मंगलबार, ६ चैत २०८०

सबै नेपालीलाई पुग्नेगरी ल्याउँछौँ भन्दा पत्याएनन् : अर्थमन्त्री पौडेल

समयपोष्ट २०७७ फागुन २० गते २०:१३

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रमा जनताभन्दा माथि कोही पनि हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरिरहेको उल्लेख गर्दै वर्तमान सरकारविरुद्ध अँध्यारामा गरिएका कुनै पनि तानावानाले जनताका आकाङ्क्षा कुन्ठित गर्न नसक्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले राज्य विभाजन गर्ने अभियानमा रहेका सिके रावत र विद्रोहका माध्यमबाट राज्यसत्ता परिवर्तन गर्ने उद्देश्य बोकेका विप्लवसमेतलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण संवैधानिक राजनीतिमा ल्याउने महत्वपूर्ण काम गरेको जनाउनुभयो ।
उहाँले सरकारले कोरोनाविरुद्धको खोप सबै नेपालीलाई उपलब्ध गराउने स्पष्ट पार्नुहँुदै भन्नुभयो, “सबै नेपालीलाई पुग्नेगरी ल्याउँछौँ भन्दा पत्याउँदैन्थे, अर्थमन्त्रीको हैसियतले मैले सबै नेपालीलाई पुग्ने गरी खोपका लागि बजेट व्यवस्था गरेको छु ।”

अर्थमन्त्री पौडेलले तिलोत्तमा नगरपालिकाको वडा नं ६ कुञ्जलापुरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्नुहुँदै रुपन्देही देशमैँ विकासको नमूनाका रुपमा विकासको मानकका रुपमा स्थापित भइरहेको बताउनुभयो । उहाँले रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणका क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब यहाँ आउनुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो ।

उहाँले रुपन्देहीको विकासको चर्चा गर्दै देशकै अत्याधुनिक गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको नजिक रहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले सडक पूर्वाधारका हिसाबले रुपन्देहीमा बुटवल–सुनौली, भैरहवा लुम्बिनी सडक निर्माण अन्तिम चरणमा रहेको र बुटवल–नारायणगढ सडकको स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको बताउनुभयो ।

उहाँले सरकारले पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाएको बताउँदै बुटवल–कोहलपुर र बुटवल–पोखरा सिद्धार्थ राजमार्गको स्तरोन्नतिको कामसमेत अघि बढ्ने जानकारी दिनुभयो ।
उहाँले रुपन्देही दुई ठूला नदी तिनाउ र दानवको किनारामा निर्माण हुने तिनाउ दानव करिडोर सडकले जिल्लाको मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबामा सुरुङ मार्गको छिट्टै नै ठेक्का प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । उहाँले रुपन्देहीमा स्थापना हुने बौद्ध विश्वविद्यालयका लागि देवदहमा करीब १०० बिघा जग्गा सरकारले छुट्याइसकेको जनाउँदै सो विश्वविद्यालय केही वर्षमै त्रिभुवन विश्वविद्यालयपछिको सबैभन्दा ठूलो बहु विषयक विश्वविद्यालयका रुपमा स्थापित हुने बताउनुभयो ।

उहाँले रुपन्देहीमा अत्याधुनिक मोतिपुर औद्योगिक पार्क निर्माण शुरु हुन लागेको जानकारी दिँदै भूमिहीनलाई अलपत्र पारेर कुनै पनि विकास आयोजना सञ्चालन नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले निकट भविष्यमा रुपन्देहीका पालिकालाई समेटेर कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गर्नुभयो ।

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तरराष्ट्रिय खेल मैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उहाँको विश्वास छ । आठ बिघा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करीब १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । रु आठ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता रु छ करोड ४२ लाखमा भएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्य, सोह्र÷छत्तीस संयुक्त सिँचाइ प्रणालीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष माधव भण्डारी, इञ्जिनीयर प्रदीप वनलगायतले बोल्नुभएको थियो ।

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षता भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको शुभारम्भ गर्नुभयो । यस्तै नगरपालिका परिसरमा राखिएको बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्ने मूर्तिकार गोविन्द चौधरीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री