शुक्रबार, ७ वैशाख २०८१

सरकारलाई निगरानी गर्न कांग्रेसको छाया सरकार : सबै मन्त्रालयका मन्त्री तोकिने

समयपोष्ट २०७४ फागुन १३ गते १:१४

कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ।निर्वाचनपछि बसेको संसदीय दलको पहिलो बैठकले शनिबार संघीय संसद्को विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेको हो।

Advertisement

आजको अन्नपूर्ण पोष्टमा नवीन झाले यो समाचार लेखेका छन्,
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको संघीय संसद्को विधान पारित गरेको छ। परिमार्जनसहितको उक्त विधान आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने भएको छ। केन्द्रीय बैठकले पारित गरेपछि विधान लागू हुन्छ।

केन्द्रीय स्तरमा सरकारले जे-जति मन्त्रालय गठन गर्छ, त्यसैअनुसार छाया मन्त्रीसमेत चयन गर्ने तयारी कांग्रेसले गरेको छ। छाया मन्त्रीले सम्बन्धित मन्त्रालयको हरेक गतिविधिलाई निगरानी गर्नेछन्। प्रजातान्त्रिक मुलुकमा सरकारका गतिविधि निगरानी गर्न छाया सरकार गठन गर्ने प्रचलन रहेको भन्दै कांग्रेसले त्यसको तयारी गरेको हो।

नेता गगन थापाले प्रतिपक्षी दलले छाया सरकार गठन गर्दै राष्ट्र र जनताप्रति जिम्मेवारी वहन गर्न, विषयगत दक्षता हासिल गर्न र संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको सन्देश दिन दलको विधानमै यस्तो प्रावधान राखिएको बताए। ‘प्रतिपक्षी दलको जिम्मेवार भूमिकाले सत्तापक्षलाई सकारात्मक बाटोमा डोर्‍याउँछ। कांग्रेसको यो निर्णय प्रजातान्त्रिक पद्धतिलाई सहयोग पुर्‍याउनका लागि हो’, उनले भने।

संघीय संसद्सँगै प्रदेशसभामा पनि छाया सरकार गठन गरिने जानकारी थापाले दिए। प्रदेशसभाको विधानमा व्यवस्था नभए पनि प्रदेशमा छाया सरकार बनाउनेबारे शनिबारको बैठकमा एकमत देखिएको उनले बताए। संसदीय दलको विधानमा दलको नेता मात्रै चुनिने व्यवस्था गरिएको छ। उपनेता आवश्यकताका आधारमा नेताले नै चुन्न पाउने प्रावधान राखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा तत्कालीन मन्त्रिपरिषद्ले गरेको तीन जनाको मनोनयनको सिफारिसविरुद्ध वर्तमान सरकारले गरेको सिफारिसलाई अनुमोदन गरेकोमा दुःख जनाएको छ। सिफारिसमा परेका तीनै जनाले आफूहरूको मनोनयनका लागि सर्वोच्च अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। बैठकले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतासाथ सम्पन्न गरेकोमा सभापति देउवासहित नेतालाई धन्यवाद दिएको थियो।

बैठकमा दलको नेता चयनको विषयमा पनि अनौपचारिक कुराकानी भएको बताइएको छ। बैठकमा बोल्ने अधिकांश सांसदले पार्टी निर्वाचनमा पराजय व्यहोरेका कारण सर्वसम्मत रूपमा दलको नेता छान्न आग्रह गरेका थिए। खासगरी पछिल्लो समय सभापति देउवालाई चुनौती दिने गरी दलको नेतामा प्रकाशमान सिंहले सार्वजनिक रूपमै दाबी गरिसकेका छन्।

नेता थापाका अनुसार आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले दलको नयाँ विधान अनुमोदन गरेपछि नेता चयन प्रक्रिया अघि बढ्नेछ। दलको नेता सर्वसम्मत नभए निर्वाचनमार्फत छानिनेछ। कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ गरी ७६ सांसद छन्। सभापति देउवाको पक्षमा ४० जनाजति सांसद रहेकाले निर्वाचनमा गए उनी नै नेता चयन हुने कांग्रेसीहरू बताउँछन्।

महामन्त्री शशांक कोइरालाले सभापतिले समर्थन गरे आफू दलको नेता बन्ने तर प्रतिस्पर्धामा नउत्रने बताएका छन्। देउवाले महामन्त्री कोइरालालाई समर्थन नगरेको खण्डमा पौडेल समूहको तर्फबाट सिंहले उम्मेदवारी दिने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री