शुक्रबार, १६ चैत २०८०

देउवाले देशवासीको नाममा गरेको सम्बोधनको पुर्णपाठ यस्तो छ –

समयपोष्ट २०७४ फागुन ३ गते ८:१५

भीष्मराज ओझा 

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको बताउनुभएको छ ।

देशवासीको नाममा आज सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई म बधाई एवं धन्यवाद ज्ञापन गर्दछु ।”

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा संविधानअनुसार तीनै तहका निर्वाचन सम्पन्न गराउने प्रमुख प्रतिबद्धताका साथ गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमा चौथो पटक मुलुकको ४०औँ प्रधानमन्त्री बन्नुभएको थियो । देशवासीका नाममा सम्बोधनपछि आजै उहाँले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले भन्नुभयो, “मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रुपमा आमसहभागितामा निर्वाचन गराउने मेरा प्रतिबद्धता पूरा गरेको छु । संघीयता कार्यान्वयनका लागि नयाँ ऐनहरु, प्रशासनिक पुनःसंरचनाअनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु ।”

प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत छ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौँ ।

यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशीला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई म हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु । साथै, यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनका प्रातंस्मरणीय शहीदहरु र अग्रज नायकहरुलाई स–सम्मान स्मरण गर्न चाहन्छु ।

मेरो चुनौतीपूर्ण कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने मन्त्रिपरिषद्का सदस्य, उच्च ओहदाका नीतिनिर्माता, राष्ट्रसेवक कर्मचारी, संवैधानिक अंगका पदाधिकारीहरु, सुरक्षा निकाय, सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, सरकारलाई समर्थन गर्ने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनीतिक दलका नेता एवं कार्यकर्ता, सञ्चारकर्र्मी, नेपाल र नेपालीका शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

जनताले चुनेका जनप्रतिनिधिको संविधानसभाबाट संविधान निर्माण गर्ने उद्देश्यका साथ जननायक बिपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभयो । क्रान्तिको सफलतापछि संविधानसभाको निर्वाचन गर्ने कार्यमा अवरोध सिर्जना गरियो । तथापि आदरणीय नेता सुवर्ण शमशेरको नेतृत्वको सरकारले २०१५ सालमा पहिलो आम निर्वाचन सम्पन्न ग¥यो । जनताको अत्यधिक मतसहित बिपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।

दुर्भाग्यवश, त्यसको केही समयपछि नै २०१७ सालमा आधुनिक नेपालको यात्रा रोक्न प्रजातन्त्र समाप्त गर्दै निर्दलीय पञ्चायती शासन थोपरियो । विसं २०४६ मा सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा संयुक्त जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भयो । त्यसको एक वर्षभित्र प्रजातान्त्रिक संविधान र संसद्को निर्वाचन सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सम्पन्न भयो ।

माओवादी सशस्त्र विद्रोहको बहानामा निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरेर फेरि प्रजातन्त्र खोसियो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको युगान्तकारी जनआन्दोलनबाट हिंसाको अन्त्य भयो, शान्ति प्रक्रियाको थालनी भयो र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्यका साथ २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भयो ।

संविधान निर्माण गर्न नसकी पहिलो संविधानसभा विघटित भएपछि हामी सबैको सुझबुझबाट २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । आदरणीय नेता सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाले २०७२ सालमा नेपालको संविधान निर्माण ग¥यो ।

संविधान निर्माणपश्चात् पनि केही कुरामा असहमत भएर लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट अलग भएका राजनीतिक दललाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधारमा समाहित गर्नुपर्ने काम बाँकी थियो । संविधान निर्माणलगत्तै बनेको सरकारले त्यो काम गर्न सक्ने अवस्था थिएन । त्यसैले हामीले संविधानलाई सर्वस्वीकार्य बनाउने ठोस प्रतिबद्धतासहित नयाँ बाटो खोजी गरेर स्थानीय तहको निर्वाचन शुरु ग¥र्यौं । पहिलो दुई चरणका निर्वाचन सम्पन्न भए । प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन गर्ने काम बाँकी थियो ।

