शनिबार, ८ वैशाख २०८१

फागुन २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने, ३० गतेसम्मको संघीय संसदको कार्यसूचि यस्तो छ

समयपोष्ट २०७४ फागुन २० गते ९:४०

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

Advertisement

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित फागुन २१ को पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री