शनिबार, ८ वैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्री किन आउँदैछन् नेपाल

समयपोष्ट २०७४ फागुन २० गते १०:०९

नेकपा एमालेका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको भोलि हुने नेपालको दुई दिवसीय औपचारिक भ्रमण सदभावपूर्ण भ्रमण हुने स्पष्ट पारेका छन् ।

Advertisement

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाई दिने ईच्छा व्यक्त गर्नुभएकोले उहाँ भोलि आउँदैहुनुहुन्छ, बधाई दिन आउन लाग्नुभएकोले हामी उहाँलाई स्वागत गर्छौं।’

प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणमा ठूलो र विशेष एजेण्डा नभएको पनि जिकिर गरे । डा. भट्टराईले अघि थपे,‘उहाँको स्वागतको लागि हाम्रो प्रधानमन्त्रीले डिनर आयोजन गर्नुहुन्छ, भोलि अपरान्हमा आएर पर्सी विहानै उहाँ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।’

नेता भट्टराईले नेपालको राष्ट्रिय नीति अनुसार नै विदेश नीति सञ्चालन हुने बताए । उनले थपे,‘डोमेस्टिक पोलिसीकै रिफ्लेक्शन विदेशी नीति हुन्छ, हाम्रो राष्ट्रिय नीति भनेको अब आर्थिक समृद्धि हाँसिल गर्नु हो, समृद्धिको लागि हामीले सोही अनुसार कदम चाल्नुपर्छ, जनताको जीवनमा सकारात्मक परिवर्तन गर्नु हो, पूर्वाधार, सडक, रेल, पर्यटन, जलस्रोत, कृषि लगायत विकासको बाटोमा उन्मुख हुनुपर्छ।’

सरकारकै नीति आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले सोही अनुसार नेपालका विदेशमा रहेका कुटनैतिक नियोग, मन्त्रालयहरु सबैको विषय अब हाम्रो विकाससँग सम्बन्धित हुने उनले विश्वास दिलाए ।

नेपालको विकासको लागि आन्तरिक स्रोत र साधनले नपुग्ने भएकोले अन्र्तराष्ट्रिय सद्भाव र सहयोगको खाँचा हुने उनको भनाई थियो । उनले भने,‘यसमा हामी नजिकका छिमेकीहरुसँग धेरै सहकार्य गर्छौं।’

पाकिस्तानी प्रधानमन्त्री आब्बासीको नेपाल भ्रमणमा सार्कलाई सामूहिक रुपमा कसरी अघि बढाउन सकिन्छ भन्नेमा पनि छलफल हुने उनको संकेत थियो ।
त्यस्तै भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिईसकेको बताए । उनले भने,‘यसअघि नेपाल भ्रमणमा आउँदा मोदीजीले नेपालका केही खास ठाउँमा भ्रमण गर्न पाउनुभएको थिएन, उहाँको अधुरो रहेका ठाउँको भ्रमण गराउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ, मुक्तिनाथ र जनकपुर, उहाँको नेपाल भ्रमणको मिति छिटोभन्दा छिटो टुँग्गिन्छ।’

नेपालका प्रधानमन्त्री ओली पहिले कुन देशको भ्रमणमा जाने ? भन्नेबारे अहिले कुनै टुँगो नलागेको उनले स्पष्ट पारे । भट्टराईले थपे,‘हामीसँग जो सँग बढि आवश्यकत्ता पर्छ, कहाँ जानुपर्ने हुन्छ, त्यहीँ जान्छौं, भारत, चीन, वा अन्य देश जहाँ पनि हुनसक्छ।’

उनले नयाँ सरकार र भारतबीच अत्यन्तै सद्भावपूर्ण सम्बन्ध रहेको पनि विश्वास दिलाए । उनले थपे,‘बदलिँदो परिस्थिति अनुसार दुई देशबीचको सम्बन्ध पनि नयाँ उचाईमा जानुपर्छ, अहिले यही किसिमको वातावरण अघि बढिरहेको छ, हामी हाम्रो राष्ट्रिय हित र स्वार्थलाई केन्द्रविन्दु बनाएर हाम्रो सम्बन्ध अघि बढाउछौं।’

पूर्वराजदुत डा. सुरेशचन्द्र चालिसेले पाकिस्तानी प्रधानमन्त्रीको भोलिबाट हुने दुई दिने नेपाल भ्रमण नेपाल सरकारकै अनुरोधमा हुन लागेकोले यो उत्ताउलोपना भएको टिप्पणी गरे । उनले भने,‘यसले सन्तुलित कुटनीति होईन कि भन्ने शंका तथा उपशंका पैदा गरेको छ।’