राजनीतिक सहमतिका साथ सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनु पर्ने थियो । यस्तो अवस्थामा मेरो नेतृत्वमा नयाँ सरकार गठन भयो । सबै दलहरुको सहभागितामा प्रदेश नं २ को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन सफल भयौँ ।

स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा निर्वाचित निकायको गठनबाट हामी सबैको चाहना बमोजिम समृद्ध नेपाल निर्माण अभियानका लागि मजबुत लोकतान्त्रिक आधारशीला निर्माण भएको छ ।

बिपी कोइरालाको प्रेरणाबाट २०२२ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिँदा त्यसबेलाको युवक शेरबहादुर देउवालाई संविधानसभाबाट संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने बिपीको सपना पूरा गर्ने अभियानको संविधान कार्यान्वयन चरणको नेतृत्व म आफैँले गरौँला भन्ने लागेको थिएन ।

नेपालको अत्यन्त बिकट डडेल्धुरा जिल्लामा जन्मेको, ५० वर्षभन्दा लामो राजनीतिक यात्रामा करिब नौ वर्ष जेल जीवन बिताएको व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको छ । नेपालको सबैभन्दा पुरानो र जनताको प्रिय पार्टी नेपाली काँग्रेसको सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि अब मेरो बाँकी जीवन समर्पित रहनेछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संविधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रुपमा आम सहभागितामा निर्वाचन गराउने मेरा प्रतिबद्धताहरु पूरा गरेको छु । संघीयता कार्यान्वयनका लागि नयाँ ऐनहरु, प्रशासनिक पुनःसंरचनाअनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तीव्रता दिएको छु ।

मेरो सरकार निर्माण भएदेखि नै निर्वाचनका कार्यमा लागिराख्नु पर्ने र यससम्बन्धी आचारसंहिता पालना गरिरहनु पर्ने भएकाले पनि विकास निर्माण कार्यलाई चाहे जति तीव्र गतिमा अघि बढाउन सकिने थिएन । तैपनि ठूला पूर्वाधारहरुको निर्माणमा सरकारले उल्लेख्य प्रगति गरेको छ ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने र काठमाडौँ–तराई–मधेश द्रुत मार्गको निर्माण कार्य नेपाली सेनाले तदारुकताका साथ अघि बढाउँदै छ । काठमाडौँ उपत्यकामा हिमालको पानी ल्याउने किशुनजीको सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको छ ।

यो सरकारले विशेष महत्वका साथ अनुगमन गरेको अरुण तेस्रो र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी मार्ग र पोखरा क्षेत्रीय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो छ ।

केही दिनअघिमात्र मैले दार्चुलामा ३० मेगावाटको चमेलिया विद्युत् आयोजना र जुम्लामा ३०० शय्याको आधुनिक अस्पतालको उद्घाटन गरेँ ।

अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज आयोजनाअन्तर्गत इतिहासमै सबभन्दा ठूलो अनुदान सम्झौतामा यो सरकारले हस्ताक्षर गरेको छ । तदनुरुप रु ५० अरबको लागतमा ३०० किलोमिटर जति उच्च भोल्टेजको प्रसारण लाइन बन्ने र सडक सुधार गर्ने कार्य हुनेछ । गरिबी निवारणका लागि गरिबी निवारण कोषलाई प्रभावकारी बनाइएको छ । समृद्ध नेपालको हाम्रो यात्रामा यो महत्वपूर्ण आधार हुने विश्वास मैले लिएको छु ।

राष्ट्रिय स्वार्थ र जनताको सर्वोत्तम हितलाई केन्द्रबिन्दुमा राखी परराष्ट्र नीति सञ्चालन भएको छ । छिमेकी मुलुक भारत र चीन र अन्य मित्रराष्ट्रहरुसँग पञ्चशीलको सिद्धान्तमा आधारित रही सम्बन्ध सुदृढ गर्ने र सहयोगको क्षेत्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता हो ।

