शुक्रबार, १४ वैशाख २०८१

अब कार्यक्षेत्रको दायरा बढाउन आवश्यक छ

समयपोष्ट २०७३ माघ २३ गते ५:१७

तपाईं माछापुच्छ्रे बैंकमा सीईओ भएर आएको मात्र तीन महिना भयो, अनुभव कस्तो रह्यो, बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

Advertisement

उत्साहित छु । सक्षम टिम छ र सबैको काम गर्ने मनोबल पनि उच्च छ । बैंकको लगभग सबै शाखाहरू भ्रमण गरी बिजनेसलगायत अन्य अवसर र चुनौती इत्यादिका बारेमा छलफल गरिसकेको छु । यसले एकआपसमा विश्वासको भावना मजबुत बनाउनुको साथै बैंकलाई हामीले कसरी अगाडि लग्ने भन्नेबारेमा थप स्पष्टता ल्याएको छ र सोहीअनुरूप हामी अगाडि बढ्दै छौं । यस आर्थिक वर्षको बाँकी छ महिनाका लागि ग्राह्यता क्षेत्र पहिचान गरी आवश्यक कदमहरू चालेका छौं । त्यसैगरी, बैंकलाई आगामी ४/५ वर्षको अवधिभित्र कसरी क्रमिक रूपमा विस्तार गर्दै कुन लक्ष्यसम्म पुर्याउने  भन्ने रणनीत हामी तय गर्दै छौं ।

niraj shrestha 1

बैंकको पछिल्लो वित्तिय अवस्था कस्तो छ ?
गत आर्थिक वर्ष बैंकको निक्षेप १८% ले वृद्धि भई ५२ अर्ब पुगेकोे थियो भने कर्जा २७% ले वृद्धि भई ४४ अर्ब पुगेको थियो । चालु आर्थिक वर्षमा हाल निक्षेप ५९ अर्ब र कर्जा ५१ अर्ब पुगेको छ । त्यसैगरी, बैंकको पहिलो त्रैमासको खुद नाफा २४ करोड ६९ लाख र निष्क्रिय कर्जा ०.५४% रहेको थियो । यसर्थ, बैंकको पछिल्लो वित्तिय अवस्था सन्तोषजनक छ ।
एभ्कोका कारण बैंक निकै वर्षसम्म समस्यामा थियो, अहिले त्यो ऋण कस्तो अवस्थामा छ ?
एभ्को समूहले लिएको कर्जा बैंकले पूर्ण रूपमा अपलेखन गरिसकेको छ । साथै उक्त कर्जा असुलउपरका लागि बैंकले ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता गरी हाल मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
बैंकले बोनस र हकप्रद सेयर दिइसक्यो, फेरि बोनस र हकप्रदको प्रस्ताव साधारणसभाबाट पारित भएको छ, त्योबाहेक २०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजीकसरी पुर्याउनुहुन्छ ?
हामीले हालै जारी गरेको १ अर्ब ९३ करोड रकमको (५० प्रतिशत) हकप्रद सेयर बाँडफाँडको क्रममा रहेको छ । सोपश्चात् गत पुस २२ गते सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले पारित गरेबमोजिम करिब ८० करोड १९ लाख रकमको बोनस सेयर तथा ७९ करोड १८ लाख रकमको हकप्रद सेयरसमेत जारी गरी बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड पुग्नेछ । सोमा नपुग पुँजी रकम हामीले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब पुर्याउने लक्ष्य लिएका छौं । साथै हामीले थप पुँजी तथा व्यवसाय वृद्धि गर्नेसम्बन्धमा अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर÷एक्विजिसनको सम्भावनाका सम्बन्धमा समेत अध्ययन कार्यलाई निरन्तरता दिएका छौं ।
niraj 2

एकातिर बैंकहरू धमाधम चुक्ता पुँजीबढाउने अभियानमा छन् तर पुँजीको अनुपातमा ऋण विस्तार गर्ने अवसर नहुँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ भनिन्छ, के लाग्छ यहाँलाई ?

मर्जर तथा प्राप्ति (एक्विजिसन) बाट पुँजी बृद्धि भएका बैक तथा वित्तिय संस्थाको हकमा त यो भनाइ त्यति सान्दर्भिक नहोला तर अरूको हकमा पनि समष्टिगत रूपमा विभिन्न उत्पादनमूलक क्षेत्रहरू (जलविद्युत्, सिमेन्ट, स्टिल, कृषि इत्यादि) लगायत अन्य क्षेत्रमा पनि थप कर्जा प्रवाहका लागि प्रशस्त अवसर रहेका छन् जस्तो मलाई लाग्छ । हो, बढेको पुँजीमा पर्याप्त प्रतिफल दिनुपर्ने दबाबका कारण कमसल कर्जाहरू प्रवाह हुने सम्भावित चुनौती पक्कै पनि छ तर आवश्यक सतर्कतासाथ उचित क्षेत्रमा कर्जा प्रवाह गर्ने र राम्रो अनुगमन पनि गर्ने हो भने त्यस्ता चुनौती व्यवस्थापन गर्दै अगाडि बढ्न सकिन्छ ।
चुक्ता पुँजीवृद्धिलाई यसरी बाध्यकारी बनाइनु तपाईंको विचारमा कत्तिको उचित हो ?
मेरो विचारमा चुक्ता पुँजी वृद्धि बाध्यकारी बनाइयो भन्नुभन्दा यो समय सापेक्षिक सुधारोन्मुख व्यवस्था हो, जसले बैंक तथा वित्तिय संस्थाहरूलाई पुँजीगत रूपमा अझ सबल र सक्षम बन्न मद्दत पुर्याउँछ भनेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ । तर, निश्चय पनि पुँजी मात्र बढाएर पुग्दैन, बैंक तथा वित्तिय संस्थाहरूले बढेको पुँजीको उपयुक्त लगानी गरी बढीभन्दा बढी प्रतिफल आर्जन गर्न आफ्नो कार्यक्षमता, कार्यक्षेत्रको दायरा, प्रविधि, कर्मचारीको दक्षता, सीप आदिको पनि क्रमिक रूपमा विस्तार गर्न नितान्त आवश्यक छ ।

