शनिबार, १५ वैशाख २०८१

समृद्धिको साथी बिमा

समयपोष्ट २०७६ चैत ४ गते १३:१८

Advertisement

प्रभुनारायण बस्नेत

जीवनयापनका क्रममा मानव जाति अनेक प्रकारले सङ्घर्ष गर्दै आजको अवस्थासम्म आइपुगेको हो । विज्ञान र प्रविधिको विकासले अहिले मान्छेले अपूर्व सुविधा उपभोग गरिरहेको छ । अत्याधुनिक एवं सुविधा सम्पन्न जीवनशैलीले थप जोखिम र समस्याको सामना पनि गर्नुपरेको छ । त्यसको सामना गर्न उसलाई बढो कठिनाइको सामना गर्नुपर्ने अवस्था आउँछ । खेतीपाती, व्यापार व्यवसाय, पशुपालन जस्ता पेसामा प्राकृतिक रूपले पर्ने प्रकोप, घर परिवार, व्यवहार, गृहस्थी तथा व्यक्तिको जीवनसँग सम्बन्धित भएर आउने कठिन समस्याले बेलाबखत मानिस अचानक हतप्रभ हुन पुग्छ । कुनै पनि अनिष्ट वा नयाँ दुर्घटना सुनियोजित रूपले आउँदैन । त्यसरी योजनाबद्ध रूपले नै पर्ने सन्दर्भको सामना गर्ने उपाय खोज्न अलि सहज भए पनि दुर्घटनालाई झेल्न मुस्किल पर्छ । सहज ढङ्गले बेहोर्नुपर्ने परिस्थितिमा आफन्त, साथीसँगी, नातेदार र पारिवारिक सहयोगले पनि काम गर्न सक्छ । दुर्घटना अचानक आउने भएकाले त्यसमा जोडिएर आउने आर्थिक एवं अन्य समस्याले सारा योजना तहसनहस पारिदिन सक्छ । यसरी बेहोर्नुपर्ने जोखिमको आँकलन नहुने भएकाले मान्छेले पूर्व तयारी पनि गरेको हुँदैन ।

कुनै दुर्घटनामा पर्दा, अचानक ठूलो रोग लागेर बिरामी पर्दा, बालिनालीमा प्रकोपको अवस्था आउँदा, व्यापार–व्यवसाय बिग्रँदा, घरगोठमा अग्नि विपद् पर्दा, मान्छेलाई सबभन्दा पहिले त्यसको सामना गर्न आर्थिक समस्या नै आइलाग्छ । अचानक ठूलो रकमको जोहो गर्न नसकेर थप ऋणमा पर्ने र घरबारी नै बेच्नुपर्ने अवस्था पनि आउँछ । यस्तो स्थिति जो कोहीलाई र जहिलेसुकै पनि पर्न सक्छ । त्यसरी आइलाग्ने जोखिम व्यवस्थापन गर्न आजकल बिमाको सुविधा उपलब्ध छ । बिमा भएको व्यक्ति वा वस्तुको क्षतिपूर्ति गर्ने उपायलाई नै आधुनिक भाषामा बिमा भनिएको हो । कुनै पनि प्रकारको जोखिमबाट उत्पन्न परिस्थितिको सामना गर्न आर्थिक सहायता उपलब्ध हुने गरी इजाजत प्राप्त संस्थामा जम्मा गरिएको रकम नै बिमा हो । बिमाले मान्छेलाई अनपेक्षित समस्या सामना गर्न राहत पुर्याउँछ ।

हिजो आज बिमा कम्पनीले जोखिम व्यवस्थापनको मात्र काम पनि गर्दैनन् । तिनले जोखिम व्यवस्थापनको अलावा जीवनका केही महत्वपूर्ण पक्ष समेट्ने गरी बिमा गराउने परम्परा चलाएका छन् ।

