शुक्रबार, १४ वैशाख २०८१

रक्षामन्त्री पोखरेलले गरे भारतीय सेनाको हित हुने फाइल स्वीकृत

समयपोष्ट २०७४ फागुन १४ गते १५:३१

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ ।

Advertisement

सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उहाँले पहिलो सो निर्णय गर्नुभएको हो ।

रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिनुभएको थियो । मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।

रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विसं २०१० मा ओखलढुङ्गामा जन्मनुभएका पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिनुभएको थियो । विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उहाँ २२ वर्षका उमेरमा २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी’ को केन्द्रीय सदस्य हुनुभएको थियो । विसं २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)’ को उहाँ संस्थापक केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

विसं २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित उहाँले एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा पनि निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

विसं २०४० मा सिन्धुपाल्चोकमा भएको ‘पिस्कर हत्याकाण्ड’ र त्यसपछि तत्कालीन निरंकुश सरकारको दमनका बेला त्यहाँको पार्टी कामको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको अनुभव सँगाल्नुभएका मन्त्री पोखरेल उद्योगमन्त्री भएकै बेला २०६१ माघ १९ को शाही शासनकालमा बन्दी हुनुभएको थियो । त्यसबेला उहाँले ‘माघ १९’ नामक संस्मरण लेख्नुभयो भने उहाँको ‘पूर्वको रातो तारा’ नामक अर्काे स्मरण कृति पनि प्रकाशित छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामाग्री