आइतबार, २३ वैशाख २०८१

हामीले मार्गदर्शन गर्यौं भने अन्य साना बैङ्कहरु पनि त्यही मार्गमा चल्छन् भन्नेमा विश्वस्त छौं

समयपोष्ट २०७८ माघ २४ गते १५:११

Advertisement

नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गर्ने सम्झौता गरेको छ । यो सम्झौताले नेपालको बैङ्किङ क्षेत्रलाई के सन्देश दिन्छ ?

हामीले पहिलेदेखि नै मर्जर या एक्विजिसन गर्न राम्रो पार्टनर प्राप्त गरेको खण्डमा त्यसलाई सकारात्मकरुपमा लिएर अगाडि जान्छौं भन्दै आएका थियौं । त्यसका लागि हामीले धेरै वित्तीय संस्थाहरुलाई नियालिरहेका थियौं । त्यसमा नेपाल बङ्गलादेश बैङ्कसँग हाम्रो मेल एकदम राम्रो देखियो । उहाँहरुको शाखा सञ्जाल, हामी दुई बैङ्कको व्यवसाय, रेभेन्यु हेर्दा यी दुई बैङ्क सँगै भए भने आउँदा दिनमा झन् राम्रो हुन्छ र मजबुत बन्छ भन्ने लाग्यो । नबिल बैङ्कहरुमा फष्ट च्वाइस हुने जुन लक्ष्य छ, त्यो लक्ष्य पूरा गर्न पनि यसले मद्दत गर्छ । त्यसकारण नेपाल बङ्गलादेश बैङ्कसँग हाम्रो एक्विजिसन एकदम सकारात्मक हुने भएर अगाडि बढेका छौं । यी दुईसंस्था गाभिइसकेपछि नबिल झन् नम्बर वन नै बन्छ भन्ने हाम्रो विश्वास छ । त्यस हिसाबले हामी अगाडि बढिरहेका छौं ।

मर्जरपछि यहाँहरुको बैङ्क २२ अर्ब भन्दा बढी पुँजी भएको बैङ्क बन्छ । त्यो बैङ्कले परम्परागत बैङ्किङबाहेक अन्य के काम गर्छ ?

नबिल बैङ्क नेपालमा कार्यरत भएको ३५ वर्ष भइसकेको छ । जुन काम नबिल र एनबी बैङ्कले गरिरहेका छन्, तिनै कामलाई झन् राम्रो गर्ने हाम्रो लक्ष्य हुन्छ । २२ अर्बको पुँजी भएको बैङ्क भइसकेपछि हाम्रो इन्भेष्टमेण्ट पोलिसी पनि बढी हुन्छ । हाम्रा पूर्वाधारहरु, सूचना प्रविधि र मानव संसाधनका क्षेत्रमा लगानी गर्नुपर्ने क्षमता बढेकै हुन्छ । आगामी दिनहरुमा हाम्रो मुख्य फोकस प्रविधिमा हुन्छ । हामीले नबिल ई–बैङ्क भनेर सुरु गरेका छौं । हामीले त्यसलाई द्रूतस्तरमा अगाडि बढाउने हाम्रो प्रतिबद्धता छ । किनभने, आउँदा दिनमा बैङ्क भनेको जाने ठाउँभन्दा पनि सेवा प्रयोग गर्ने माध्यम हुनेछ । नबिल बैङ्कको शाखा कति छ भनेर कसैले सोध्दैन । त्यतिबेला सबै नेपालीको खल्तीमा मोबाइल फोन हुन्छ । त्यो मोबाइल फोनबाटै अधिकांश नबिल बैङ्कबाट प्राप्त हुने सेवा–सुविधाहरु उपलब्ध हुनेछन् । त्यसमा कसरी अगाडि बढ्ने भन्ने मर्ज इन्टिटी हुन्छ । त्यसमा पनि एउटा प्रतिबद्धता छ ।