हिजो आज बिमा कम्पनीले जोखिम व्यवस्थापनको मात्र काम पनि गर्दैनन् । तिनले जोखिम व्यवस्थापनको अलावा जीवनका केही महत्वपूर्ण पक्ष समेट्ने गरी बिमा गराउने परम्परा चलाएका छन् । जीवनमा आइपर्ने जोखिम व्यवस्थापन गर्न बिमा कम्पनीमा सदस्य बन्ने, स्किम अनुसार रकम जम्मा गर्ने र सङ्कटमा कम्पनीले उपलब्ध गराउने सुविधाबाट गर्जो टार्ने काम सामान्य तथा मानिसले गर्दै आएका छन् । त्यस बाहेक शिक्षालाई निरन्तरता दिन, पढाइ सकिएपछि व्यवसाय गर्ने आदि योजनामा पनि बिमा कम्पनीले सहयोग पुग्नेगरी योजना ल्याइरहेका छन् । सामान्यतया सहरीका बासिन्दा बिमामा आबद्ध भएका हुन्छन् । ग्रामीण समुदायमा यसको महत्व, आवश्यकता र औचित्यबारे त्यति जानकारी छैन । विकसित मुलुकमा बिमा कम्पनीको जुन भूमिका र महत्व हुन्छ, शिक्षामा पछि परेका, गरिब मुलुकमा त्यो हुँदैन । त्यसैले बिमामा आबद्ध हुनेको सङ्ख्या गरिब देशमा न्यून हुन्छ ।

बिमा भनेको के हो ? यो किन आवश्यक छ ? भन्ने नबुझेका नेपालीको सङ्ख्या निकै ठूलो छ । यो अवस्था ग्रामीण समाजमा मात्र होइन, राजधानी र ठूला सहरमा पनि छ । अघिल्लो पुस्ताले बिमाका सम्बन्धमा खासै ज्ञान राख्दैनन् । हुन त बिमा सम्बन्धी ज्ञान र चेतना भए पनि पछिल्लो पुस्तालाई पनि त्यसको क्षेत्र, बिमामा आबद्ध हुने पोलिसी, त्यसबाट हासिल हुन सक्ने उपलब्धिका बारेमा पर्याप्त जानकारी छैन । आफैं  चासो राखेर बिमाबारे बुझ्ने र बिमाकै क्षेत्रमा काम गर्न चाहनेको सङ्ख्या जनसङ्ख्याको तुलनामा निकै सानो छ । बिमा कम्पनीले आफ्नो पोलिसी सबै क्षेत्रमा पुर्याउन पनि सकेका छैनन् । त्यसले जुन वर्ग लाभान्वित हुनुपर्ने हो त्यो हुन सकेको छैन । कम्पनीले पनि आफ्नो व्यापारको क्षेत्र विस्तार गर्न सकेका छैनन् ।

अहिले सरकारले स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ । त्यस्तो पोलिसी बिमा कम्पनीको पनि छ । सरकार र बिमा कम्पनीबीच उचित समन्वय स्थापित गरेर अघि बढेको भए त्यो कार्यक्रम अझ उपलब्धिमूलक हुन सक्थ्यो । समन्वयको अभावमा त्यस्तो हुन सकेको छैन । सरकारकै मातहतमा रहेको बिमा संस्थान र सरकार आफैले गठन गरेको बिमा समितिले पनि अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । बिमा कम्पनीलाई नियमन गर्ने निकायका रूपमा क्रियाशील बिमा समिति बेला बखत अनावश्यक विवादमा पर्ने गरेको छ । त्यसले गर्दा कम्पनीको नियमन गर्न समस्या पर्न सक्छ ।

के हो त बिमा ?

बिमाको सम्बन्धमा सूचना नै नपुगेको, यसका बारेमा सुन्दै नसुनेको क्षेत्र निकै ठूलो छ । बिमाको महत्व कति छ भन्ने कुरा सरकारलाई पनि भए जस्तो लाग्दैन । यदि बिमाको आवश्यकता वर्तमान युगको अपरिहार्य शर्त हो भने यसको चेतना देशका कुनाकुनामा पुग्नु जरुरी छ । यसका फाइदा र बेफाइदाका बारेमा जनताले थाहा पाउन जरुरी छ । त्यसका लागि विद्यालय स्तरीय शिक्षाको पाठ्यक्रममा यसलाई समेट्नु जरुरी छ । स्कुलको शिक्षा क्षेत्रको कोर्समा बिमाको विषय समेटियो भने विद्यार्थी मात्र होइनन् तिनका अभिभावकले पनि यस सम्बन्धमा जानकारी पाउन सक्छन् । त्यसो गर्दा एकै पटक देशभरि बिमाको जानकारी पुग्न सक्छ । अहिले बिमाबारे पर्याप्त जानकारी नै नपु¥याई सरकारले चलाएको स्वास्थ्य बिमा योजना प्रभावकारी नहुनको कारण पनि त्यही हो ।