हाम्रा दुई विशाल छिमेकीहरु भारत र चीनसँगको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई मेरो कार्यकालमा थप विश्वसनीय र सम्मानमा आधारित बनाइएको छ ।

गत भदौमा मैले गरेको मित्रराष्ट्र भारतको राजकीय भ्रमणले हाम्रो सम्बन्धमा आपसी समझदारी र विश्वासलाई अझ प्रगाढ बनाएको छ । छिमेकी मित्रराष्ट्र भारत र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरुबाट आपसी सहयोगका क्षेत्र थप विस्तार भएका छन् ।

पारस्परिक सहयोगका आयामहरुलाई नयाँ दिशामा लगिएको छ । हाम्रो विकासमा साझेदार अमेरिका, बेलायत, जापान, युरोपियन मुलुकलगायत अन्तर्राष्ट्रिय समुदायका सबै मित्रराष्ट्रहरुसँग आपसी सम्बन्धलाई सदृढ बनाउन हामी प्रयत्नरत रह्यौँ । म उहाँहरु सबैको सद्भाव, सहयोग र समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

मेरो कार्यकालमा संयुक्त राष्ट्र संघमा नेपालको प्रभाव र भूमिका विस्तारित भएको छ । मानव अधिकार परिषद्को सदस्यमा अधिकतम मतसहित नेपाल निर्वाचित भयो । अति कम विकसित मुलुकहरुको दर्जाबाट स्तरोन्नति हुने राष्ट्रसंघीय प्रक्रियामा गम्भीर तयारीका साथ नेपाल सहभागी भएको छ । सन् २०३० भित्र दिगो विकासका लक्ष्य प्राप्तिका लागि रणनीतिक रोडम्याप तयार गरिएको छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

लामो संक्रमण, भूकम्प र नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्र तंग्रिन थालेको छ । आर्थिक वृद्धिदरले स्थिर गति लिएको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । राजश्व संकलन लक्ष्य मुताविक नै छ । स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक रुपमा वृद्धि भएको छ । पर्यटकको आगमन वार्षिक १० लाख छुने क्रममा छ । विप्रेषणमा निर्भरता र बढ्दो व्यापार असन्तुलनलाई कम गर्न उत्पादन र रोजगारी वृद्धि गरी आर्थिक सुधारहरुको प्याकेजमा गृहकार्यको थालनी भएको छ ।
मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेष गरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृति नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ ।

जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन । यसका केही आधारभूत पक्षहरु छन्, जसमाथि सम्झौता गर्न सकिन्न । मलाई विश्वास छ, आगामी सरकारले यसलाई अन्यथा गर्ने छैन ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपालीहरुको हिस्सा घटिरहेको भए तापनि असमानता र जोखिममा रहेका नेपालीहरुको समस्या अझै पेचिलो नै छ । त्यसैले लोक कल्याणकारी राज्यको मर्मअनुरुप जीवनचक्रका जोखिमपूर्ण चरणहरुमा राज्यले आफ्ना नागरिकलाई बलियो सुरक्षा कवच प्रदान गर्न सरकारले ठोस पहल गरेको छ ।

नेपालका ५० भन्दा बढी जिल्लामा औसत आयु ७० वर्षभन्दा कम छ । यस्तो अवस्थामा ७० वर्षबाट घटाई ६५ वर्षभन्दा माथिका हाम्रा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप जीविकोपार्जनमा सहयोग पु¥याउन राज्यले भत्ता दिने निर्णय गरेको हो । अनिवार्य स्वास्थ्य बीमा ऐनको कार्यान्वयन सँगसँगै क्यान्सर, मिर्गाैला र स्पाइनल इन्जुरीलगायत जटिल प्रकृतिका दीर्घ रोगीलाई आजीवन मासिक पाँच हजार जीवन निर्वाह भत्ता दिने भएको छ । वर्तमान सरकारले मुलुकी ऐनलाई समयसापेक्ष बनाएको छ ।

