
एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरे पनि आफ्ना कार्यकर्तालाई भने सडकमा उतारेर दोहोरो चरित्र देखाएका हुन् ।
आइतबार सरकारले उनीहरूकै योजनाअनुसार एमसीसी संसद्मा टेबल ग-यो । टेबल गर्दा संसद्मा सामान्य असन्तुष्टि मात्रै देखियो तर राजधानीका सडकमा उनीहरूकै कार्यकर्ताले लगातार विरोध गर्दा प्रहरीसँग दिनभर भिडन्त भयो । कैयांै कार्यकर्ता र प्रहरी घाइते भए । जनजीवन प्रभावित बन्यो । काठमाडांैको मुटु मानिने बानेश्वर क्षेत्र दिनभर रणमैदान जस्तै बन्न पुग्यो । तर, दुवै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बाहिरको दृश्यसँग खासै संवेदनशील देखिएनन् । कार्यकर्ताको भावनामाथि खेलबाड गरेको भन्दै उल्टै उनीहरूको विरोध भयो ।
यद्यपि, यी दुई दलभित्रै एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले केही समयअघिसम्म मात्रै एमसीसी यथास्थितिमा संसद्मा टेबल गर्न नदिने बताउँदै आएका थिए । तर, शनिबार दुवै अध्यक्ष एकाएक ‘युटर्न’ हुँदै एमसीसीको पक्षमा लचिलो मात्रै देखिएनन कि संसद्मा टेबल गर्न दिनेगरी पार्टीभित्र निर्णय गराए । सत्ता गठबन्धन जोगाउनकै लागि र सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ता पंक्तिबाट दुवैको चर्को आलोचना भइरहेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार माओवादी र नेकपा समाजवादीको एमसीसीको विरोधी पनि देखिनुपर्ने र सत्ताको लोभ पनि गरिरहने प्रवृत्ति उत्कर्षमा पुगेको छ । जसका कारण आइतबार एमसीसी टेबल भयो । यदि यी दुवै पार्टीका अध्यक्षहरूले नचाहेको भए एमसीसी संसद्मा टेबल हुनै नसक्ने र उनीहरूको दोहोरो चरित्रकै कारण यो सम्भव भएको राजनीतिक विश्लेषकको ठहर छ ।
प्रमुख सत्तारूढ दल काग्रेस भने सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएकाले यसमा उसले अन्य दुई सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आफ्नो एजेन्डामा ल्याउन सफल भएको देखिएको छ ।
माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने सन्दर्भमा दोहोरो चरित्र देखाएको देखिन्छ । उसले सत्ता गठबन्धन जोगाउन शीर्ष तहमा एमसीसी संसद्बाट अनुमोदन गर्ने तर, सडकमा एमसीसीविरुद्ध नारा लगाउन कार्यकर्ता पठाइरहेको छ जसका कारण काठमाडौंका सडक आइतबार तनावग्रस्त बन्न पुृगे । आजको राजधानी दैनिकमा यो समाचार छ ।








प्रतिक्रिया