शुक्रबार, ७ वैशाख २०८१

कोभिड–१९ : पूर्वाधार निर्माणलाई निरन्तरता दिने कि रोक्ने अझै अन्यौल

समयपोष्ट २०७६ चैत ९ गते १३:४५

Advertisement

सरकारले सडक, पुललगायतका संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ ।

सडक विभागमा आज बसेको बैठकमा सकेसम्म भीडभाड नहुने गरी पूर्वाधार निर्माण निरन्तरता दिन सकिने विषयमा छलफल भएको छ । अहिलेसम्म कुनै निर्णय नभएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । रोगको प्रभाव अहिलेसम्म कतिपय क्षेत्रमा देखिन थाले पनि काठमाडौँ उपत्यकालगायतका स्थानमा मर्मत भइरहेको छ । कतिपय जिल्लाका सडक आयोजनामा कार्यरत इञ्जिनीयरले निर्माण कम्पनीले कामदार घर फर्किएको भन्दै काम रोक्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई घर नै नजाउ काम गर्नुपर्छ भन्न मिल्दैन ।”

अहिलेसम्म सडक निर्माण भइरहेको अवस्थामा २५ जनाभन्दा बढी भीड जम्मा नहुने गरी निर्माण गर्न सकिने सडक विभागले जनाएको छ । निर्माण कम्पनीले कामदार नै नभएको भनी रोकेको अवस्थाबाहेक अहिलेसम्म निर्माण ठप्प नगर्ने गरी विभागमा छलफल भइरहेको महानिर्देशक शर्माले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएपछि निर्णय हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमा छलफल भएपछि नै सबै परियोजना काम गर्ने कि नगर्ने भनी निर्णय हुनेछ ।” कतिपय आयोजनामा नेपाली मात्रै नभएर विदेशी कम्पनीसमेत काम गरिरहेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री