शुक्रबार, १६ चैत २०८०

वाणिज्य बैंकलाई जस्तै सुविधा नदिएसम्म विकास बैंक स्थानीय तहमा जान सक्दैनन् : डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालको अन्तर्वार्ता

समयपोष्ट २०७४ माघ २८ गते ४:१८

मुक्तिनाथ विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड पुगेको छ । राष्ट्र बैंकले २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएकोमा हाम्रो त्योभन्दा बढी चुक्ता पुँजी पुगेको छ । अहिले १९ अर्ब कर्जा लगानी छ भने करिब २१ अर्बभन्दा बढी निक्षेप संकलन भएको छ । हाम्रा ७४ वटा शाखा र करिब ४ सय ग्राहकहरू छन् । हामी यस आर्थिक वर्षमा १ सय शाखा पुर्याउने योजनासाथ काम गरिरहेका छौं । अहिले ८ सयभन्दा बढी कर्मचारीहरूले रोजगार पाइरहेको अवस्था छ । यसको निष्क्रिय कर्जा ०.०२ प्रतिशत रहेको छ । समग्र बैंकको वित्तीय आँकडा राम्रो छ । पौष १९ गते हामीले १२औँ वार्षिक उत्सव पनि मनायौँ भने ११औँ वार्षिक साधारणसभा पनि सम्पन्न गरिसकेका छौँ । हाम्रा सबै वित्तीय डाटाहरू राम्रा छन् ।

तपार्इंहरूले राष्ट्र बैंकले तोकेको पुँजीभन्दा बढी चुक्ता पुँजी पुर्याउनुभएको छ । बढेको पुँजीअनुसार व्यवसाय बढाउने प्रेसर कत्तिको छ ?

अन्य राष्ट्रियस्तरका विकास बैंकहरूले पुँजी वृद्धिसँगै मर्जर याक्विजिसन पनि सँगसँगै लिएर गए भने हामीले पुँजी वृद्धिका लागि हकप्रद र बोनस सेयर जारी गर्ने योजना अपनायौँ । जसकारण अन्य विकास बैंकभन्दा मुक्तिनाथलाई व्यवसाय वृद्धि गर्नका लागि चाप परेको अवस्था छ । यसका लागि हामीले यो वर्ष अलि बढी शाखाहरू खोल्ने योजना बनाएर काम अघि बढाएका छौं । स्वाभाविक रूपमा नेपालको विकास बैंकमा मात्र नभएर वित्तीय बजारमा नै व्यवसाय वृद्धिको अत्यन्तै चाप बढेको अवस्था छ ।

अहिले तरलताको समस्या दखिएको छ, तपाईंहरूलाई कत्तिको समस्या परेको छ ?

तरलता समस्या बाहिर मिडियामै आएजस्तो हामीहरूलाई छैन । खासगरी अहिले तरलता देखिनुको मुख्य कारण भनेको बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह अलि बढी नै भएर हो । अहिलेसम्म नेपालको इतिहासलाई हेर्ने हो भने निक्षेप संकलनका लागि रेमिट्यान्स प्रमुख कारण थियो । पछिल्लो समयमा रेमिट्यान्स घट्दै जाँदा बैंकहरूमा निक्षेप संकलन कम भएको अवस्था छ । ठूलाठूला निक्षेपकर्ताहरूले ब्याजदरको बार्गेनिङ गरेको कारण अलिकति तरलताको समस्या हो कि भन्ने बाहिर मिडियामा आएको छ । तथापि बाहिर बजारमा तरलताको समस्या देखिएको छ भन्ने जुन छ, त्यो विकास बैंकमा अलि कम छ । विकास बैंकहरूमा साना निक्षेपकर्ता हुन्छन् । साना कर्जाहरू भएको हुँदा त्यति ठूलो दबाब छैन । तर, यदि भोलि यसको राष्ट्र बैंकले सम्बोधन गर्न सकेन भने क्रमशः विकास बैंकमा पनि देखिन सक्छ । तर, अहिले वाणिज्य बैंकको तुलनामा विकास बैंकमा अलि चाप कम छ ।

राष्ट्र बैंकले केही समय अगाडि ब्याजदर करिडोर ल्यायो । अहिले ब्याजदरमा उतार चढाव छ, त्यसले केही समस्या गर्छ ?

