आइतबार, २३ वैशाख २०८१

वाणिज्य बैङ्क र विकास बैङ्कको काम गर्ने एउटै क्षेत्र भए पनि वर्ग फरक छ

समयपोष्ट २०७८ माघ २४ गते १४:२८

Advertisement

पुसदेखि यता तरलता सङ्कट केही कम भएको हो ?

हामीले तरलताको अवस्था पहिलो त्रैमासबाट नै भोग्दै आएका छौँ । पौष महिनाको १५ गतेपछि केही सहजता देखिएको अवस्था छ । सहजता देखिँदै गर्दा पूर्णरुपमा लगानी गर्न सक्ने र ठूलो मात्रामा कर्जा उपलब्ध गराउने अवस्थामा बैङ्क अहिले पनि छैनन् । पहिलेको जस्तो अप्ठ्यारो स्थितिमा अलिकति सहजता आएको छ ।

बैङ्कहरुमा हरेक वर्ष लिक्विडिटी क्रञ्च हुँदै आएको छ । यसको दीर्घकालीन समाधान किन हुन सकिरहेको छैन ?

यो समस्या पहिलो–दोस्रो त्रैमासमा मात्र आउने गर्दथ्यो । कोभिडको पहिलो लहर सुरु भयो । त्यसको बीचमा जति पनि नयाँ उद्योग–व्यवसाय सञ्चालनमा ल्याउने तयारीमा थिए, उनीहरु पर्ख र हेरको अवस्थामा थिए । अहिले पछिल्लो समयमा व्यवसायीहरुले आफ्नो व्यवसायलाई वृद्धि गर्न खोज्ने र आयातमा पनि वृद्धि भएकोले अहिले अलि बढी अप्ठ्यारो देखिएको हो । यसको दीर्घकालीन समाधान भनेको मुलुकमा उत्पादन वृद्धि गर्नु नै हो । जबसम्म उत्पादन बढ्दैन र हामी आत्मनिर्भर हुँदैनौ, तबसम्म हामी अरुमा निर्भर हुनुपर्ने हुन्छ । आयात र निर्यातबीचको ग्यापमा कमी ल्याउन नसक्दासम्म सजिलो हुन्छ भन्न सकिँदैन । यसका लागि उद्योग स्थापना गर्न, उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरेर व्यवसायीहरुलाई त्यता आकर्षित गर्न सके र आयात घटाउन सके सहजता हुन्छ ।

Advertisement

अर्को, नेपाल सरकारकाले बजेटअनुसार खर्च गर्नुपर्ने कुराहरु छन् । बजेट तेस्रो र चौथो त्रैमासमा मात्र बढी खर्च गर्ने र त्यसअघि विकास–निर्माणको काम नहुने गर्दा पनि समस्या आएको हो । भन्सार, आयकरलगायतको पैसा नेपाल सरकारको ढुकुटीमा बसेको कारणले पनि समस्या भएको छ । त्यसमा नेपाल सरकारले पहिलो त्रैमासबाटै कुन–कुन त्रैमासमा कति प्रतिशत पुँजीगत खर्च गर्ने हो ? प्रत्येक मन्त्रालयले योजना बनाएर त्यहीअनुसार अगाडि बढ्यो भने केही सहज हुन्छ ।

हामीले आफूसँग भएको र वर्तमान परिस्थितलाई मध्यनजर नगरी नाफा बढी कमाउने उद्देश्यले भनौँ या व्यवसाय विस्तार गर्नतिर अलि बढी उत्प्रेरित भएको हुनाले यो भएको हो कि ?

यसमा बैङ्कहरुको कति कमजोरी देख्नुहुन्छ ?

बैङ्कहरुसँग भएको लिक्विडिटी, क्यापासिटी नहेरी हामीहरुले कर्जामा बढी सप्लाई गर्यौं। त्यसकारण यस्तो अवस्था आउनुमा हाम्रो पनि भूमिका छ भन्ने कुरा नकार्न सकिँदैन । हामीले आफूसँग भएको र वर्तमान परिस्थितलाई मध्यनजर नगरी नाफा बढी कमाउने उद्देश्यले भनौँ या व्यवसाय विस्तार गर्नतिर अलि बढी उत्प्रेरित भएको हुनाले यो भएको हो कि ? राष्ट्र बैङ्कले २० प्रतिशत कर्जा ग्रोथको लक्ष्य लिएको छ भने प्रत्येक बैङ्कको तीस–चालीस प्रतिशत बढी भएको अवस्था रहन्छ । त्यसकारण हाम्रो पनि कमजोरी छन् जस्तो मलाई लाग्छ ।

बैङ्कहरु परम्परागतरुपमा मात्र चले भन्ने आरोप पनि छ । गरिमा विकास बैङ्कले लगानीका कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ?