बिमा गराउने र बिमितलाई उपलब्ध गराउने सुविधा समयमै उपलब्ध नगराउने, झुलाउने, दुःख दिने गर्दा त्यस्ता संस्थाले विश्वास गुमाउनु स्वाभाविक हुन्छ । एकाध त्यस्ता घटना बेलाबखत सार्वजनिक हुने पनि गरेका छन् । तिनले गर्दा यो क्षेत्र नै बदनाम हुने खतरा रहन्छ ।

कुनै खास क्षेत्रमा हुन सक्ने हानि नोक्सानीलाई ध्यानमा राखी व्यक्तिले इजाजत प्राप्त संस्थामा जम्मा गरेको रकम नै बिमा हो । कुनै पनि क्षेत्रमा प्राकृतिक वा मानवीय कारणले पुग्न जाने क्षतिको पूर्ति नियमानुसार त्यो संस्थाले बेहोर्ने हुँदा पीडितलाई क्षतिबाट उम्कन सहज हुनेछ । बिमा नगरेको विषयमा भएको क्षति भने बिमा कम्पनीले गर्दैन । बिमा कम्पनीले सङ्कटमोचन मात्र गर्दैन । कुनै बिमितले गरेको बिमा रकमबाट आवश्यक पर्दा ऋणसमेत उपलब्ध गराउँछ । बिमक अर्थात् बिमा गर्ने संस्थाको विश्वास, त्यसले दिने सेवा सुविधा भने बिमितको विश्वासमा भर पर्छ । बिमा गराउने र बिमितलाई उपलब्ध गराउने सुविधा समयमै उपलब्ध नगराउने, झुलाउने, दुःख दिने गर्दा त्यस्ता संस्थाले विश्वास गुमाउनु स्वाभाविक हुन्छ । एकाध त्यस्ता घटना बेलाबखत सार्वजनिक हुने पनि गरेका छन् । तिनले गर्दा यो क्षेत्र नै बदनाम हुने खतरा रहन्छ । खासमा बिमा भनेको बिमक र बिमित बीचको सम्झौता हो । बिमक संस्थाले आफ्नो कम्पनीको नियमानुसार बिमितलाई यो–यो शर्तमा यो–यो सुविधा उपलब्ध गराउँछु भनेर र त्यस अनुसार शर्त पूरा गरी सुविधा लिन राजी छु भने बिमित बीचको कन्ट्रयाक्ट नै बिमा हो ।

बिमामा महत्वपूर्ण भूमिका अभिकर्ता अर्थात् बिमा एजेन्टको हुन्छ । बिमा सम्बन्धी सामान्य तालिम लिएर कार्यक्षेत्रमा खटिने अभिकर्ताले बिमा सम्बन्धी नागरिकलाई जानकारी गराउने, आफ्नो कम्पनीले दिने सुविधाको बोध गराउने र त्यसैका आधारमा बिमा गराउने गर्छन् । यदि अभिकर्ताले बिमा गर्नेको रकम हिनामिना गर्यो, बिमितले नियम बमोजिम पाउनुपर्ने सुविधाबाट वञ्चित गर्यो तर बीचैमा ठगी ग¥यो भने त्यस्तो कम्पनी नोक्सानीमा जान सक्छ ।

के–के सुविधा उपलब्ध हुन सक्छन् ?