पहिलेको तुलनामा ब्याजदर सन्तुलित छ । पहिले बढ्दा निक्षेपको ब्याजदर धेरै माथि पनि पुग्ने र कर्जाको ब्याजदर त्यही अवस्थाले बढ्न सक्ने अवस्था थियो भने अहिले ब्याजदर करिडोरले गर्दा दुवै नियन्त्रित अवस्थामा रहेका छन् । हिजोका दिनमा कर्जाको ब्याज घट्दा एकदम कम रेटमा कर्जा प्रवाह गर्ने, बढ्दा कर्जाको ब्याजदर पनि बढाउने अवस्था थियो अहिले ब्याजदर करिडोरले गर्दा त्यसमा आधा ब्याजदर पनि जोडिएको छ । यता सबै कुरामा सन्तुलित गर्दै गैरहेको अवस्था छ ।

यो बैंकले ११ वर्ष पूरा गरिसकेको छ । अहिले राष्ट्रियस्तरको बैंक बन्नुभएको छ । अब कहिलेसम्म यो बैंक कमर्सियल बैंकमा पुग्ला ?

हामी तीन जिल्ला हुँदै राष्ट्रियस्तरको बैंकमा स्तरोन्ति भएको हो । हाम्रो ११ वर्षको डाटाहरू हेर्ने हो भने यसको बिजनेस ग्रोथ ७० प्रतिशतभन्दा बढीको दरले हुँदै आएको छ । अब अहिले हामीले २ अर्ब ६० करोड पुर्याएका छौं । मलाई लाग्छ– अबको ५ वर्षमा नेपाल राष्ट्र बैंकले तोकेको पुँजी ८ अर्ब हामीलाई पुर्याउन कुनै गाह्रो छैन । त्यससँगै पुँजी मात्र पुर्याएर भएन व्यवसायको आकार पनि त्यहीअनुसार हुनुपर्यो । हाम्रो व्यवस्थापनमा काम गर्ने कर्मचारीहरूको क्षमता पनि त्यहीअनुसार हुनुपर्यो । अन्य वाणिज्य बैंकहरूले जुन प्रविधिहरूको प्रयोग गरेका छन्, ती सबै कुराहरू अबको ५ वर्षभित्र पूरा गरेर राष्ट्र बैंकले त्यतिबेला वाणिज्य बैंक स्तरोन्नतिका लागि ल्याउन सक्ने सर्तहरू त्यो सबै पुर्याउँछौं । मलाई लाग्छ अबको ५ वर्षमा नेपालमा युनिभर्सल बैंक लागू हुन्छ । त्यो क्रममा अहिलेको ऐन पनि संशोधन हुन्छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका लागि लाइसेन्स खुला गर्नुपर्छ र गर्छ । त्यो बेलाको सबै कुराहरू हेर्दा हामी वाणिज्य बैंकमा स्तरोन्नती हुन सक्छौं भन्न्ने लाग्छ ।

तपार्इं विकास बैंकर्स एसोसियसनको अध्यक्ष पनि हुनुहुन्छ । कमर्सियल बैंकहरूले कुन–कुन स्थानीय तहमा बैंकको शाखा विस्तार गर्ने भनेर खाका बुझाइसके विकास बैंक कसरी जाँदै छ ?

