शुक्रबार, १४ वैशाख २०८१

‘पुँजी बढेसँगै आगामी दिनमा प्रतिफल कम हुन सक्छ’ 

समयपोष्ट २०७३ माघ २० गते ३:५४

तरलता अभावका कारण बैंकहरू साँच्चै नै नयाँ कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ?

Advertisement

बजारको अवस्था त सबैले देखिरहेकै छन् । तरलता अभाव भनेर पत्रकार साथीहरूले अलिकति नबुझेर पत्रिकामा आइरहेकोजस्तो देखिरहेको छु । किनभने राष्ट्र बैंकले रिपोर्ट ल्याउँदा अथवा बैंकिङ च्यानलमा लगभग २६ देखि ३० अर्ब तरलता देखिन्छ भनिन्छ । त्यो तरलताको अभाव भनेको होइन । अहिले हामी कहाँ सिआरआर राख्ने पैसाकै अभाव भयो, हामीसँग तरलता छैन भनेको होइन । तरलता त हामीले २० प्रतिशत राख्नैपर्छ । हामीकहाँ क्रेडिट डिपोजिट रेसियो टाइट भयो । डिपोजिटको ग्रोथ क्रेडिटको ग्रोथभन्दा कम भयो, त्यो कारणले गर्दा लगानीयोग्य रकम कम भएको हो । त्यसकारण हामी ठूलो कर्जामा अहिले जान सक्ने अवस्था छैन । त्यो सत्य हो । तर तरलता अभाव भएको होइन । 

के कारणले यो भयो ?

यसमा एउटा कारण भन्दा पनि धेरै कारण होलान् । कर्जाको डिमान्ड र वृद्धिदरभन्दा निक्षेपको वृद्धिदर कम छ । विगत चार–पाँच महिनाको हेर्ने हो भने निक्षेपमा खासै वृद्धि भएको छैन । तर, कर्जामा अलिकति वृद्धि भएको छ । त्यो कारण के हो भने सबैले न्यूनतम पँजी आठ अर्ब पर्याउनुपर्ने अवस्था आइसक्यो । आठ अर्ब पर्याइसकेपछि त्यसलाई प्रतिफल दिन अलिकति कर्जा बढाउनुपर्ने अवस्था हो । कर्जाको माग पनि छ बजारमा । एकातिर कर्जाको माग र कर्जा वृद्धिदर बढ्ने अर्कोतिर निक्षेप नबढ्ने यस कारण अहिले रेमिट्यान्सको वृद्धिदर कम भएरपनि हो । रेमिट्यान्स घटेको छैन तर वृद्धिदर कम छ । भूकम्पपीडित या दशैंमा गएका नोटहरू फेरि फर्किएर बैंकिङ च्यानलमा आइसकेका छैनन् । सरकारले पहिलो र दोस्रो त्रैमासमा खासै विकासका कार्यहरू अगाडि बढाएको छैन । यी विविध कारणले गर्दा निक्षेपको वृद्धि भएको छैन । तर, आशा छ आगामी दिनमा यो कुराको समाधान हुनेछ ।

gyandra dhungana 1

विगतमा अत्यधिक सस्तो ब्याजको कारणले कर्जा प्रवाह हँदा अहिले यो समस्या आयो भनिदै छ नि ?

त्यस्तो भएको छैन । केही फाटफुट भएको होला तर त्यो पैसा त फेरि बैंकिङ च्यानलमा आइहाल्छ नि । त्यो कारणले कर्जाको बढोत्तरीमा अलिकति वृद्धिदर देखिएको होला तर त्यो कारणले बैंकिङ च्यानलमा पैसा फर्किएर नआएको र तरलता अभाव भएको भन्न मिल्दैन । मान्छेको कि घर–घरमा पैसा बस्यो, कि नेपाल सरकारको कोषमा गएर पैसा बस्यो । त्यो कारणले मात्र समस्या भएको हो । 

राष्ट्र बैंकले तरलता अभाव कम गर्न भन्दै रिपो जारी गर्यो, त्यो त एकदम कममात्र बिक्री भयो ?