बिमा गर्नेले जोखिमको सामना गर्न मात्र त्यो उपाय अपनाउने गर्दैनन् । मूलतः बिमा दुई प्रकारका छन् । जीवन बिमा र निर्जीवन बिमा । जीवन बिमाको सुविधा र शर्त अलग्गै हुन्छन् । अहिले नेपालमा जीवन बिमाको क्षेत्रमा काम गर्ने झण्डै डेढ दर्जन बिमा कम्पनी छन् र त्यति नै सङ्ख्यामा निर्जीवन क्षेत्रमा काम गर्ने कम्पनी छन् । जीवन बिमाको क्षेत्रमा काम गर्ने कम्पनीले दिने सेवा सुविधा र निर्जीवन क्षेत्रमा काम गर्नेले दिने सेवा सुविधा बिल्कुलै भिन्न प्रकारका हुन्छन् । जीवन बिमा गर्नेले जम्मा गरेको प्रिमियम र त्यसको बोनस कम्पनीको नियम अनुसार अवधि पुगेपछि फिर्ता आउँछ । आफूले जम्मा गरेको प्रिमियमका आधारमा कम्पनीबाट ऋण लिन पाइन्छ भने नन्लाइफ अर्थात् निर्जीवन क्षेत्रमा त्यस्तो हुँदैन । निर्जीवनमा आफूले बिमा गरेको क्षेत्रमा किटान गरिएको अवधिमा भएको क्षति मात्र कम्पनीले बेहोर्ने छ । त्यस बाहेक उसको अरू दायित्व रहँदैन । जस्तै कुनै व्यक्तिले गाई–भैँसीको बिमा गरेको थियो, सम्झौता गरे अनुसारकै समयभित्र क्षति भए कम्पनीले शर्त अनुसार क्षति बेहोर्छ । अहिले गाडीको थर्डपार्टी बिमा अनिवार्य छ । गाडी, घर, बालिनाली, पशुपक्षीको बिमा गर्ने चलन बिस्तारै बढ्दै छ । त्यस क्षेत्रमा जम्मा गरेको रकमको अवधि पुगेपछि स्वतः कन्ट्रयाक्ट सकिन्छ । रकम फिर्ता आउँदैन तर जीवन बिमाको चाहिँ कन्ट्रयाक्ट अवधि पूरा भएपछि प्रिमियम र बोनस गरी एकमुष्ठ रकम प्राप्त हुन्छ । जीवन बिमा गर्दा बिमा अवधिभित्र केही तलमाथि भए शर्त अनुसारको रकम आफन्तलाई उपलब्ध गराइन्छ । त्यसले सङ्कटको सामना गर्न परिवारजनलाई सजिलो हुन्छ ।

अहिले बालबालिकाको पढाइलाई इङ्गित गरेर जीवन बिमा कम्पनीले प्याकेज बेच्ने गरेका छन् । दस वर्षे, पन्ध्र वर्षे त्यस्ता प्याकेजले एकै पटक ठूलो रकमको जोहो गर्न नसक्ने परिवारलाई ठूलो राहत पुर्याउँछ । पढाइ सकिएपछि कुनै काम गर्न लगानी जुटाउने हिसाबले पनि बिमा गरिन्छ । त्यस्ता प्याकेजले सङ्घर्ष गरेर स्थापित हुन चाहनेलाई ठूलो मद्दत मिल्छ । आफँै ठूलो रकम जुटाउन नसक्नेले पढाइ सकेर काम थाल्न यस्ता कार्यक्रम सहायकसिद्ध हुन्छन् । बिमा कम्पनीले प्रतिस्पर्धा गरेर एकपछि अर्को सुविधा उपलब्ध गराउँदा ग्राहकलाई ठूलो लाभ हुनेगर्छ । अहिले नेपालमा त्यही भएको छ ।

यदि आफ्नो बिमाको अवधि बाँकी छ तर रकम अभाव भयो भने आफ्नो जम्मा भएको प्रिमियमको आधारमा ऋण लिएर काम चलाउन सकिन्छ । त्यसले बिमा गर्दाको फाइदा धेरै हुन्छ भन्ने प्रस्ट गर्छ । कुनै दुर्घटनामा परेर वा बिरामी परेर अभिभावक गुमाउन पुगेको परिवारलाई पर्ने आर्थिक सङ्कट हटाउन पनि बिमा गरिनु जरुरी छ । बिमाका धेरै फाइदा छन् तर आजकल फाइदाको कुरा देखाएर ठग्ने प्रवृत्ति बढेको छ । त्यसबाट भने सबै होसियार हुनुपर्छ ।

