बिहीबार, १३ वैशाख २०८१

‘शत्प्रतिशत लाभांश बाँडिरहेकाहरु नै व्याज बढी भयो भन्न आउछन्’

समयपोष्ट २०७५ माघ २१ गते १२:१४

Advertisement

 

तपाईं नेपाल बैङ्कमा आइसकेपछि बैङ्कले काँचुली नै फेरेको छ । यो कसरी सम्भव भयो र अब यो बैङ्कलाई कसरी लैजाँदै हुनुहुन्छ ?

मेरो कार्यकाल पनि करिब चार वर्ष पुग्न लागेको छ । यो अवधिसम्म आर्थिक रूपमा समस्याग्रस्त बैङ्कलाई हाम्रो समग्र बैङ्कको टिमको प्रयासले आर्थिक रूपमा स्वस्थ बैङ्कको रूपमा ‘फाइनान्सियल टान्सफर’ गर्न सफल भएका छौँ । म आउँदा नेपाल बैङ्कको सञ्चित नोक्सानी ६ अर्ब रूपैयाँ र ऋणात्मक रिजर्भ करिब ३ अर्ब थियो । ६ अर्ब ४७ करोड पुँजी भएको बैङ्कको ३ अर्ब ऋणात्मक रिजर्भ हुनु भनेको करिब आधा पुँजी ह्रास भइसकेको बुझ्नुपर्छ ।

अहिले सञ्चित नोक्सानी शून्य छ भने सकारात्मक रिजर्भ करिब ११ अर्ब पुगेको छ । त्यस बेला बैङ्कको पुँजी पर्याप्तता अनुपात ४.५८ प्रतिशत थियो । अहिले नेपालको बैङ्किङ उद्योगकै सबैभन्दा बढी २३.९ प्रतिशत छ । यो संसारभरिकै कुनै पनि बैङ्कको आर्थिक अवस्था जाँच्ने प्रतिनिधिमूलक सूचक हो । राष्ट्र बैङ्कले सधैँ यसमा जोड दिन्छ । यो अनुपात ११ प्रतिशत नपुगे बैङ्कहरूलाई उसले कारबाही गर्छ । ४.५८ प्रतिशत पुँजी पर्याप्तता हुँदा नेपाल बैङ्कलाई राष्ट्र बैङ्क आफैँले व्यवस्थापनको जिम्मा लिएको थियो ।

आफूले आफैँलाई कारबाही गर्ने कुरा त भएन । तीन वर्षअघि सञ्चालन नोक्सानमा थियो भने वार्षिक खुद नाफा ५० करोड मात्रै थियो । अहिले सञ्चालन नाफा चार अर्ब र खुद नाफा तीन अर्ब नाघेको छ । कर्मचारी खर्च अत्याधिक (६ प्रतिशत) थियो । स्टक एक्सचेञ्जमा नेपाल बैङ्कको सेयरको लेखाजोखा नै हुँदैनथ्यो । अहिले यसको सेयर नगदसरह छ । कर्मचारी पेन्सन तथा अन्य दीर्घकालीन दायित्वको लागि एक्चुयल भ्यालुएसन गराएर ११ अर्ब रूपैयाँ रकम प्रोभिजनमा राखिएको छ । यसअघि दायित्वको आँकलन गर्ने परिपाटी नै थिएन । तपाईंले भने जस्तै बैङ्कले काँचुली फेरेको छ । यसलाई म ‘फाइनान्सियल टान्सफर’ भन्छु ।

ग्राहकको आवश्यकता के छ, त्यसलाई फोकस गरेर हाम्रो हरेक व्यवसायिक क्रियाकलापहरूमा केन्द्रित हुनुपर्यो।