यसमा सबैभन्दा ठूलो कमजोरी म सरकारको देख्छु । सरकारलाई देश संघीयतामा जाँदै छ, कहाँ–कहाँ स्थानीय तह हुन्छ भन्ने थाहा थियो । स्थानीय तह स्थापना गर्दा बैंक स्थापना गर्नुपर्छ भन्ने पोलिसीमा थियो भने यी कुराहरू तीन/चार वर्ष अगाडि नै सोचेर प्लानिङ गर्नुपथ्र्यो । अहिले स्थानीय तह स्थापना भए । गत वर्ष अर्थमन्त्रीले बैंकहरूको शाखा पुर्याउनुपर्छ भनेर बजेट भाषणमा कुरा ल्याउनुभयो । विकास बैंकहरू स्थानीय तहमा जान नचाहेको होइन । अहिले पनि कतिपय वाणिज्य बैंक जान नसकेको ठाउँमा विकास बैंक पुगेर सेवा दिएको अवस्था छ ।

अहिले सरकारले स्थानीय तहमा गएबापत वाणिज्य बैंकहरूलाई सरकारको सम्पूर्ण कारोबार गर्न पाउने जुन सुविधा दिन्छ, त्यो विकास बैंकलाई दिएको छैन । ती सबै सुविधा नपाएसम्म विकास बैंक त्यहाँ जान सक्दैन । अहिले जहाँ बैंक छैनन्, त्यहाँ पूर्वाधारलगायतका धेरै कुराहरूमा काम गर्नुपर्ने हुन्छ । सुरक्षा, यातायात, इन्टरनेट, नगद व्यवस्थापनलगायतका कुराहरू जुन सरकारले गर्नुपर्ने हो, त्यो गरेको छैन । बैंक त्यहाँ त्यसै जाने कुरा भएन । शाखा खोल्न के–के चाहिन्छ भन्ने राष्ट्र बैंकले निर्दिष्ट गरेको हुनाले हामी विकास बैंक जान तयार रहेको अवस्था हुँदाहुँदै पनि सरकाले वाणिज्य बैंकसरह हामीलाई मान्यता दिएको छैन । त्यो कुराहरू हामीले विभिन्न ठाउँमा राख्दा त्यसमा अर्थ मन्त्रालय, राष्ट्र बैंक सबै सहमत पनि छन् ।

स्थानीय तहमा वाणिज्य बैंकभन्दा विकास बैंक जाँदा राम्रो हुन्छ । विकास बैंकको नेचर भनेकै सानो सानो कारोबार गर्ने हुन्छ । सानो कर्जा दिने, सानो बचत गर्ने अनि रेमिट्यान्स सुविधा पनि प्रशस्त मात्रामा उपलब्ध गराउने हुँदा विकास बैंक जाँदा त्यहाँको जनताको आवश्यकता पनि पूरा हुन्छ र सरकारी कारोबार पनि हुन्छ । त्यहीँ ठाउँमा ठूला बैंकहरू गए सबै कुराहरू नहुन पनि सक्छ भन्ने कुराहरू राखेका छौं । मलाई लाग्छ– यो आर्थिक वर्षभित्रमा सरकारले ती कुराहरू महसुस गर्छ । सरकारले मसहुस गरेपछि जुन सुविधा वाणिज्य बैंकलाई दिएको छ, त्यो हामीलाई पनि दिन्छ र हामी जान्छौँ ।

बैंकका केही नयाँ योजना छन् कि ?

हाम्रो मुख्य योजना भनेको व्यवसाय वृद्धि गर्ने हो । त्यसका लागि शाखाहरू वृद्धि गर्ने हो । पहिले हामी पश्चिमाञ्चल विकास क्षेत्रमा केन्द्रित थियौँ भने अहिले देशका ठूला स्थानदेखि ग्रामीणस्तरमा शाखा विस्तार गर्ने योजना राखेका छौं । त्यससँगै कर्मचारीहरूका क्षमता वृद्धि गर्ने, सिष्टम अपग्रेड गर्नेलगायतका काम गर्दै छौं । र, समग्र मुक्तिनाथ विकास बैंक नेपाली समाज सुहाउँदो वित्तीय सेवा दिने बैंक हो । हामी गरिब, धनी सबैलाई कर्जा उपलब्ध गराउँछौँ । हाम्रो गाउँदेखि सहरसम्म शाखा रहेको छ । हाम्रो मोडल नेपाली समाज सुहाउँदो भएको हुनाले हामी नेपालभरि काम गर्ने योजनामा छौं र भोलि त्यसरी नै काम गर्छौं । अहिले हाम्रो पहिलो प्राथमिकता भनेको शाखा विस्तार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री