कसरी हुन्छ ठगी

एकाध कम्पनीका मुख्य व्यक्ति नै संलग्न भएर पनि ठगी गर्ने गरेको पाइन्छ । सामान्यतया रातारात धनी हुन खोज्नेले बिमालाई ठगीको धन्दा बनाउने गरेका छन् । त्यसमा रोजगारीको हिसाबले अभिकर्ता बन्नेको संलग्नता देखिन्छ । अमेरिकाको नेपाली समाजमा अहिले यस्तो ठगीको घटना भएको कुरा सार्वजनिक भएको छ । अमेरिकामा बस्ने एउटा नेपालीले त्यही बस्ने अर्को नेपालीलाई ठगेको घटनाले बिमा क्षेत्र ठगीको क्षेत्रभन्दा बाहिर छैन भन्ने प्रस्ट देखाउँछ । त्यस्ता घटना हुन सक्नेतर्फ सबै कम्पनी समयमै सचेत हुनु जरुरी छ । अभिकर्ताले ग्राहकसँग उठाएको रकम कम्पनीमा दाखिल गरेनन् भने कम्पनीकै विश्वासमा क्षति पुग्छ । त्यस्ता घटनाले कम्पनी लिक्युडेसनमा जान सक्छन् । भारतमा त्यस्ता थुपै्रै घटना भएका छन् । सम्पूर्ण भारतभरि सञ्जाल भएका र राम्रो प्रतिष्ठा आर्जन गरिसकेका कम्पनी चुस्त व्यवस्थापन र सञ्चालनको अभावमा विघटनामा गएका छन् । त्यस्ता घटनाबाट नेपाली बिमा क्षेत्रले पाठ सिक्नुपर्छ ।

राम्रो व्यापार हो बिमा

व्यापारले व्यापारी मात्र लाभान्वित हुँदैनन्, ग्राहकले समेत सुविधा र सन्तुष्टि प्राप्त गर्छन् । कुनै पनि व्यापारको नियम त्यही हो । अहिले ग्लोबलाइजेसनले गर्दा जुनसुकै क्षेत्रको व्यापार पनि भूगोलको सीमाभित्र सीमित छैन । बिमाको सवालमा पनि त्यही नियम लागू हुन्छ । बिमा अत्यन्त आकर्षक व्यापारिक क्षेत्र हो । यसमा चर्को प्रतिस्पर्धा छ । बिमा कम्पनी बजार खोज्दै जहाँतहीँ पुगेका छन् । ठूल्ठूला बिमा कम्पनीले आफ्ना शाखा सञ्जाल विश्वभरि फैलाएका छन् । नेपाली बजारमा पनि अहिले नेपाली बिमा कम्पनी र विदेशी बिमा कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन् ।

धेरैजसो वाणिज्य बैङ्कले अहिले आफ्नै बिमा कम्पनी सञ्चालनमा ल्याएका छन् । नेपाली उद्योगपति, व्यापारीले यस क्षेत्रमा लगानी गरिरहेका छन् ।

राष्ट्रिय बिमा संस्थानबाट सुरु भएको नेपाली बिमा कारोबार अहिले तीन दर्जन बढी कम्पनीले सम्हालिरहेका छन् । धेरैजसो वाणिज्य बैङ्कले अहिले आफ्नै बिमा कम्पनी सञ्चालनमा ल्याएका छन् । नेपाली उद्योगपति, व्यापारीले यस क्षेत्रमा लगानी गरिरहेका छन् । त्यसको अलावा अमेरिकी बिमा कम्पनी मेटलाइफ जो एलिकाको नाममा छिरेको थियो र भारतीय कम्पनी एलआईसी लगायतका विदेशी बिमा कम्पनीले नेपालमा काम गरिरहेका छन् । अहिले बिमा कम्पनीको क्षेत्र विस्तार भएको छ । हाम्रै कम्पनी हाम्रा गाउँघरमा पुग्न नसकेको बेला विदेशी कम्पनीले नेपाली बजारमा कब्जा जमाएका छन् । विदेशी भनेपछि हुरुक्क हुने हाम्रो प्रवृत्तिले त्यस्तो भएको हो । नेपाली कम्पनीको व्यवस्थापनमा रहने गरेका त्रुटि पनि त्यसमा जिम्मेवार छ ।

झण्डै तीन दर्जन बढी बिमा कम्पनी सबै सहरमा नै केन्द्रित छन् । राजधानी र ठूला सहर मात्र तिनको कार्यक्षेत्र रहेको छ । त्यसलाई यही रूपमा सीमित गर्ने हो भने ठूलो सङ्ख्या बिमा सुविधाबाट वञ्चित हुने निश्चित छ । बिमा कम्पनी गाउँमा जान निश्चय नै समस्या छ । गाउँघरसम्म बिमाको चेतना फैलाउन पनि कम्पनी गाउँगाउँमा नगई सुखै छैन । कम्पनी गाउँमा गए भने बिमा गराउनुपर्ने कारण, त्यसबाट प्राप्त हुने फाइदा, त्यसको महत्व आदिको सम्बन्धमा ग्रामीण जनताले जान्ने अवसर पाउँछन् । गाउँलेलाई त्यो अवसर दिएर आफ्नो बजार सुरक्षित गर्नु सबै कम्पनीको दायित्व हो ।