अहिले नेपालका बैङ्किङ क्षेत्रमा आईटीदेखि लिएर लगानीका क्षेत्रहरु सबै एउटै मोडलमा चलेका छन् । परम्परागत बैङ्किङ नेपालमा छ भन्ने कुरामा लगानी गर्दा कोल्याटरले नै कोल्याटरमा बढी आधार मानेर लगानी गर्ने भन्ने कुरामा मान्ने हो । अरु क्षेत्रहरु जस्तो– आईटी, टेक्नोलोजी, सर्भिसका कुराहरु गर्ने हो भने बैङ्क–वित्तीय संस्था धेरै आधुनिक भएका छन् । ती क्षेत्रमा परम्परागत कुरालाई छोडेको अवस्था छ । लगानी गर्ने कुरामा हामी थोरै कोल्याटरल बेसमा अलिकति बढी प्राथमिकता दिने कारणले र प्रोजेक्ट बेसमा कम फाइनान्सिङ गर्ने कारणले नेपालका बैङ्क परम्परागत बैङ्किङमा चले भन्ने कुराहरु आउनु स्वाभाविक पनि हो ।

हामीले परम्परागतरुपमा भन्दा पनि बिनाकोल्याटरल उद्यमी बन्न खोज्नेलाई उसको परियोजना कस्तो छ, क्यापासिटी के हो ? त्यो हेरेर गर्ने गरेका छौं । मैले काम गर्छु भन्ने ग्राहकलाई हामीले प्रोजेक्टबाटै फाइनान्स गरेर लगानी गरेका छौँ ।

गरिमा विकास बैङ्कको सवालमा हामी पनि त्यहीँभित्र रहेर चल्ने हो । त्यसमा हामी पृथक छौँ भन्ने अवस्था छैन । हामीले परम्परागतरुपमा भन्दा पनि बिनाकोल्याटरल उद्यमी बन्न खोज्नेलाई उसको परियोजना कस्तो छ, क्यापासिटी के हो ? त्यो हेरेर गर्ने गरेका छौं । मैले काम गर्छु भन्ने ग्राहकलाई हामीले प्रोजेक्टबाटै फाइनान्स गरेर लगानी गरेका छौँ । अन्य बैङ्क–वित्तीय संस्थाभन्दा हाम्रो यो अलि फरक छ । सेवा, प्रविधिको कुरामा गरिमा विकास बैङ्कले कुनै पनि ठूला बैङ्क–वित्तीय संस्थाहरुले उपलब्ध गराएका सेवा–सुविधा हामीले प्रदान गरेका छौँ । हामी बैङ्क–वित्तीय संस्थाहरुको माझमा यो छैन भन्ने अवस्थामा छैनौँ ।

तपाईंहरुले साना–साना संस्थाहरु गाभिरहनुभएको छ । अहिले ठूला वाणिज्य बैङ्कहरु पनि मर्जरमा गइरहेका छन् । गरिमा विकास बैङ्क पनि वाणिज्य बैङ्कमा जाने वा मर्जर गर्ने सम्भावना कत्तिको छ ?

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरु मर्ज हुनुुपर्छ र यसको सङ्ख्या कम हुनुपर्छ भनिरहेको छ । त्यो कुरा वाणिज्य बैङ्कहरुबाटै पनि आएको छ । नेपालमा जति पनि विकास बैङ्कहरु छन्, ती बैङ्कहरु मर्जरमा जानुहुँदैन भन्ने हाम्रो बुझाइ छ । विशेषगरी गरिमाको कुरा गर्दा क्षेत्रीयस्तरका बैङ्कहरु, फाइनान्स कम्पनीहरुलाई मर्ज गर्ने, प्राप्ति गर्ने गरिरहेका छौँ । भोलि पनि हामी त्यो कुरालाई निरन्तरता दिन्छौँ । वाणिज्य बैङ्क वा अन्य कुनै बैङ्कसँग मर्ज गर्ने हाम्रो योजना छैन । हाम्रो बोर्डको धारणा पनि त्यही हो । हामी तत्काल कुनै कानुनले बाध्यता नबनाई अथवा त्यस्तो परिस्थिति नआई मर्जरमा जाँदैनौं ।

कुनै पनि विकास बैङ्कहरु मर्जरको पछि लागेर गएका छन् जस्तो लाग्दैन । राष्ट्र बैङ्कले पनि मर्जरका लागि हामीलाई उत्प्रेरित गरेको अवस्था छैन ।

हामी गरिमा विकास बैङ्ककै रुपमा बलियो भएर अगाडि बढ्छौँ । समयले साथ दियो र राष्ट्र बैङ्कबाट पनि सपोर्ट भयो भने गरिमालाई कर्मसियल बैङ्क बनाउन सकिन्छ भनेर अगाडि बढेको अवस्था छ । हामी अहिले मर्ज भएर विलय हुने अवस्था छैन । अहिले आठवटा राष्ट्रियस्तरका, लगभग आठ–नौवटा क्षेत्रीय स्तरका विकास बैङ्कहरु छन् । कुनै पनि विकास बैङ्कहरु मर्जरको पछि लागेर गएका छन् जस्तो लाग्दैन । राष्ट्र बैङ्कले पनि मर्जरका लागि हामीलाई उत्प्रेरित गरेको अवस्था छैन । यसबाट विकास बैङ्क हुन अहिले पनि आवश्यक छ र रहनुपर्छ भन्ने बुझाइ छ । त्यहीअनुसार नीति, सर्कुलर आउँदा मर्जरसम्बन्धी उत्प्रेरित गर्ने नीति नआएको अवस्था छ । त्यसकारण गरिमामात्रै होइन, अन्य विकास बैङ्क पनि मर्जरमा जान्छन् जस्तो मलाई लाग्दैन ।

विकास बैङ्कहरुले पनि वाणिज्य बैङ्कहरुले जे काम गरिरहेका छन्, त्यही काम गरिरहेका छन् । अब विकास बैङ्कको पहिचान के हुन्छ ?

