सानिमा क्यापिटलद्वारा सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशन


सानिमा क्यापिटल लिमिटेडले आगामी फागुन ६ गतेदेखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने घोषणा गरेको छ।

यस फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ। पहिलो चरणमा ४० प्रतिशत अर्थात ४ करोड इकाई सार्वजनिक रुपमा बिक्री खुल्ला गरिनेछ। यसमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ।

Advertisement

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो। यस योजनामा न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

फागुन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन मिति फागुन २० गतेसम्म लम्बिन सक्नेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले यस फण्डका लागि कोष प्रबर्द्धकलाई ‘इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्रएनपि एएमसि क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री