निष्कर्ष

चुनौतीपूर्ण जीवनयापन, सीमित आम्दानी र पलपलमा खडा हुने जोखिम व्यवस्थापन गर्न बिमा उपयुक्त विकल्प हो । बिमा गर्नेको जीवन तुलनात्मक रूपमा सहज हुन सक्छ भन्नेमा शङ्का छैन । अहिले नेपालीको आर्थिक अवस्थामा खासै सुधार भएको छैन । सामान्यभन्दा सामान्य रोगको उपचार गर्ने हैसियत पनि तिनको छैन । यस्तो अवस्थामा स्वास्थ्य बिमा एउटा भरपर्दो विकल्प बनेर उपस्थित भएको छ । सरकारले अहिले न्यूनतम रकम लिएर स्वास्थ्य बिमा गराइदिएको छ । त्यसमा पनि कमिसन खोर र दलालको चलखेल सुरु भइसकेको छ । त्यसलाई समय छँदै नरोक्ने हो भने त्यसमा पनि सफलता हात लाग्दैन । स्वास्थ्य बाहेक खेतीपाती, पशुपालन, उद्योग–व्यवसाय, व्यापार, घर लगायतका सम्पत्तिमा आउने जोखिमबाट बच्न बिमालाई आफ्नो जीवनको अङ्ग बनाउन सकिन्छ ।

बिमा गर्नेमाथि समस्या पार्ने, झुलाउने काम कुनै पनि कम्पनीबाट हुनुहुँदैन । सङ्कटमा पर्दा पाउनुपर्ने सहयोग त्यहाँबाट उम्कँदासम्म उपलब्ध हुन सकेन भने मान्छेले बिमा केका लागि गर्छ । दुर्घटना बिमा गरेको छ, ठूलो दुर्घटना भयो बिमाको सहयोग चाहियो तर कम्पनी अनेक बहाना बनाएर झुलाउँछ भने त्यो बिमा होइन, ठगी हो ।

बिमालाई आर्थिक उन्नतिका लागि पनि प्रयोग गर्न सकिन्छ । बिमाको महत्व आधुनिक जीवनशैली धान्न र भइपरी आउने सङ्कट टार्न मात्रै हो भन्ने ठान्नु भूल हुन्छ । यो प्रगतिको साथी पनि बन्न सक्छ भन्ने बुझ्नुपर्छ । त्यसबाट फाइदा लिन भने त्यति सजिलो छैन । कुन प्याकेजले के फाइदा दिएको छ, त्यो किन्दा कति उपलब्धि हुन्छ । दलालको फन्दामा परेर सम्पत्ति त गुम्दै छैन भन्ने ज्ञान हुनु जरुरी छ । जसरी मान्छेले सुविधाका लागि अहिले अनेक खालका प्रविधि विकास गरेको छ । त्यसैगरी भइपरी आउने सङ्कट टार्न बिमा गर्ने व्यवस्था बनाइएको छ । बिमालाई दुहुनो गाई ठानेर ५० लाखको बिमा गरी केही किस्ता बुझाएपछि बिमितको हत्या गरी बिमा क्लेम गर्ने पनि बढ्दै गएका छन् । त्यो विकृतिको पराकाष्टा हो । विकृति जुनसुकै क्षेत्रमा पनि हुन्छन् । त्यसलाई हटाउनु सम्बन्धित क्षेत्रको दायित्व हो ।

के कुरा विचार पुर्याउनुपर्छ भने बिमा गर्नेमाथि समस्या पार्ने, झुलाउने काम कुनै पनि कम्पनीबाट हुनुहुँदैन । सङ्कटमा पर्दा पाउनुपर्ने सहयोग त्यहाँबाट उम्कँदासम्म उपलब्ध हुन सकेन भने मान्छेले बिमा केका लागि गर्छ । दुर्घटना बिमा गरेको छ, ठूलो दुर्घटना भयो बिमाको सहयोग चाहियो तर कम्पनी अनेक बहाना बनाएर झुलाउँछ भने त्यो बिमा होइन, ठगी हो । बिमा व्यापार अवश्य हो तर सँगसँगै सेवा पनि हो भन्ने कुरा भुल्नुहुँदैन । समयबोधबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री