Advertisement

अर्को, नबिल बैङ्कले दिगो बैङ्किङ भनेर सुरु गरेको छ । नेपाल बङ्गलादेश बैङ्कले धेरै नेपाली व्यवसायीहरुलाई सानोबाट मध्यम, मध्यमबाट ठूलो र ठूलोबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको बनाउनुभएको छ । आउँदा दिनहरुमा दिगो बैङ्किङको माध्यमबाट गोलभेडा खेती, माछापालन, बाख्रापालन गर्न चाहनेहरुका लागि हाम्रा सेवा यहाँहरुका लागि पनि छ भनेर त्यहाँ पनि पुग्छौं । अर्को, हाम्रो वातावरणका लागि देशमा कार्बन उत्सर्जन घटाउन एउटा ठूलो बैङ्कको हिसाबले हामीले के गर्न सक्छौं ? हामीले मार्गदर्शन गर्यौं भने अन्य साना बैङ्कहरु पनि त्यही मार्गमा चल्छन् भन्नेमा हामी विश्वस्त छौं । त्यसकारण दिगो बैङ्किङलाई मूलनारा बनाएर अगाडि बढ्ने प्रतिबद्धता छ ।

मर्जरपछिको त्यो २२ अर्ब पुँजी भएको बैङ्कको नेतृत्व यहाँले नै गर्नुहुन्छ या अर्को कोही आउँछ ?

अहिले कसले नेतृत्व गर्नेभन्दा पनि २२ अर्बको बैङ्कलाई कुन दिशामा अगाडि बढाउने भन्नेमै हामीहरु केन्द्रित छौं । कुन दिशामा, कुन रफ्तारमा बैङ्कलाई अगाडि लिएर जाने भन्ने निर्णय भइसकेपछि कसको नेतृत्वमा जाने भनेर निर्णय हुन्छ । एउटै नबिल बैङ्क बनिसकेपछि बोर्डको बैठक बस्छ र त्यो बेला निर्णय हुन्छ ।

अहिलेको बैङ्किङ क्षेत्रको समस्याका बारेमा गर्भनर र अर्थमन्त्रीकै पनि टसलजस्तो देखिन्छ । यहाँले देखेका बैङ्किङ क्षेत्रका मुख्य समस्याहरु के–के हुन् ?

अर्थमन्त्री र गर्भनरबीच एक किसिमको दूरी छ भन्ने कुरा भ्रममात्र हो । अहिलेको अवस्था जटिल छ । जटिल परिस्थितिमा हामीहरु दोष कसलाई लगाउने भनेर खोज्छौं । गर्भनर र अर्थमन्त्रीबीचको दूरी छ । त्यसकारण समस्या आयो । तर, त्यसो होइन । अहिले कोभिडले ल्याएको समस्याले अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ । रेमिट्यान्समा आएको कमीले पनि समस्या ल्याइरहेको छ ।

जब कोभिडपछि सबै कुरा सामान्य हुँदै जान्छन्, त्यसपछि हाम्रो अर्थतन्त्रलाई रिभाइभ कसरी गर्ने ?  त्यसका लागि अहिले नै हामीले गृहकार्य गरिसक्नुपर्छ । रिभाइभल हामीले जति राम्रो गर्यौं, तेस्रो चरण ग्रोथको चरणमा त्यति छिटो भ्यागुते छलाङ लिन सक्छौं ।

