मंगलबार, ६ चैत २०८०

१० चित्रमा हेर्नुहोस् सुनकोशी सम्पदा कला साहित्य यात्रा

समयपोष्ट २०७४ फागुन ५ गते १४:३४

धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ ।

Advertisement

सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदिप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको थियो ।

जागरणकवि धरणीधर कोइरालाको १२६औं जन्मजयन्तीका अवसरमा आयोजित सो सम्पदा कलायात्रा कुशेश्वर दुम्जाबाट सुरु भएको थियो । माघ २४ गते सुरु भएको कलायात्राका क्रममा पाँच जना कलाकारहरुले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर, मानेका साथै पुराना बजार, वस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए । चित्रमा पुनःनिर्माणको वर्तमान अवस्थालाई समेत देख्न सकिन्छ ।

प्रदर्शनीलाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना, विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको अवस्था नाजुक रहेको र यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने बताए । यात्राको संयोजन पुस्तकालयका अध्यक्ष श्रेष्ठले गरेका थिए । कलायात्रामा कलाकार सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, अनिल खड्का तथा मूर्तिकार राजेन्द्र देशार सहभागी थिए ।

कुशेश्वर दुम्जा, बालुवाटारस्थित देवीस्थान माध्यमिक विद्यालयमा धरणीधर कोइरालाको १२६औँ जन्मजयन्ती मनाइएको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष दीपक विहीन र कुशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद कोइरालाले रंग र क्यानभास हस्तान्तरण गरेर कला यात्राको सुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री