
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आज नेपाली जीवन बीमा व्यवसायमा स्थापित र व्यवसाय वृद्धिको मानाङ्कमा उल्लेखनीय विकास गरी अगाडि बढिरहेको छ । छोटो समयमा हामीले व्यवसाय विस्तारसँगै सेवामा गुणस्तर, सुशासन र विश्वसनीयतामा पनि बलियो पहिचान बनाउन सफल भएका छौं ।
बीमा व्यवसाय दीर्घकालीन विश्वासको सम्बन्ध हो भन्ने मान्यताका साथ हामी अघि बढिरहेका छौं । समयमै दाबी भुक्तानी, पारदर्शी प्रक्रिया र ग्राहकमैत्री सेवाले कम्पनीप्रति आम नागरिकको भरोसा बढ्दै गएको महसुस गरेका छौं ।
देशैभर फैलिएका कार्यालय सञ्जाल, कर्मठ अभिकर्ता मित्रहरु, दक्ष कर्मचारी र नवीनतम प्रविधिमा आधारित व्यवस्थापन प्रणालीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई दिगो बीमा कम्पनीको रुपमा प्रस्तुत गरिरहेको छ ।
नेपालको जीवन बीमा बजारमा अहिले मुख्य चुनौतीहरु के–के छन् ? र, प्रभु महालक्ष्मी लाइफले ती सामना गर्न कस्ता रणनीति अपनाइरहेको छ ?
नेपालको जीवन बीमा बजार अझै विकासोन्मुख चरणमै छ । बीमाप्रतिको अपर्याप्त चेतना, आवश्यकताअनुसारका बीमा योजनाको कमी, बीमाप्रति समाजमा व्यप्त भ्रम र विश्वासको प्रश्न आजका मुख्य चुनौतीहरु हुन् भन्न सकिन्छ ।
त्यसैगरी, अस्वस्थ प्रतिस्पर्धा, मिस सेलिङ, बीमा सरेन्डर दर र बजारमा आएको आर्थिक उतार–चढावले पनि बीमा व्यवसायलाई प्रभावित गरिरहेको छ ।

यी सबै चुनौतीलाई अवसरमा रुपान्तरण गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण, दक्ष अभिकर्ता एवं कर्मचारी सशक्तीकरण, ब्राण्ड अवेरनेस र डिजिटलाइजेसनलाई आफ्नो मुख्य रणनीति बनाएको छ । ग्राहकको आवश्यकतालाई केन्द्रमा राखेर हामी बीमा व्यवसायलाई मर्यादित र सम्मानीत पेशाको रुपमा अगाढि बढाइरहेका छौं ।
धेरै नेपालीले जीवन बीमालाई ‘खर्च’ वा ‘दायित्व’को रुपमा हेर्छन् । बीमालाई ‘सम्पत्ति’ वा लगानीको रुपमा स्थापित कसरी गर्न सकिएला ?
जीवन बीमालाई ‘खर्च’ वा ‘दायित्व’को रुपमा हेर्ने सोच परिवर्तन गर्नु अर्को चुनौतीका साथै जिम्मेवारी हो । जीवन बीमा भनेको आकस्मिक जोखिमलाई रक्षावरण गर्नु, दीर्घकालीन आर्थिक योजना, बचत र पारिवारिक सुरक्षाको आधारशीला निर्माण गर्नु हो ।
बीमाले आपतकालीन अवस्थामा परिवारलाई आर्थिक सहारा दिन्छ, बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्छ र सेवानिवृत्त जीवनलाई सहज बनाउन मद्दत गर्दछ । यी सबै पक्षलाई सरल र व्यावहारिक भाषामा बुझाउन सक्यौं भने बीमा आफैं सम्पत्तिको रुपमा स्थापित हुने मेरो विश्वास छ । हामी बीमालाई आजको खर्च होइन, भोलिको आर्थिक सुरक्षा हो भनेर बुझाउने अभियानमा केन्द्रित छौं ।
डिजिटल बीमा, अनलाइन पेमेन्ट र मोबाइल एपको प्रयोगमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कहाँ उभिएको छ ? भविष्यको योजना के छ ?
डिजिटलाइजेसन अब विकल्प होइन, आधारभूत आवश्यकता हो भन्ने कुरा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मनन गरेको छ । यस तथ्यलाई गम्भीरताका साथ बुझेर डिजिटलाइजेसनका सवालमा कम्पनी अघि बढिरहेको छ ।
सम्पूर्ण ग्राहक सेवा, डिजिटल दावी भुक्तानी प्रक्रिया, अभिकर्ता पोर्टल र डाटामा आधारित रहेर मूल्याङ्कन तथा निर्णय गर्ने प्रणालीलाई अझ सुदृढ बनाउने योजना छ ।
हाल हामी अनलाइन प्रिमियम भुक्तानी, डाइनामिक क्यूआर पेमेन्ट, अनलाइन पोलिसि लोन, अनलाइन केवाईसी, अनलाइन प्रपोजल फर्मका साथै थप डिजिटल सेवा प्रणाली र प्रविधिमैत्री आन्तरिक व्यवस्थापनमा सक्रिय रहँदै आएका छौं ।
चाँडै मोबाइल एपमार्फत सम्पूर्ण ग्राहक सेवा, डिजिटल दावी भुक्तानी प्रक्रिया, अभिकर्ता पोर्टल र डाटामा आधारित रहेर मूल्याङ्कन तथा निर्णय गर्ने प्रणालीलाई अझ सुदृढ बनाउने योजना छ । प्रविधिले सेवा छिटो, सहज र पारदर्शी बनाउँछ भन्ने हाम्रो दृढ विश्वास हो ।
अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि कम्पनीले कस्ता तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
अभिकर्ता नै जीवन बीमा व्यवसायको मुख्य संवाहक हुन् । त्यसैले उनीहरुको दक्षता, सीप, ज्ञान र आत्मविश्वास विकासमा हामी निरन्तर लगानी गरिरहेका हुन्छौं ।
बिक्री कला, वित्तीय ज्ञान, बीमा योजनाको सरलीकृत व्याख्या, ग्राहक सेवा, व्यावसायिक मूल्य–मान्यता र नेतृत्व विकाससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिमहरु नियमित रुपमा सञ्चालन भइरहेका छन् । हामी अभिकर्तालाई केवल बिक्रीकर्ता होइन, वित्तीय सल्लाहकारको रुपमा विकास गरिरहेका छौं ।

