पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने – अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्ने हो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज युगमा प्रवेश गरिसकेको बताएका छन् । बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Advertisement

उनले भने, ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ । कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् । पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ । गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको समेत बताए । उनले भने,‘जहाज त उडेका थिए। अब भुइँ नछोई पानीमाथिबाटै संसार घुम्न सकिन्छ,’ उनले भने ।

नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले जानकारी दिए ।
‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ । संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा पुर्‍याउँदैन ।’

प्रधानमन्त्री ओलीले आफूसँग टिकट माग्दै मजाक गर्नेहरुले केही समयमै टिकट पाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने भन्दै टिकट खोजेर जिस्काउनेहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रहसमेत गरे ।

Advertisement

दुई चार जनालाई रोजगारी दिन कार्यालय स्थापना गरेको नभई सिंगो देशलाई अगाडि बढाउनका लागि पानीजहाज सञ्चालनमा ल्याउन लागेको उनको भनाई थियो ।

‘यो कार्यालय दुई चार जनालाई रोजगारी दिनका लागि स्थापना गरिएको होइन’, उनले भने, ‘पानी जहाजको सञ्चालनबाट देश एक कदम अगाडि बढ्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री