी आउने गरेका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री