मंगलबार, ४ वैशाख २०८१

मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ : प्रधानमन्त्री

समयपोष्ट २०७३ माघ २६ गते ७:२५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । बुधबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले स्थानीय चुनाव मधेसी मोर्चासमेतलाई समावेश गराएर गर्नुपर्ने भएकाले मिति तोक्न नसकेको बताए । उनले मधेसी मोर्चासँग वार्ता चलिरहेकाले कुनै पनि बेला मिति तोकिने समेत बताए । प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत नभएसम्म स्थानिय तहको निर्वाचन मिति घोषणा नगरिने जानकारी दिए । 

Advertisement

प्रधानमन्त्रीले क्याबिनेटबाट डिसिजन गरेर निर्वाचनको तयारी सुरु गर्नुपर्ने बताउँदै भने, ‘क्याबिनेटबाट डिसिजन गरेर तयारी सुरु गर्नू भनिसकेपछि र वैशाख-जेठभित्रै निर्वाचन गरिसक्नुपर्छ भनेपछि मिति तोके बराबर छ । त्यसको निम्ति मात्रै टेक्निकल्ली गते नभनिएको हो,। ’ 

त्यस्तै उनले निर्वाचन हुनेमा शंका नगर्न र निर्वाचनमा होमिन सबैलाई आग्रह समेत गरे ।  

नेकपा एमालेले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहको छ नि भन्ने भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाइसकेको छु, तयारी अगाडि बढिसकेको छ । यो अवस्थामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनुको सट्टा सरकारलाई सहयोग गर्न मैले प्रतिपक्षलाई अपिल गरिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री