नेपालको विदेश नीति कुनै एक वा दुई पार्टीको नहुने भएकोले सिँगो देशको हुने भएकोले यसमा सबै पार्टीहरुलाई उत्तिकै महत्व दिनुपर्नेमा उनले जोड दिए । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग पूर्ण बहुमत छ, तर विदेश नीति भनेको कुनै एक पार्टीको भन्ने कुरा होईन, यसमा सबै पार्टीलाई महत्व दिनुपर्छ।’

विदेश नीतिको सन्दर्भमा नेपालमा सन् १९९० देखि आजको दिनसम्म राष्ट्रिय सहमति कायम गर्न नसकिएको गुनासो पोखे । उनले भने,‘अहिले हाम्रो ५५ देशसँग द्धिपक्षीय सम्बन्ध छ, देशमा अहिले पनि विदेशी नीतिको हकमा संक्रमणकालिन अवस्था छ।’ अहिलेको सरकारले हाम्रो विदेश नीति यही हो भनेर जाँदाखेरि उत्ताउलोपन हुने उनको तर्क थियो । उनले थपे,‘यसले घाटा हामीलाई नै हुन्छ।’

नेपाल लिष्ट डेभलपमेन्ट कन्ट्री भएकोले यसले एड्भेन्चरस डिप्लोमेसी गर्न नहुने उनको धारणा थियो । उनले भने,‘नेपालले अहिले आईडिओलोजिकल लडाई लड्न सक्दैन्, हामीले अपनाउने भनेको नै प्रयोगात्मक र व्यवहारिकताको नीति हो।’

उनले पाकिस्तानको माध्यमबाट चीन माल्दिभ्स प्रवेश गरेको उल्लेख गरे । उनल थपे,‘यस्तो अवस्थामा पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदैहुनुहुन्छ, यो व्यवहारिकतामा पनि उत्ताउलोपना देखियो।’

पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले ओभरल फोरेन पोलिसीको कन्टेक्स्ट एशियसन सेन्चुरीमा फोकस भएकोले नेपालले पनि छिमेकी पहिलो भन्ने नीति अपाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘हाम्रो दुई तिहाईभन्दा बढि व्यापार भारतसँग छ, त्यस्तै उत्तरी नाका खुल्ने क्रम जारी छन्, हामीले छिमेकीहरुसँग अत्यन्तै सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नुपर्छ, खासगरी भारतसँग हामीले विशेष सम्बन्ध राख्नुपर्छ।’
पाकिस्तानसँग नेपालको कुल व्यापार ३ मिलियन अमेरिकी डलर रहेकोमा त्यो मध्ये २.७ मिलियन युएस डलर पाकिस्तानले नेपाल निर्यात गर्ने र ०.३ अमेरिकी डलरमात्रै नेपालले पाकिस्ता निर्यात हुने बताए ।

नेपाल र पाकिस्तानबीचको व्यापार अत्यन्तै सानो रहेको उनको भनाई थियो । उनले भने,‘हामीबीच अत्यन्तै ग्याप छ, तर पाकिस्तान सार्कको अध्यक्ष भएकोले नेपालको सहमति लिनु उसको चाहना हामी बुझ्न सक्छौं।’

नेपालले अब परिपक्व कुटनीति, विकास केन्द्रित कार्यक्रम, सुरक्षा, र सम्बन्ध बढावा दिन फंक्शनल पोलिसीलाई ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले भारतसँग नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण दुवै देशले चोहर हुन लागेको स्पष्ट पारेका छन् । श्रेष्ठले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।’

उनले थपे,‘दुवै देशले चाहेर यो भ्रमण हुन लागेको हो, खासगरि ओलीजीको चाहनामा उहाँको नेपाल भ्रमण हुन लागेको हो, पाकिस्तानले पनि नेपालमा आफूलाई सक्रिय बनाउन खोजेको हो भन्ने कुरा यो भ्रमणले संकेत गर्छ।’

ओभरसिज नेशनहरुको नेपालमा स्वार्थ देखिएको अवस्थामा पाकिस्तानले पनि ईन्ट्रेश्ट देखाउनु स्वभाविक भएको उनको टिप्पणी थियो । नेपाल–पाकिस्ता द्धिपक्षीय सम्बन्ध राम्रो बनाउन भ्रमण केन्द्रित हुने उनले विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री