हामी चाहन्छौं, नेपाली अभिकर्ताहरु एमडीआरटीजस्ता विश्व मञ्चमा गर्वका साथ धेरैभन्दा धेरै उभिन सकून् ।
एमडीआरटीजस्ता अन्तर्राष्ट्रिय स्तरका अभिकर्ताहरु उत्पादन गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको रणनीति के छ ?
एमडीआरटी हाम्रो लागि उपलब्धिका साथै उत्कृष्टताको प्रतीक हो । यसका लागि स्पष्ट लक्ष्य, लक्ष्य प्राप्तिको मार्गदर्शन, व्यावसायिक दक्षता अभिवृद्धिको तालिम तथा आकर्षक प्रोत्साहन योजना तयार पारिएको हुन्छ ।
उच्च सम्भावना भएका अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर, निरन्तर व्यावसायिक क्षमता वृद्धि र नेतृत्व विकासका लागि उत्प्रेरणा प्रदान गर्दै आएका छौं । हामी चाहन्छौं, नेपाली अभिकर्ताहरु एमडीआरटीजस्ता विश्व मञ्चमा गर्वका साथ धेरैभन्दा धेरै उभिन सकून् ।
बैङ्कासुरेन्स बन्दले बीमा बजारमा पारेको प्रभावलाई तपाईं कसरी हेर्नुहुन्छ ? सुधारका उपाय के हुन सक्छन् ?
बैङ्कासुरेन्स बन्दले छोटो समयका लागि बजारलाई असर पारेको जस्तो देखिन्छ । तर, यसले दीर्घकालमा बीमा व्यवसायलाई अझ पेसागत, जिम्मेवार र अभिकर्ता–केन्द्रित बनाउने अवसर पनि दिएको कुरालाई हामीले भुल्न हुँदैन ।
यसो भन्दै गर्दा ग्राहक हितलाई केन्द्रमा राखिएको स्पष्ट नीति अबको आवश्यकता हो । यसले बजारलाई स्वस्थ प्रतिस्पर्धा र दिगो बनाउन मद्दत गर्नेछ भन्ने विश्वास लिएको छु ।
नयाँ बीमा योजनाहरु वा नवीन उत्पादनहरु ल्याउने तयारी छ ?
बदलिँदो जीवनशैली, युवापुस्ताको सोच, नेपाली मौद्रिक व्यवहार र विभिन्न वर्गको आवश्यकताअनुसार नयाँ बीमा योजनाहरु विकास गर्ने काम भइरहेको छ । स्वास्थ्य, शिक्षा, सेवानिवृत्ति र दीर्घकालीन बचत जस्ता कुरालाई केन्द्रमा राखेर नवीन बीमा योजनाहरु चाँडै बजारमा ल्याउने तयारीमा हामी छौं ।
अन्त्यमा, तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हर नेपाली परिवारको सुरक्षित आर्थिक भविष्यको साझेदार हो । विश्वास, पारदर्शिता, नवप्रवर्तन, डिजिटलाइजेसन र सामाजिक जिम्मेवारीकै आधारमा हामी जीवन बीमालाई अझ अर्थपूर्ण, विश्वसनीय र जनमैत्री बनाउँदै अघि बढ्नेछौं । समयबोध म्यागेजिनबाट ।








प्रतिक्रिया