तरलता अभावलाई र क्रेडिट डिपोजिट रेसियोमा  रिपोले केही पनि सहयोग गर्दैन । रिपोले जसलाई सिआरआर मेन्टेन गर्न तरलताकै अभाव भएको कुरामा ठीक छ । ट्रेजरी बिल राख पैसा लिएर आउ तिम्रो मेन्टेन गर भनेको हो । त्यो कुराको त हामीलाई समस्या नै छैन । त्यसकारण बैंकहरूले त्यसमा सहभागिता किन जनाएनन् भने अहिले तरलताको अभाव होइन लगानीयोग्य फन्ड नभएको हो, किनभने हाम्रो क्रेडिट डिपोजिट रेसियो टाइट भयो । कि त त्यसमा क्रेडिट डिपोजिट रेसियोमै रिभ्यु गर्दिनुपर्यो । क्रेडिट डिपोजिट रेसियो हिजो दुई अर्ब रुपैयाँको क्यापिटल हुँदा पनि ८० प्रतिशत आठ अर्बको हुँदा पनि ८० प्रतिशत त्यो भनेको त ह्युज एक्स्ट्रा तलरता छ तर त्यसलाई हामी लगानी गर्न सक्दैनौ । 

तपार्इं बैंकर संघको उपाध्यक्ष पनि हुनुहुन्छ, अहिलेको यो समस्या समाधान गर्न सरकार र राष्ट्र बैंकले के गर्दिनुपर्ला ?

बैंकर संघबाट अहिलेको वस्तुस्थिति के छ र राष्ट्र बैंकले के सहयोग गर्दिनुपर्छ भन्ने कुरा उठाएकै हो । यो क्रेडिट डिपोजिट रेसियो (सिसिडी) जुन छ, हाम्रो त्यसमा क्यापिटल सँगसँगै आउँछ । त्यसमा ८० प्रतिशतभन्दा बढी हुनुहुँदैन भन्ने जुन छ, अब हाम्रो क्यापिटलको डिपोजिटको साइज बढेर गइसक्यो । ८० बाट अलिकति फ्लेक्जिबल भएर ८५,९० तिर गर्दिनुपर्यो। एउटा हामीले त्यो भनेका छौं । दोस्रो सरकारले समयमै विकास खर्चहरू गर्दिनुपर्यो । पैसालाई कोषमा मात्र राखेर त्यो चलायमान हुँदैन । भोलिको लगानीको वृद्धि कम हुनेबित्तिकै आर्थिक क्रियाकलापदेखि जिडिपीसम्मलाई असर गर्छ । यो कुरालाई दृष्टिगत गर्दै सरकारले खर्च चाँडै गर्दिनुपर्यो र नेपाल राष्ट्र बैंकले केही समयका लागि सिसिडीमा रिल्याकस्ड गर्दिनुपर्यो भन्ने कुरा हो, जुन हामीले लेखेर पनि दिइसकेका छौं । 

मुद्धती निक्षेपको ब्याज १२ प्रतिशतसम्म पुगिसक्यो तर साधारण बचतमा त औसतमा २ प्रतिशतभन्दा ब्याज बढ्न सकेन ?

अहिले सिसिडीको समस्या भनेको क्षणिक हो । दुई–तीन महिना आयो फेरि दुई–तीन महिनापछि हराउँला । बैंकहरूले एकैपटक लङटर्म कमिटमेन्ट गरिहाल्न गाह्रो छ । तर, क्षणिक समयका लागि आफ्नो सिसिडी मेन्टेन गर्नका लागि केही बैंकहरूले त्यो सर्ट टर्मलाई कसैले ९० दिनलाई, कसैले ३० दिनलाई त कसैले १०० दिनलाई यो ब्याजदरमा हामी लिन्छौं भनेका छन् । त्यसको मतलब यो होइन कि सेभिङमा बढेको छैन । सेभिङमा पनि क्रमिक रूपमा बढिरहेको छ । नबढ्नेबित्तिकै सेभिङको पैसा उता गइहाल्छ नि । ब्याजदर बढ्दा ओभर अल सबै नै बढ्छ । अलिकति फिक्स डिपोजिटमा चाँडै नै बढ्यो, अन्ततः सबैमा बढ्छ । 

बैंकहरू अहिले आठ अर्ब पर्याउने अभियानमा छन् ? यस्तो बेलामा यो समस्याले दीर्घकालीन रूपमा केही असर पार्छ कि ?

