शनिबार, ११ असार २०७९

काँग्रेस संसदीय दलको उपनेतामा गच्छदार

समयपोष्ट २०७४ फागुन २१ गते १५:५७

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ ।

Advertisement

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गर्नुभएको हो । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गर्नुभएकामा सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले सांसदहरुले संसद्मा निर्वाह गर्ने भूमिका आधारमा पार्टीले मूल्यांकन गर्नेसमेत बताउनुभयो ।

बैठकमा नेता प्रकाशमान सिंहले पार्टीका सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकामा बधाई एवं कार्यकालको शुभकामना दिनुभयो ।

बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसको पुण्यतिथिमा श्रद्धाञ्जलि प्रस्ताव पारित गरेको छ । श्रद्धाञ्जलि प्रस्तावमा भनिएको छ, “त्याग, बलिदान, निष्ठा, सदाचार र दृढ इच्छाशक्तिका प्रतिमूर्ति कृष्णप्रसाद भट्टराईले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संसदीय शासन प्रणालीलाई सुदृढ बनाउन योगदान दिनुभएको थियो ।”

नेपालको संविधानले निर्दिष्ट गरेको बाटाबाट समृद्ध नेपाल निर्माण गर्ने कार्यमा निरन्तर क्रियाशील रहन नेता भट्टराईको जीवन, दर्शन र संघर्षले सदैव प्रेरित गरिरहने प्रस्तावमा उल्लेख छ ।
रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री