अहिले मैले हाम्रो अर्थतन्त्र र वित्तीय क्षेत्रमा तीनवटा चुनौतीहरु देखिरहेको छु । एउटा सर्टटममा पहिले हामी बच्नुपर्छ । एउटा अफिसमा चार जना छन् भने तीन जना सङ्क्रमित हुने अवस्था आइसक्यो । व्यक्तिगत, संस्थागत र अर्थतन्त्रलाई अहिले कसरी बचाउने ? सर्टटममा हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको त्यही हो । अर्थमन्त्रालय, राष्ट्र बैङ्क मिलेर आयातमा मार्जिन बढाएर हुन्छ कि आयात गर्न गाह्रो बनाएर हुन्छ कि कुनै वस्तु आयातमा रोक लगाएर भए पनि विदेशी मुद्रालाई कसरी सदुपयोग गर्ने भनेर लागिसक्नुभएको छ । किन त भन्दा पहिले हामी बाँच्नुपर्छ । देश नै टाट पल्टियो भने संस्था जति राम्रो भए पनि हुँदैन । मिडियम टर्ममा सर्भाइभ गरेपछि प्लानिङ सुरु हुनुपर्छ । मिडियम टर्ममा हामी रिभाइभ कसरी हुने ? जब कोभिडपछि सबै कुरा सामान्य हुँदै जान्छन्, त्यसपछि हाम्रो अर्थतन्त्रलाई रिभाइभ कसरी गर्ने ? पर्यटन, जलविद्युत, व्यापारलगायतका क्षेत्रहरु होलान्, यिनीहरुलाई रिभाइभ कसरी गर्ने ? त्यसका लागि अहिले नै हामीले गृहकार्य गरिसक्नुपर्छ । रिभाइभल हामीले जति राम्रो गर्यौं, तेस्रो चरण ग्रोथको चरणमा त्यति छिटो भ्यागुते छलाङ लिन सक्छौं ।

सर्टटर्ममा सर्भाइभल, मिडियम टर्ममा रिभाइभल र लङ टर्ममा ग्रोथका लागि हाम्रो वित्तीय क्षेत्र र अर्थतन्त्रलाई तयार गर्न सुरु गर्नुपर्छ ।

अहिलेको फेजमा हामीले राम्रो प्लानिङ गरेनौं भने अहिले संसार नै रिभाइभलतिर लागिरहेको हुन्छ । हामी अब के गर्ने भनेर सोच्नमात्र लाग्यौं भने धेरै ढिलो हुन्छ । त्यसकारण अहिले गृहकार्य गर्ने हो र बाँच्ने हो । मिडियम टर्ममा हामी रिभाइभ गर्ने हो र लङ टर्ममा ग्रोथका लागि तयार हुने हो ।

अहिले मानिसहरु घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । मानिसहरु घुम्न निस्किन खोजिरहेका छन् । यो डिमाण्डलार्ई क्यापिटलाइज गर्न नेपाल तयार हुनुपर्यो। जब सबै चिज सामान्य हुन्छ र संसारमा यात्रा सुरु हुन्छ, नेपाल जाऔँ भन्नुपर्यो । त्यतिबेला पनि हामी कोभिडकै असरमा दबिरहने, होटलहरु छैनन् भन्यो भने र त्यो वेभ हामीले मिस गर्यौं भने त्यो बेला हामी धेरै ठूलो नकारात्मक असरमा पर्नेवाला हुनेछौं । त्यसकारण सर्टटर्ममा सर्भाइभल, मिडियम टर्ममा रिभाइभल र लङ टर्ममा ग्रोथका लागि हाम्रो वित्तीय क्षेत्र र अर्थतन्त्रलाई तयार गर्न सुरु गर्नुपर्छ ।

कोभिडअगाडि नै तरलता अभावको समस्या देखिँदै आएको थियो । अहिले कतिपय बैङ्कहरु लोन नै दिन नसक्ने अवस्थामा पनि पुगे । यसको समाधान किन हुन सकिरहेको छैन ?

