
नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन कनिसलले नेपालको आर्थिक उन्नयनका निम्ति जलविद्युत् उत्पादन नै प्रमुख माध्यम बन्नसक्ने बताएकी छिन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज साँझ राजधानीमा आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रवृत्ति’ विषयक कार्यक्रममा उनले ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रको विकासबाट आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सहयोगी हुने बताइन् ।
समसामयिक विश्वमा प्राकृतिक स्रोत र साधनका निम्ति राष्ट्र–राष्ट्रबीच एकता र द्वन्द्व हुने गरेको यथार्थ सुनाउँदै उनले अन्तर्राष्ट्रिय सम्बन्धको पेचिलो विषय पनि तिनै खनिज पदार्थ भएको बताइन् ।
पश्चिम एशिया, युक्रेन र रसियामात्र होइन पछिल्लो समयमा उत्पन्न भेनेज्वेला मामिला पनि प्राकृतिक स्रोतमा केन्द्रित रहेको उनको विश्लेषण थियो । जलवायु परिवर्तन र त्यसका असर, हिन्दू कुश क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले कार्यान्वयनका निम्ति प्रस्तुत गरेका विषयवस्तुलाई बेवास्ता गर्न नहुनेमा उनको जोड थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले नेपाल–अष्ट्रिया सम्बन्धका विविध आयामबारे चर्चा गरेका थिए भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक इन्द्र अधिकारीले मन्त्री कनिसलको बहुआयामिक व्यक्तित्वको परिचर्चा गरेका थिए ।








प्रतिक्रिया