अहिले विकास बैङ्कको तीन अर्बको पुँजी पुगिसकेको अवस्था छ । धेरै विकास बैङ्कको त पाँच–छ अर्ब पुँजी पुगेको अवस्था छ । काठमाडौँ, पोखरामा बसेर हेर्दा विकास बैङ्क र वाणिज्य बैङ्कले एउटै काम गरेको देखिए पनि तराई र पहाडका ग्रामीण क्षेत्रमा विकास बैङ्कहरुले फरक काम गरेका छन् । विशेषगरी विकास बैङ्कहरुले निम्न र मध्यम वर्गलाई विशेष प्राथमिकता दिएर, यी नै हाम्रा ग्राहक हुन् भन्ने भावनाका साथ काम गरेका छन् । फेरि उच्च वर्गमा लगानी गर्न सक्दैनौँ भनेको होइन । हाम्रो प्राथमिकता त्यहाँ छ । वाणिज्य बैङ्कहरुले राम्रो गरेका छन् तर वाणिज्य बैङ्कहरुले ठूला उद्योगहरु, ठूला व्यवसायमा फोकस गरेर काम गरेका छन् । काम गर्ने एउटै क्षेत्र भए पनि वर्ग फरक छ । निम्न वगलाई विकास बैङ्कहरुले सहयोग गरिरहेका छन् । जलविद्युत, उद्योगलगायतका ठूला कर्जामा विकास बैङ्कको पहुँच कम छ भने त्यहाँ वाणिज्य बैङ्कहरुले कर्जा लगानी गरेका छन् । लगानी दुवैले गरेका छन् तर अलि फरक किसिमको वर्गलाई लगानी गरेका छन् ।

धेरैजसो विकास बैङ्कहरुले नेपाल सरकारले ल्याएको बिनाधितो कर्जा, महिला उद्यमी कर्जालगायतका कर्जालाई जोसँग धितो छैन, जोसँग परियोजना छ, स्किल्ड छ, त्यस्तालाई लगानी गरेको छ ।

सेवाकै कुरा गर्दा विकास बैङ्क र वाणिज्य बैङ्कका बीचमा फरक किसिमको सर्भिस छ । वाणिज्य बैङ्कमा भौचर भर्नेलगायतका काम ग्राहक आफैँले गर्नुपर्ने हुन्छ । नेपालमा सबै लेखपढ गर्न सक्षम नभएको हुनाले विकास बैङ्कको कर्मचारीले ग्राहकहरुको काम पनि गरिदिएको छ । त्यसकारण सेवा, लगानीको क्षेत्र, वर्गको हिसाबले हामी फरक छौँ । धेरैजसो विकास बैङ्कहरुले नेपाल सरकारले ल्याएको बिनाधितो कर्जा, महिला उद्यमी कर्जालगायतका कर्जालाई जोसँग धितो छैन, जोसँग परियोजना छ, स्किल्ड छ, त्यस्तालाई लगानी गरेको छ । त्यसकारण हामी फरक पाउन सक्छौँ ।

ओमिक्रोनले बैङ्किङ क्षेत्रलाई कस्तो असर पार्ला ?

कोरोना भाइरसको असर हरेक पेशा–व्यवसायमा परेको छ । त्यसको असर बैङ्क–वित्तीय संस्थामा पनि रहन्छ । सबै कर्मचारीहरुले खोप लगाए पनि ओमिक्रोनबाट प्रायः सबै सङ्क्रमित बनेको अवस्था छ । कतिपय बैङ्कहरुले ब्राञ्च नै बन्द गरेको अवस्था छ । उद्योग–व्यवसाय चलेन भने यसको असर तीन महिनापछि हामीलाई पर्छ । असुली, डिपोजिटमा हामीलाई असर पर्छ । त्रैमासको अन्त्यमा चैत्र मसान्त, असार मसान्तमा त्यसको असर देखिन्छ । उद्योग–व्यवसाय सञ्चालन नभएपछि व्यवसायीले पैसा तिर्न सक्दैनन् । त्यसको असर यतातिर पर्छ । पहिले कोरोना भाइरस सङ्क्रमण भयो भने के–के न हुन्छ भन्ने थियो तर अहिले त्यस किसिमको मानसिकतामा पनि परिवर्तन आएको छ । सुरक्षित भएर काम गर्नुपर्छ भन्ने चेतना पनि मानिसमा आएको छ । यसले पनि केही सहज हुन्छ कि भन्ने मलाई लाग्छ । समयबोध म्यागेजिन, माघ २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री