यो समस्या बैङ्कमा भएको हुँदा सर्वप्रथम सबै बैङ्करहरुले ‘म म’ गर्नुपर्छ । यो आर्थिक वर्षको पहिलो त्रैमासमा जुन रफ्तारमा हामीले लोन दियौं, त्यो गत वर्षभन्दा बढी हो । किन बढी दियौं त भन्दा हामीले अनुमान गर्यौं कि कोभिड पनि पछाडि छ, अगाडि छैन । सरकार पनि सकारात्मकरुपले अगाडि बढ्छ भनेर इन टर्म लोन दियौं । लिक्विडिटी टाइटनेसको एउटा स्रोत म पनि हो भनेर सबैभन्दा पहिले बैङ्करहरुले ‘म म’ गर्नुपर्छ । दोस्रो, सीसीडीबाट सीडीमा परिवर्तन भई विदेशी मुद्रालाई सीडीमा लिन नसकिने अवस्था आयो । तेस्रो, जुन हरेक वर्ष हुन्छ, नेपाल सरकारले पैसा खर्च गर्न सकेन । यो नयाँ चिज होइन, हरेक वर्ष खर्च गर्न सकेको छैन, यो वर्ष पनि खर्च गर्न सकेन । यी तीन कारणले लिक्विडिटी टाइट भएको हो ।

लिक्विडिटी टाइटनेसको एउटा स्रोत म पनि हो भनेर सबैभन्दा पहिले बैङ्करहरुले ‘म म’ गर्नुपर्छ ।

आउने दिनहरुमा लिक्विडिटी राम्रो भएर जान्छ । सरकारले गरेर लिक्विडिटी इन्जेक्ट भइरहेको छ । स्थानीय सरकारको डिपोजिटहरुको अधिकांश बैङ्कहरुले डिपोजिटमा काउण्ट गर्न सक्ने भएको छ । नेपाल सरकारको खर्च पनि बढ्दै गइरहेको छ । यो कारणले गर्दा लिक्विडिटीको सिचुयसन नर्मलाइज हुँदै गएको छ । त्यसकारण एउटा संस्था, एउटा व्यक्ति र क्षेत्रलाई दोष लगाउनुभन्दा पनि योबाट सबैले सिक्नुपर्छ । सबैले यसलाई दोहोरिन नदिन के गर्नुपर्छ भनेर कार्यान्वयन गर्नुपर्छ । प्यानिक हुनुपर्ने अवस्था छैन । योभन्दा बढी मलाई चिन्ता लागेको हाम्रो व्यालेन्स अफ पेमेण्टको अवस्था जुन छ अहिले, त्यसले हो । न पर्यटकहरु आएका छन्, रेमिट्यान्स पनि त्यति बढेको छैन, देशको आम्दानीको मुख्य स्रोतमा नै कमी आएको हुँदा देशको खर्चमा कमी आउनुपर्छ । यसका लागि राष्ट्र बैङ्क, नेपाल सरकारले केही कदम उठाइसकेका छन् । त्यसकारण लिक्विडिटी टाइटनेस बिस्तारै लुज हुँदै जान्छ जस्तो लाग्छ ।

बैङ्कले मात्रै व्याजदर बढाएर अथवा घटाएर हुने कुरा होइन । नेपाल सरकारको नीति, कानुनहरु त्यस्तै बन्नुपर्छ । जुन हाम्रो प्यारालाल इकोनोमी छ, त्यसलाई बिस्तारै कम गर्दै फर्मल इकोनोमीमा तान्दै ल्याउनुपर्यो ।

अझै पनि ठूलो कारोबार बैङकिङ क्षेत्रबाहिर छ भनिन्छ । त्यो सिष्टमबाहिरको पैसा बैङ्किङ सिष्टममा ल्याउन के गर्नुपर्ला ?