अब प्रतिस्पर्धामा खरो उत्रिनका लागि फाइनान्सियल ट्रान्सफरले मात्र पुग्दैन भन्ने मेरो धारणा हो । अब कष्टोमर सेन्ट्रिक हुन जरुरी छ भन्ने मलाई महसुस भइरहेको छ । धेरै वित्तीय संस्थाहरू छन् । जताततै प्रतिस्पर्धा छ । त्यसैले प्रतिस्पर्धामा जानका लागि आफैँ स्मार्ट हुनुपर्छ । हरेक क्षेत्रमा स्मार्ट हुन सिक्नुपर्छ । साधारण फोन र स्मार्ट फोनमा जे फरक छ, त्यो हामी पनि हुनुपर्यो। ग्राहकको आवश्यकता के छ, त्यसलाई फोकस गरेर हाम्रो हरेक व्यवसायिक क्रियाकलापहरूमा केन्द्रित हुनुपर्यो। उदाहरणको लागि बोल्ने शैली, गर्ने व्यवहार, ग्राहकहरूसँग नझर्कने, हँसिलो भएर बोल्ने, कार्यालमा पुग्दा आनन्द आउने खालको, स्मार्ट ब्राञ्च भनेको छु मैले । त्यसको अलावा पश्चिमतिर अहिले के आएको छ भने एउटा ग्राहकको आवश्यकता थाहा पाउन उसले कहिले विवाह गर्छ, विवाह खर्च कति लगाउँछ, बच्चा कहिले जन्माउने योजना बनाएको छ, बच्चाको शिक्षादीक्षा कसरी दिने विचार गरेको छ, गाडी कुन किन्ने, बिजनेस कहिले सुरु गर्ने यी सबै कुरामा बैङ्क र ग्राहकहरूको बीचमा अन्तरक्रिया भएर एउटा रेकर्ड राख्ने र त्यहीअनुसार बैङ्कले उसको आवश्यकता अनुसार काम गर्नुपर्छ । अब ग्राहकको आवश्यकताकेन्द्रित बिजनेस हुनुपर्छ । त्यसो गर्दा प्रतिस्पर्धामा खरो उत्रिन सकिन्छ । सुरु–सुरुमा त अलिकति खर्चिलो पनि होला तर कालान्तरमा त्यसले बैङ्कलाई, राष्ट्रलाई र ग्राहकहरूलाई पनि सहयोग गर्छ भन्ने मलाई लाग्छ । हाम्रो भविष्यको योजना भनेको सेवालाई ग्राहककेन्द्रित बनाउनु हो ।

 

नेपालको बैङ्किङ उद्योगमा विगत चार वर्षदेखि लगानीयोग्य रकमको अभाव हुँदै आएको छ । यसको दीर्घकालिन समाधान कसरी गर्न सकिएला ?

नेपालको इन्भेष्टमेन्ट क्लाइमेटलाई सुधार गर्नुपर्छ । नेपालमा अहिले क्रञ्च किन देखियो भन्ने कुरामा मानिसहरूको आ–आफ्नै मूल्याङ्कन छ । कसैले अध्ययन गरेको त होइन, अनुभवबाट हो । त्यो के भने सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको टार्गेट बनायो । वृद्धिदरको टार्गेट बनाउँदा व्यवसायिक क्रियाकलाप त बढ्नुपर्यो  । व्यवसायिक क्रियाकलाप बढ्नका लागि पार्सियल्ली बैङ्कको लोन, फरेन इनभेष्टमेन्ट र सरकारी खर्चले काम गर्छ । त्यो गर्नेमा वैदेशिक लगानी अपेक्षाकृत रूपमा आएन । आयात बेसरी बढ्यो । ग्रोथ टार्गेट मिट गर्नका लागि आयात त चाहिन्थ्यो नै । मोसिनरीहरू आयात गरेपछि नै यहाँ व्यवसायिक क्रियाकलापहरू बढ्ने हो । त्यस कारण आयात रोक्न भएन । आयात नरोकिएपछि आयात–निर्यातको ग्याप ठूलो भयो । त्यो ग्याप रेमिट्यान्सबाट आउने पैसाले मिट त गर्यो तर रेमिट्यान्सको बाँकी पैसा धेरै बाँकी भएन । बैङ्किङ सिष्टममा निक्षेप बैङ्कहरूले खोजेको जति आएन । सरकारले एक किसिमको आशावादी वातावरण क्रिएट गर्यो । स्थायी सरकार, सुझबुझ भएका अर्थमन्त्री आएका छन् भन्ने भयो । अब क्रेडिटको आवश्यकता बढी भयो । त्यहीरूपमा वैदेशिक लगानीलाई आकर्षित गर्न सकेको भए क्रेडिट क्रञ्च हुँदैन थियो । फरेन इनभेष्टमेन्ट आएन, त्यसले गर्दा क्रेडिट क्रञ्च भयो । यसको स्थायी समाधान हामी बैङ्कहरूले मात्र दिन सक्दैनौँ । यसमा इनभेष्टमेन्ट क्लाइमेट सुरु गर्नुपर्छ । विकासोन्मुख देश भएको हुनाले यसले विकासको टेम्पो लिँदा पैसाको अभाव हुन सक्छ । पैसाको अभाव वैदेशिक लगानी, वैदेशिक ऋणहरूले मिट हुनुपर्ने हो । वैदेशिक ऋण पनि खासै आएको छैन । वैदेशिक लगानी पनि घटेकै छ । त्यस कारण वातावरण सुधार गरेर जान सक्नुपर्छ ।

यसमा बैङ्कहरू कत्तिको जिम्मेवार छन् ?

