शुक्रबार, २८ वैशाख २०८१

२५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत्को सुरुङ खन्न सुरु, आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लाग्ने अनुमान

समयपोष्ट २०७८ माघ २४ गते १३:१४

Advertisement

धु्रबसागर शर्मा
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम आइतबारदेखि सुरु भएको छ । दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ ।

प्रवासी म्याग्देलीको मुख्य लगानी रहेको सो आयोजनाका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुने छ । “अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ”, इन्जिनियर रोकाले भन्नुभयो । आइतबारदेखि सुरु भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुआत गर्नुभएको थियो ।

जलविद्युत् आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । “टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौँ, प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागिसमेत अवसर छ”, अध्यक्ष कुँवरले भन्नुभयो । उहाँले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुनेसमेत बताउनुभयो । म्याग्दी खोलाबाट विद्युत् निकाल्न प्रवासी म्याग्देली र स्थानीयवासीको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

मालिका–७ बिम र वडा नं ५ देविस्थान तथा धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

Advertisement

तीस प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा रु पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन हुने विद्युत् बिमको सबस्टसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।

आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचनासमेत तयार भइसकेको छ भने पहिलो र दोस्रो कोराना भाइरसकाका कारण निर्माणमा समस्या भए पनि अहिले जनशक्तिको व्यवस्थापन भएकाले तीव्र गतिमा अगाडि बढेको छ ।

खुल्यो ट्र्याक

महतला भिरको पहरो फोडेर ट्र्याक खोलेपछि पश्चिम म्याग्दीको अत्यन्त दुर्गम मानिएको गुर्जा र लुलाङ गाउँका बासिन्दाको आफ्नै घर गाउँबाट मोटर चढ्ने रहर अब भने पूरा हुने भएको छ ।

जिल्लाको धवलागिरि गाउँपालिका–१ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत महतला भिरमा दुई वर्षको प्रयासपछि ट्र्याक खुल्दा त्यस क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ ।

गुर्जा र लुलाङको विकासका लागि बाधक मानिएको महतला भिरमा ट्र्याक खोल्नका लागि गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट रु दुई करोड, धौलागिरि गाउँपालिकाबाट रु २५ लाख र मालिका गाउँपालिका वडा नं २ लुलाङबाट रु १५ लाख विनियोजन भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दरबाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुसको पहिलो हप्ता ठेक्का लागेको थियो । रु एक करोड ४९ लाख लागत अनुमान गरिएको सो योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादका कारण सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा काम सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुई प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताउनुभयो ।

राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने महतला भिरमा वन कार्यालयको अनुमतिविना सडक निर्माण गर्न लागेपछि मुद्दा परेको थियो । त्यसको छिनोफानो नहोउन्जेलसम्म लुलाङको खोरिया गाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि–२ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताउनुभयो ।

मुना–ढोरपाटन सडकखण्ड लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । महतला भिरको पहरो फुटाएर ट्र्याक खुलेपछि चालू आर्थिक वर्षमा नै खोरिया गाउँसम्म मोटर पुग्नसक्ने भएको छ । सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भएपछि म्याग्दी, बागलुङ, रुकुम, रोल्पालगायतका जिल्लाका हजारौँ सर्वसाधारणलाई सजिलो हुने वडा सदस्य मतिप्रसाद पाइजा बताउनुहुन्छ । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक निकै छोटो र सहज भएको उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धौलागिरिको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि–३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो ।

महतला भिरमा सडक ट्र्याक खुलेसँगै अब लुलाङमा सडक पुगेर गाडी चल्न पाइने लुलाङका ७४ वर्षीय खबहादुर बुढाले बताउनुभयो । अक्करे पहाडमा करिब १०० मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन अझै केही समय लाग्ने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री