बैङ्किङ सिष्टममा ल्याउन कम्प्रिहेन्सिभ रणनीति हुनुपर्छ । पहिले सबैको चाहना अधिकांश हाम्रो इकोनोमी फर्मल इकोनोमी होस् भन्ने हुनुपर्छ । फर्मल इकोनोमी भइसकेपछि आउने दिनहरुमा अधिकांश अर्थतन्त्रका कारोबारहरु फर्मल सेक्टरबाट बैङ्किङ सेक्टरबाट नै हुन्छन् । तर, बैङ्कले मात्रै व्याजदर बढाएर अथवा घटाएर हुने कुरा होइन । नेपाल सरकारको नीति, कानुनहरु त्यस्तै बन्नुपर्छ । जुन हाम्रो प्यारालाल इकोनोमी छ, त्यसलाई बिस्तारै कम गर्दै फर्मल इकोनोमीमा तान्दै ल्याउनुपर्यो । गएका वर्षहरुमा धेरै काम भइसकेका छन् । पहिले जति कम फर्मल इकोनोमी थियो, त्योभन्दा कयौँ गुणा बढी फर्मल इकोनमी रेमिट्यान्सलगायत अन्य कुनै पनि सेक्टरमा आइसकेको छ । अहिले हामी जुन दिशामा हिँडिरहेका छौं, त्यो सही दिशा हो । रफ्तार अलि बढाउन सबैजना सँगै बसेर रणनीतिहरु बनाउनुपर्यो अनि रफ्तार पनि बढ्दै आउँछ । अब हामीले इकोनोमिक, पोलिटिकल, व्युरोक्राटिक इच्छाशक्ति देखाउनुपर्यो । त्यसलाई कार्यान्वयन गर्न सक्यो भने रफ्तार बढ्दै जान्छ । बिस्तारै हामी जुन दिशामा गइरहेका छौं, फर्मल इकोनोमी बढ्दै छ ।

कोभिडको पहिलो र दोस्रो लहरको असर सकिन नपाउँदै तेस्रो लहर देखापरेको छ र यसले बैङ्किङ क्षेत्रमा कस्तो कस्तो असर गर्ला ?

ओमिक्रोन एकदमै सङ्क्रामक रहेछ । हाम्रा कतिपय शाखाका कर्मचारीहरु सङ्क्रमित भएका छन्, जसले गर्दा कतिपय शाखाहरु अहिले बन्द छन् । यसको सकारात्मक कुरा भनेको सङ्क्रमित भए पनि अक्सिजन चाहिने, अस्पताल भर्ना हुनुपर्ने छैन । पाँच–सात दिनमा मानिसहरु सामान्य भएर आउन सक्नुहुन्छ होला । यो वेभलाई हामीले राइज गर्नुपर्छ । यो वेभको पिकमा अधिकांश मानिसहरुलाई सङ्क्रमण भएर अत्यावश्यक सेवाहरु हस्पिटल, बैङ्क, आर्मी, पुलिसहरुमा कसरी प्लान गर्ने भनेर हेर्नुपर्छ । त्यो हामी प्लान गरिरहेका छौं । अर्थतन्त्रमा दोस्रो वेभले निकै प्रभाव पार्यो । त्यो निकै खतरनाक थियो । त्यसबाट हामी बिस्तारै रिकभर भइरहेका छौं । अर्थतन्त्र भनेको व्यक्तिगत इन्ट्युसनभन्दा धेरै ठूलो कुरा हो । यसको क्षमता पनि धेरै ठूलो छ । यसले दिन सक्ने सक्ड पनि हामीले अनुमान गरेको भन्दा धेरै ठूलो छ । हामीलाई गर्भनर सरले हामी कसरी बच्ने र हाम्रा ग्राहकहरुलाई कसरी बचाउने भन्नुभएको थियो । वित्तीय क्षेत्रमा हामीमात्र बचेर हुँदैन । हाम्रा ग्राहकहरु पनि बच्नुपर्छ । ग्राहक बचेनन् भने हाम्रो सर्टटम बचाइमात्र हुन्छ । मिडियम टर्ममा त्यसको नकारात्मक असर गर्छ । त्यसकारण ग्राहकहरुलाई पनि बचाउनुपर्छ र हामी पनि बच्नुपर्छ ।समयबोध म्यागेजिन, माघ २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री