शुक्रबार, १६ चैत २०८०

स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने मन्त्री यादवको यस्तो छ प्लान

समयपोष्ट २०७४ फागुन २१ गते १५:४३

सरकारले बन्द भएका उद्योग पुनःसञ्चालनमा ल्याई स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न विशेष कार्ययोजना ल्याउने भएको छ ।

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघसँग आज सिंहदरबारमा भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बन्द भएका उद्योग सञ्चालन गर्ने र लगानीको वातावरण बनाउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो ।

रोजगारीको अवसर वृद्धि गर्न साना तथा घरेलु उद्योगको विकासमा जोड दिनुपर्ने, त्यसका लागि सरकार र व्यवसायीको साझा प्रयत्न जरुरी रहेको मन्त्री यादवको भनाइ थियो ।

हाल मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेका छन् । घरेलु उद्योगको संख्या बढी भएपनि ती उद्योगले आकार ग्रहण गर्न नसक्दा आम जनमानसमा समेत ती उद्योग हुन् कि होइनन् भन्ने भ्रम पनि रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मन्त्री यादवलाई जानकारी गराउनुभयो ।

उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिबद्घता व्यक्त गरेर नयाँ सरकार स्थापित भएको स्मरण गर्दै मन्त्री यादवले भन्नुभयो, “हामी मुलुकमा औद्योगिकीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका साथ निर्वाचित भएका हौँ । उद्योगी व्यवसायी ढुक्क हुनुहोस् हामी आफ्ना प्रतिबद्धता पूरा गर्छौं ।”

मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासका लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध रहनुपर्ने मन्त्री यादवको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्धि र विकासको तीव्र्र चाहना मुखरित हुन थालेको भन्दै उद्योगी व्यवसायीको ठूलो अपेक्षा रहेको बताउनुभयो ।

सरकार र निजी क्षेत्रको सहकार्यमा निर्यात गृह स्थापना गर्ने कार्यक्रम ल्याइएको भए पनि हालसम्म लागू हुन नसकेको भन्दै महासंघले सार्वजनिक निजी साझेदारीमा त्यस्तो गृह स्थापनाका लागि बजेट व्यवस्था गर्न आग्रह गरेको थियो ।

निरन्तर वृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न र निर्यात वृद्धि गर्न नेपाली मौलिक उत्पादनको निर्यात बढाउनुपर्ने अध्यक्ष गिरीको आग्रह थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री