
पछिल्लो दुई वर्षयता काठमाडौं उपत्यकामा जग्गाको भाउ अत्यासलाग्दो तरिकाले बढेको छ ।
छोटो समयमै गुणात्मक लाभ पाउने लोभले अस्वाभाविक रूपमा मध्यम वर्गको समेत ध्यान जग्गा खरिदमा केन्द्रित भएपछि जग्गाको भाउ अत्यासलाग्दो तरिकाले बढेको हो ।
‘घरजग्गामा जसको पनि प्रवेश र पहुँचले काठमाडौं उपत्यका जग्गाको भाउ छोईनसक्नुभएको छ ।,’ घरजग्गा व्यवसायीहरुको छाता संस्था नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) का प्रथम उपाध्यक्ष विदुर धमलाले भने ‘ विगतमा बैंक बित्तिय सस्थाहरुले व्यक्तिगत प्लटिङलाई पनि अथाह ऋण दिंदा जग्गाको भाउ अत्यासलाग्दो तरिकाले बढेको हो ।’
नेपालमा अहिलेसम्म बजारले नै मूल्य निर्धारण गरेर घरजग्गाको मूल्य घट्ने बढ्ने अहिलेसम्म भएको छैन । घरजग्गाको कारोबारको ठुलो हिस्सा औपचारिकरूपमा बजारमा नआउँदा बैंकहरुले घरजग्गामा जति कडाई गरेपनि यो मुल्य भने दिनहँ आकाशिंदै गएको बिष्लेषकहरु बताउँछन् ।
‘नेपालमा घरजग्गाको अनियन्त्रित मूल्य बजार नियमबाट निर्देशित छैन। व्यवसायिक डेभलपरहरुले मात्र वास्तविक ‘रियल इस्टेट मा काम गरिरहेका छन्। अरुले त जग्गा काटेर बेचिरहेका मात्र हुन्, जसले अनौपचारिक अर्थतन्त्रलाई मात्र असाध्यै मलजल गरिरहेको छ।’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा= जगदीशचन्द्र पोखरेल भन्छन् ‘यसैकारण अनौपचारिक कारोबारहरु मौलाउँदा जग्गाको मूल्य दलालले बढाइरहेको छ कि वा अरु कसैले कसरी र किन बढाइरहेको छ वा बढ्यो भन्ने थाहा हुँदैन।’
कोभिडले अर्थतन्त्र सुस्त भएको भनिएको बेलासमेत नेपालमा जग्गाको मूल्यवृद्धि अत्यासलाग्दो गरी बढिरहेको छ । व्यवसायिक रूपमा बनाइने गरेका हाउजिङ/अपार्टमेन्टको मूल्य पनि मध्यम आय वर्गले नै छोइनसक्नु हुँदै छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले भर्खरै तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा पछिल्लो एक दशक हाराहारीमा कम्तिमा १२ गुणाले जग्गाको मूल्य बढेको छ।
अहिले संस्थागत लगानीकर्ताको नाममा गएको बैंक ऋणलाई मात्रै घरजग्गा क्षेत्रमा गएको ऋणको रुपमा बैंकहरुले गणना गरेको पाइन्छ । यसरी संस्थागत रुपमा घरजग्गा क्षेत्रमा गएको ऋण करीब साढे ५ खर्ब रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । जुन २५ प्रतिशतको सीमाको आधाभन्दा पनि कम हो ।
राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा आवासिय घरकर्जा सहित २५ प्रतिशत सम्म मात्रै कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । संस्थागत लगानीकर्ता बाहेक अन्य व्यक्ति तथा संस्थाले घरजग्गा शीर्षकमा कर्जा नलिएर ओभर ड्राफ्ट वा अन्य शीर्षकमा कर्जा लिने गरेकाले रियल इस्टेट कर्जा सीमा भित्र रहे जस्तो देखिन्छ । तर वास्तविकतामा भने यो क्षेत्रमा ३५ प्रतिशत हाराहारी कर्जा प्रवाह भएको सिबिफिनकै अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महीनाको समीक्षा अवधिमा घरजग्गा कर्जा १२ प्रतिशत र ओभर ड्राफ्ट कर्जा २१ प्रतिशत गरी कुल कर्जा प्रवाहमा ३३ प्रतिशतको वृद्धि देखिएको छ ।
वित्तीय संस्थाहरुको जग्गाकेन्द्रित बैंकिङ/लगानीले घरजग्गाको मूल्य अत्यासलाग्दो गरी उक्लिरहेको २०६५ सालदेखि संस्थागत रूपमा ‘नोटिस’ गर्दै आएको राष्ट्र बैंकले पहिलोपटक सार्वजनिक गरेको घरजग्गा मूल्य सूचकांक प्रतिवेदनले पनि देशभर घरजग्गाको मूल्यवृद्धिको दर कुन रफ्तारमा चढ्दैछ भन्ने देखाएको छ।
जग्गालाई करिब ७७ प्रतिशत (र, घरसहितको जग्गाको २३ प्रतिशत) हाराहारी भार दिएर राष्ट्र बैंकले यसै वर्ष तयार पारेको प्रतिवेदनअनुसार गत वर्ष औसतमा २६.४५ प्रतिशतले बढेको घरजग्गाको मूल्य चालु वर्षको नौ महिनामै औसत १६ प्रतिशतभन्दा धेरैले बढिसकेको देखिन्छ।
मागको तुलनामा आपूर्ति न्यून भएकाले घडेरी जग्गाको मूल्य शहर बजार र सुगम ठाउँहरुमा बढ्नु स्वाभाविक हो। तर डाँडा-पाखा, खेत इत्यादिमा समेत भइरहेको मूल्यवृद्धिको गति भने अचम्मलाग्दो छ। राष्ट्र बैंकको घरजग्गा मूल्य सर्वेक्षणले देखाएको घरजग्गाको मूल्यमा नेपालको औसत वार्षिक मूल्यवृद्धि दर (२६.४५%) संसारकै महँगा र धेरै बढिरहेको भनिएका ठाउँको भन्दा पनि निकै माथि हो।








प्रतिक्रिया