
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विदेशमा ठूला काण्ड गरेर नेता बन्ने प्रवृत्तिप्रति आलोचना गरेका छन् । शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफू राजनीतिमा सेवा दिनकै लागि आएको स्पष्ट गरे ।
सिंहले राजनीतिलाई देशको समग्र विकास गर्ने सशक्त माध्यम भएको बताउँदै यसप्रति नकारात्मक धारणा निर्माण गर्न खोजिएको उल्लेख गरे । “राजनीतिमा लाग्नेहरू समाजका लागि काम नलाग्ने व्यक्तिहरू मात्र हुन् भन्ने गलत भाष्य सिर्जना गर्न खोजिएको छ, तर राजनीतिबाट नै देशको समग्र विकास सम्भव छ,” उनले भने ।
उनले विवेकपूर्ण रूपमा निर्णय गर्नुपर्ने भन्दै जनतालाई सही र गलत छुट्याएर नेतृत्व चयन गर्न आग्रह गरे । “अरूको लहलहैमा लाग्नु हुँदैन, विवेक बुद्धि भगवानले नै दिएको हुन्छ,” उनले थपे ।
सिंहले केही व्यक्तिहरू विदेशमा ठूला काण्ड गरेर नेपाल फर्किएपछि नेता बन्ने प्रयास गरिरहेको बताउँदै त्यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे । “हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित राख्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि जनताले सही प्रतिनिधि छान्न जरुरी छ,” उनले भने ।









प्रतिक्रिया