विविध चुनौतीका बाबजुद भूकम्पपछिको पुनःनिर्माण अभियानले गति लिएको छ । पुनःनिर्माण प्राधिकरणको निर्धारित पाँच वर्षे कार्यकालको मध्यावधिमा निजी आवास अनुदान सम्झौता गर्नेहरुमध्ये झण्डै ६० प्रतिशतले घर निर्माण सम्पन्न गरेका वा गर्ने क्रममा छन् ।

भूकम्पले पहाडमा पु¥याएको दुःख जस्तै यसै वर्ष आएको बाढीले तराई मधेशका जनतामा ठूलो क्षति पु¥याएको छ । तत्काल उद्धार र राहत दिँदै यो सरकारले विधिवत् आवश्यकताको आँकलन गरी दीर्घकालीन कार्य योजना ल्याएकोे छ ।

बाढीपछिको पुनरुत्थान अनुदानसहित संस्थागत रुपमै अघि बढाउन पुनःनिर्माण प्राधिकरणमा विशेष एकाइ गठन गरिएको छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

लोकतन्त्रलाई आस्था नभई साधनका रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्छ ।

विविध जातजाति, भाषाभाषी, क्षेत्र, धर्म र समुदायबीचको सम्बन्धलाई एउटै मालामा गाँसेर हामी राष्ट्रियतालाई थप मजबुत बनाउन चाहन्छौँ । मौलिक अधिकार, सामाजिक न्याय र आर्थिक प्रगति लोकतान्त्रिक व्यवस्थाभित्र नै सम्भव हुन्छ र अहिंसा लोकतान्त्रिक पद्धतिको अभिन्न अंग हो भन्ने नेपाली काँग्रेसको मान्यता विभिन्न वाद र पथ अँगाल्ने सबैका लागि स्वीकार्य बाटो बनेको छ ।

मैले धैर्य नगरेको भए, संविधानप्रति असन्तुष्ट दललाई राजनीतिक मूलधारमा ल्याउन अनवरत प्रयत्न नगरेको भए संक्रमणकाल टुंगिने थिएन । बल प्रयोग गरेर निर्वाचन गरेको भए प्राविधिक रुपमा संक्रमण त सकिने थियो होला तर मुलुक फेरि हिंसा र अस्थिरताको दुष्चक्रमा फस्ने थियो ।

म चाहन्थे काठमाडौँले मात्रै होइन तराई–मधेस, हिमाल–पहाडले पनि संविधानमा आफ्नो प्रतिबिम्ब देखोस् । समग्र राष्ट्रले नै राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धिको युगमा मुलुक प्रवेश गरेको अनुभूत गरोस् ।

अब,

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रियसभा पनि निर्वाचन भइसकेको छ । एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्दै प्रतिनिधिसभामा समानुपातिकतर्फको सांसदहरुको नामावली सिफारिश गर्ने कार्य सकिएको छ । सरकारको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि नामसमेत सिफारिश भइसकेको छ । प्रदेश प्रमुखहरु नियुक्त भइसकेका छन् । केही प्रदेशमा सरकार निर्माणको प्रक्रिया अघि बढिसकेको छ । बाँकी प्रदेशमा केही दिनमै सरकार निर्माण र प्रदेशसभा नेतृत्व चयन गर्ने कार्य पूरा हुनेछ ।

संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने मेरो जिम्मेवारी पूरा भएको छ । नयाँ संघीय सरकार निर्माण गर्ने चरणमा हामी पुगेका छौँ ।

यसका लागि मैले आजैको मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु । तर, सरकारको नेतृत्वमा नरहे पनि जनताको सुःखदुःखमा मेरो पार्टी र म सदा सर्वदा क्रियाशील रहने छाँै । नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा हाम्रो निष्ठापूर्ण प्रतिबद्धता रहने छ ।

अब बन्ने नयाँ सरकारलाई दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरी हितमा काम गर्न सफलता मिलोस्, मेरो यही शुभकामना छ ।

जय नेपाल ।
–––

प्रतिक्रिया

सम्बन्धित सामाग्री