शुक्रबार, १४ वैशाख २०८१

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न बुबा आमा मिडियामा, आमा भन्छिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ’

समयपोष्ट २०७७ फागुन १९ गते १८:३०

Advertisement

जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडानम्बर ५ स्थायी घर भएका बुवा हरि कुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मलेनमा बोल्दै हरी बहादुरले सानोभर्याङमा भएको सानो भर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने,‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’

श्रेष्ठले छोरा प्रेमराजा श्रेष्ठलाई २०५८ सालमा चिनमा एमबिबिएस अध्ययन गर्न पठाएको, ०७२ सालसम्ममा एमबिबिएस, पिएचडी सकेर नेपाल फर्किएकोे र १४ वर्षसम्म एमबिबिएसदेखि पिएचडीसम्म आफ्नो जायजेथाले पढाएको बताए । उनले छोराले आफुलाई मुद्दामा बाबु नाता पर्ने लेखेकोमा दुखेसो गरे । उनले भने,‘अहिले छोराले मेरोआमा बुबा होइन भन्छ ।’
उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कार्यक्रममा बोल्दै आमा कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् ।
उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री