अहिले देखिएको तरलता अभावलाई कसरी हेर्नुभएको छ ?

सरकारले पर्याप्त पुँजीगत खर्च गर्न नसक्नु, विप्रेषणको वृद्धिदरमा कमी आउनु, कर्जाको माग÷प्रवाह उच्च हुन जस्ता कारणले हालको तरलता अभाव देखिएको हो । यही पुस मसान्तमा राजस्व कर तिर्ने प्रयोजनका लागि करिब ४०—४५ अर्ब बैंकिङ सिष्टमबाट बाहिरिने आँकलन छ, जसले तरलतामा थप चाप पु¥याउने देखिन्छ । तर, यसमा बुझ्नुपर्ने कुरा के हो भने अहिलेको तरलता अभाव भनेको इसेन्सियल्ली प्रायजसो बैंकलाई सिसिडी रेसियो (पुँजी+निक्षेपमा कर्जाको अनुपात) कायम राख्न परेको चाप हो । त्यसैले हालको समयमा चाँडै नै सरकारी पुँजीगत खर्च बढ्ने अपेक्षा गर्नुका साथै बैंकहरूले पनि आफ्ना कर्जा विस्तार योजना परिमार्जन गर्न सकेमा केही राहत पुग्ला ।
सस्तो ब्याजदरले गर्दा चरम पैसाको दुरुपयोग भयो, अहिलेको तरलता अभाव त्यसैको प्रतिविम्ब हो पनि भन्ने गरिन्छ, के लाग्छ तपाईंलाई ?
बैंकहरूले आफूले लगानी गरेको कर्जाको कहाँ, के, कसरी खर्च भएको छ, कर्जा रकम सदुपयोग भएको छ, छैन भन्ने कुराको निगरानी राख्ने, अनुगमन गर्ने संयन्त्र निर्माण गरेका हुन्छन् । यसर्थ, सस्तो ब्याजदरका कारणले कर्जाको दुरुपयोग भयो भनेर विश्वास गर्ने कुनै आधार भएजस्तो मलाई लाग्दैन । 
niraj 4

बैंकले यो वर्ष केही नयाँ प्रडक्ट ल्याउँदै छ कि ?
हामीले हालै क्रेडिट कार्ड तथा युएसडी प्रिपेड कार्ड सुविधा लन्च गरेका छौं । साथै, अत्यन्त आकर्षक ब्याजदर र अन्य विविध सुविधाहरूसहित १५० दिने निक्षेप योजना ल्याएका छौं । साथै, चालु आर्थिक वर्षमा हामीले थप ६ शाखा, ३ एक्सटेन्सन काउन्टर, एटिएमको संख्या वृद्धि तथा २० वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्ने योजना रहेको छ । बैंकको कारोबार २९ वटा शाखाहरूबाट विशेष रूपमा लघुवित्त सेवालाई प्राथमिकता दिई प्रत्यक्ष रूपमा विपन्न वर्ग कर्जा प्रवाह गर्ने लक्ष्य लिएका छौं । यसैगरी, हामीले विभिन्न संघ–संस्थाहरूको तलब व्यवस्थापन, वृद्ध भत्ता वितरणजस्ता कार्यहरूलाई समेत प्राथमिकतामा राखी कार्य अगाडि बढाएका छौं ।
अन्य केही थप्नुपर्ने भए ?
आगामी दिनहरूमा हामीले प्रशस्त अवसरहरू देखेका छौं । त्यसैले बैंकको पुँजी वृद्धिका साथै शाखा सञ्जाल वृद्धि गर्न, विभिन्न बैंक तथा वित्तिय संस्थाहरू एवं विभिन्न अन्तर्राष्ट्रिय रेमिटेन्स कम्पनीहरूसँग सहकार्य गरी देशमा भारत तथा अन्य तेस्रो मुलुकबाट आउने रेमिटेन्स वृद्धि गर्न, देशको दुर्गम स्थानहरूमा समेत बैंकको पहुँच विस्तार गर्ने, निक्षेप तथा कर्जाको दायरा विस्तार तथा विविधीकरण गर्ने आम्दानीका नयाँ अवसर ट्याप गर्ने, बैंकको जनशक्ति अझ सबलीकरण गर्ने, थप प्रविधि विकास गर्नेलगायत आगामी ५ वर्षभित्रमा शीर्ष १० बैंकहरूभित्र माछापुच्छ्रे बैंकलाई ल्याउने लक्ष्यका साथ आगाडि बढेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री