बुधबार, २ जेठ २०८१

चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा, लागत ७ अर्ब ३४ करोड, ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य

समयपोष्ट २०७८ फागुन १ गते १०:०६

Advertisement

सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले प्राप्त गरेको छ ।

टेन्डरमा नौ निर्माण कम्पनीले सहभागिता जनाएका थिए । ती मध्ये पास भएका चार वटा कम्पनी चाइन फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन, सीओभीईसी–सीआरईजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन र सीसीईसीसी–सीआरसीसी १४–सियुयान जेभीको आर्थिक प्रस्ताव स्वीकृत भएको थियो ।

आर्थिक प्रस्ताव खोल्दा ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’को प्रस्ताव कम परेको हुनाले उक्त कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का पाएको हो।

ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको थियो। विभागले यसबारे अन्तिम निर्णय गर्दै आइतबार ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको हो।

Advertisement

ठेक्का सम्झौता भएको ९ महिनामा सम्बद्ध कम्पनीले सुरुङमार्गको डिजाइन विभागलाई उपलब्ध गराउने प्रावधान रहेको छ।

मुलुकभरका विभिन्न स्थानमा सुरुङमार्ग आयोजनाहरू निर्माण हुँदै छन्। हाल सिद्धबाबा सुरुङमार्ग योजना निर्माणमा अघि बढ्ने भएको छ। इन्जिनीयरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) मोडलमा ठेक्का लगाइने यो सुरुङमार्ग ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

केपी ओली नेतृत्वका सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी) ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो। यो सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ। सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि तीन हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ ।

२०७२ सालको बजेट भाषणमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले नै सिद्धबाबा सडक खण्डमा सुरुङ बनाउन भन्दै बिस्तृत अध्ययनका लागि बजेट बिनियोजन गरेका थिए।

सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ। हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री