चार गुणाले वृद्धि भइसकेपछि प्रमोटरहरूले रिटर्न पहिलेकै जति अथवा पहिले भन्दा धेरै कम हुनुहुँदैन भनेर प्रेसर म्यानेजमेन्टलाई बोर्डले दियो । त्यसपछि बढी आक्रामक बैङ्किङ हुन थाल्यो । दुई–चारवटा बैङ्कहरूले आक्रामक बैङ्किङ गरिरहेका छन् । त्यसले गर्दा नाफामा बढी प्रेसर पर्यो  । लोन आक्रामक रूपमा प्रवाह भयो, सीसीडी रेसियो पनि बढ्यो । डिपोजिट आकर्षित गर्न व्याजदर बढाउनुपर्यो  । व्याजदर बढाएपछि टोटल सिष्टममा डिपोजिट धेरै बढेको छैन, पहिलेको अनुपातमा छ । अनि एउटा बैङ्कबाट अर्को बैङ्कमा सर्ने यस्तै भइरहेको छ ।

रिटर्न पहिलेकै जति अथवा पहिले भन्दा धेरै कम हुनुहुँदैन भनेर प्रेसर म्यानेजमेन्टलाई बोर्डले दियो । त्यसपछि बढी आक्रामक बैङ्किङ हुन थाल्यो । दुई–चारवटा बैङ्कहरूले आक्रामक बैङ्किङ गरिरहेका छन् ।

 

नेपालको शन्दर्भमा व्याजदर कति प्रतिशत हुन आवश्यक छ ?

त्यसको यति नै भन्ने रेडिमेड जवाफ हुँदैन । यो माग र आपूर्तिले फिक्स गर्ने कुरा हो । मुद्रास्फिति जति छ, त्यो भन्दा एक–डेढ प्रतिशत बढी एक वर्षको मुद्धति निक्षेपको रेट हुनुपर्छ भन्ने छ । तर यथार्थमा त्यो कहिल्यै मिलेको छैन । अर्थतन्त्र भनेको सधैँ यस्तै हुन्छ । राम्रा नोबेल पुरस्कार प्राप्त अर्थविद्हरूले बोलेको कुरा पनि ७० प्रतिशत पुग्दैन भनिन्छ । अहिले ४ दशमलव समथिङ मुद्रास्फिति छ । त्यसमा पाँच–छ प्रतिशत व्याजदर राखे पुग्छ । हामी आफैँ साढे नौ–दश गरिरहेका छौँ । त्यस कारण त्यो भन्न सकिँदैन ।

हाम्रोमा अनुसन्धानहरू धेरै हुँदैनन् । रिसर्च पनि अनबायस्ड, रिप्रिजेनटेटिभ रिसर्चहरू हुँदैन । त्यो नभएपछि जसले जे बोले पनि हुने परिस्थिति छ ।

उद्योगहरू पनि सधैँ व्याजदर घट्नुपर्छ भन्नेमा जोड गरिरहेका हुन्छन् । कतिपयले शत्प्रतिसत लाभांश बाँडिरहेका हुन्छन् । स्टिल, सिमेन्ट उद्योगहरूले पुँजीको शत्प्रतिशत लाभांश बाँडिरहेका छन् तर फेरि यहाँ व्याज बढी भयो भन्न आउँछन् । हामीले जुन बेला ११ लिएका थियौँ, उनीहरू नौ गर भन्न आए । अहिले बढेर कतिपयले १२ पुर्याइसकेका छन्, फेरि त्यो १२ मा पनि लिई नै रहेका छन् । त्यस्तो परिस्थिति छ । हाम्रोमा अनुसन्धानहरू धेरै हुँदैनन् । रिसर्च पनि अनबायस्ड, रिप्रिजेनटेटिभ रिसर्चहरू हुँदैन । त्यो नभएपछि जसले जे बोले पनि हुने परिस्थिति छ । अमेरिकामा अफिस अफ फाइनान्सियल रिसर्च भन्ने छ । उसले निरन्तर अध्ययन गरिरहेको हुन्छ  । सम्बन्धित बैङ्क, सरकारलाई समेत आफ्ना अध्ययनहरू उपलब्ध गराइरहेको हुन्छ । तर यहाँ केही पनि छैन । जसले जे मन लाग्यो, त्यही बोलिदिन्छ । कुन पत्याउने, कुन नपत्याउने त्यस्तो अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री