आठ अर्ब पुँजी पर्याइसकेपछि आठ अर्बलाई रिटर्न दिनुपर्ने प्रेसर हामीलाई हुन्छ । दुई अर्ब, तीन अर्बको क्यापिटललाई रिटर्न दिइराखेका बैंकहरूलाई आठ अर्बको रिटर्न दिँदा पक्कै पनि बिजनेस धेरै गर्नुपर्छ । तर, बिजनेस गर्ने रिर्सोसेस नै नभए बिजनेस गर्न सकिँदैन । आगामी दिनमा रिटर्न कम हुन सक्छ । तर, यो अहिले पनि क्षणिक हो । भोलिका दिनमा समाधान भइहाल्छ ।  प्रधानमन्त्रीज्यूले पनि विकास खर्चमा तदारुकता गर्नुपर्यो, विकास खर्चमा अवरोध गर्नेहरूलाई कारबाही गर्नुपर्यो भन्नेसम्मको कुरा आइरहेको छ । हामी आशावादी छौं नेपाल सरकारले विकास खर्चको प्रतिशत बढाउनेछ । त्यस हिसाबले यो समस्या समाधान हुन्छ । 

gyandra 2

एनबी बैंकले ८० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरिसकेको छ अब बैंकले बाकी पँजी कसरी पुर्याउँदैं छ ?

हामीले ८० प्रतिशत हकप्रद दिइसकेपछि हाम्रो पुँजी ६ अर्ब २० करोड पुग्छ । त्यसपछि बाँकी रहेको ८०–९० करोड यो चालु वर्षको बोनस सेयर दिएर आठ अर्ब माथि पुग्छौं । गत वर्षको ३२ प्रतिशत बोनस दिइसकेपछिको ८० प्रतिशत हो । अहिले हामी ४ अर्बमा छौं, यो ३ अर्ब २० करोड हुन आउँछ । त्यसपछि ७ अर्ब २० करोड हुन्छ । बाँकी ८०–९० करोड रुपैयाँ हामी बोनस सेयर दिएर पुयाउने लक्ष्यमा छौं ।

तपार्इंहरू पँजी बढाउन अगाडि बढिसक्नुभयो । यो एकैचोटि चार अर्ब पँजी बढाउने र त्यो अनुपातमा लगानीका क्षेत्र विस्तार नहँदा यसले नेपालकै अर्थतन्त्रमा दीर्घकालीन असर गर्छ भनेर विश्लेषण पनि गर्ने गरिन्छ ? तपाईंलाई के लाग्छ ?

त्यो कुरामा म सहमत छैन । हो एकैपटक चार गुणा बढ्यो । यदि यो नबढाएको भए दुई–तीन वर्ष पछाडि बैंक आफैंले आठ अर्ब पर्याउँथे । तर, बैंकहरूको क्यापिटल बेस मजबुत होस् भनेर राष्ट्र बैंकले दुई वर्षभित्रै बढाउनुपर्छ भन्यो । प्रायःजसो आधा बैंकहरूले पर्याइ पनि सके । आधा बैंक पर्याउने तर्खरमा छन् । अघिल्लो वर्षको क्यापिटल रिटर्न जति आएको थियो आठ अर्बले त्यति आउँदैन । तर, दुई वर्षपछि त्यति रिटर्न आइसक्छ । नेपालको आर्थिक क्रियाकलापहरू बढेका छन् । नेपालको जिडिपीको साइज बढेको छ । संस्थाहरू घटाइएका छन् । बैंकिङ पहुँज बढाइएको छ । त्यो हिसाबले आगामी एक–दुई वर्षमा यी कुराहरू सेटल हुन्छन् । त्यस्तो नकारात्मक भइहाल्नुपर्छ भन्ने लाग्दैन । 

एनबी बैंकका नयाँ योजनाहरू के छन् ?

गत महिना हामीले पाँचवटा शाखा विस्तार गर्यौं । अर्को छ–सातवटा शाखा एक–दुई महिनामा गर्दै छौं । यसले अलिकति बैंकिङ पहुँच पनि बढोस् । हामी जान नसकेका ठाउँहरूमा पनि पुग्छौं। राष्ट्र बैंकले हामीलाई इन्डिभिज्योल डिपोजिटको प्रतिशत बढाउनुपर्ने अवस्था सिर्जना गरेको छ, त्यसलाई पनि सहयोग गर्छ र हाम्रो व्यापार बढाउन पनि सहयोग गर्छ भन्ने किसिमले शाखा विस्तारमा हामी दुई वर्ष अलि एग्रेसिभ नै हुन्छौं । त्यो साथसाथै मार्केटको आवश्यकता अनुसारका नयाँ प्रडक्टहरू इभन इन्टरनेट बैंकिङका प्रडक्टहरू कर्पोरेट हाउसेसहरूलाई लगइन दिएरै उनीहरूले आफ्नो सर्टेन बैंकिङहरू आफ्नै अफिसबाट गर्न सक्नेसम्मको सुविधाहरू लिएर आउँदै छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री