यसरी मनाइयो टुँडिखेलमा ७६औँ प्रजातन्त्र दिवस (तस्विरसहित)

आज फागुन ७ गते, ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ। यो दिवसले विसं २००७ साल फागुन ७ गते १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको ऐतिहासिक घटनाको सम्झना गर्दछ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा मुख्य विशेष समारोह सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय गान प्रस्तुति, राष्ट्रिय झण्डोत्तोलन र सहिदहरूप्रति मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरियो। नेपाली सेनाको हेलिकप्टरबाट “राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२” अंकित ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि र रंगीचंगी बेलुनहरू उडाइयो, जसले समारोहलाई थप उत्साहपूर्ण बनायो।

Advertisement

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल स्काउटका टोलीहरूले भव्य मार्चपास र ब्यान्ड प्रदर्शन गरे। उपत्यकाका विभिन्न नगरपालिकाहरूको तर्फबाट सांस्कृतिक झाँकी, लाखे नाच र तेक्वान्दो प्रदर्शन प्रस्तुत गरियो, जसले नेपाली संस्कृति र विविधतालाई उजागर गर्‍यो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधि लगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री