शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्री ओलीले एकसाथ गरे दमक जोडिने चार पुलको उद्घाटन

समयपोष्ट २०७७ फागुन १६ गते १९:०४

Advertisement

झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो ।

उहाँले आज नै कमल गाउँपालिकाको क्याम्पादेखि मङ्गलबारे जोड्ने कमल खोलामा निर्मित पुलको उद्घाटन गर्नुभयो । त्यसपछि उहाँले आफ्नो गृहनगर दमक –१० लाई मोरङको उर्लाबारी जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन गर्नुभयो ।

उहाँले सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थानमा रहेको रतुवा खोलामा निर्मित पुलको समेत उद्घाटन गर्नुभएको छ । अहिले प्रधानमन्त्री ओली चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यासका क्रममा हुनुहुन्छ । शिलान्यासपछि उहाँले कमल– ७ झर्काहा बजारमा आयोजना हुने सभालाई सम्बोधन कार्यक्रम छ ।

त्यहाँको कार्यक्रमपछि दमक– १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने रतुवा खोलामा निर्मित पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीले वैकल्पिक मार्गका रुपमा रहेको मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पुलसँगै पूर्वी खण्डका ३१ पुलको एकैसाथ शिलान्यास गर्नुहुनेछ ।

दमकलाई पालिकासँग जोड्ने काम तीव्र

पछिल्लो समय शहरीकरणका रुपमा विस्तार हँुदै गएको दमकलाई छिमेकी पालिकासँग पहुँच विस्तार गर्न विभिन्न नदी तथा खोलामा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको छ । पूर्वी पहाडी क्षेत्रको केन्द्र बनाउनका लागि अहिले तीनैतर्र्फका नदीमा पुल निर्माण भएपछि अब दमकले विस्तारै विकासमा फड्को मार्ने विश्वास स्थानीयवासीको छ ।
दमक नगरपालिकाका इञ्जिनीयर अनन्त सेनेहाङका अनुसार दमकसँग जोडिने नदी तथा खोलामा सङ्घीय सरकारको बजेटबाट चार पुल निर्माण भइसकेका छन् । पूर्व र दक्षिणमा रतुवा, पश्चिम मावामा गरी पक्की पुल निर्माण भइसकेका छन् भने आधा दर्जन अझै राष्ट्रिय योजनाका विभिन्न परियोजना निर्माणका क्रममा छन् । मुख्य गरी केही महीनाअघि मात्र दमक जोडिने चारैतिरका नदीमा पुल निर्माण भएपछि उत्तरी मोरड, दक्षिणी इलाम र दक्षिणी झापाका सर्वसाधारणको केन्द्रका रुपमा सो नगर विकास हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै ती सबै पुल शिलान्यास गरिएको थियो ।

वर्षौंदेखि पुलको अभाव झेल्दै आएका इलाम, चुलाचुलीबासीलाई पक्की पुल निर्माण भएपछि दमकसँगको सम्बन्ध नजीक भएको छ ।
बर्खामा विद्यालय जान र बजार भर्न लागिसमेत रतुवा नदीको बाढीका कारण समस्या झेल्दै आएका बासिन्दालाई पुल निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि दमकसम्म आवतजावतमा सुविधा पुगेको स्थानीय युवासमेत रहनुभएका पुल रेखदेख समितिका उपाध्यक्ष सुवास आङथोपोले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण भएपछि चुलाचुलीबासीले धेरै राहत महसुस गरेका छन्, चुलाचुलीले विस्तारै काँचुली फेर्न थालेको छ ।”
दुई सय मिटर लामो सो पुल रु १५ करोड ६८ लाख २१ हजार २५० को लागतमा निर्माण भएको हो । यस्तै दमक–राजघाट, दमक–कमल र दमक–गौरादह जोड्ने गरी मावा र रतुवा नदीमा पुल निर्माण गरिएको छ । दमक– १० सेतुमारीदेखि गौरादह– ५ बालुबथान जोडिने ३०० मिटर लामो रतुवा खोलामा रु ३३ करोड ५२ लाखका लागतमा पुल निर्माण भएको हो । पुल निर्माणपछि साविकका महारानीझोडा, कोहबरा र खजुरगाछीका बासिन्दालाई दमकसम्म आउन सीधा र सहज आवागमनमा सुविधा पुग्ने दमक– १० का वडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो ।

गौरादह, बालुबथानका बासिन्दासमेत रहनुभएका नेकपा क्षेत्र नं ५ का अध्यक्ष मदन अधिकारीले पुल निर्माणपछि बालुबथानबाट दमक र उर्लाबारीसम्म आउनजानका लागि सहज हुने जनाउनुभयो । सो पुलमा प्रस्तावित चीन नेपालमैत्री औद्योगिक पार्क क्षेत्र निर्माणपछि झनै चहलपहल बढ्ने बताउनुभयो । मुख्य उद्योग गौरादह र कमलमा रहने भएपछि दमकसम्म आउन र सामान ढुवानी गर्न सो पुल निर्माणसँगै यस क्षेत्रका सडक वैकल्पिक रुपमा प्रयोगमा आउने उहाँको भनाइ छ ।

बालुबथानदेखि मोरङको उर्लाबारीको राजघाट जोड्ने गरी ११ मिटर चौडाइ तथा ४०० मिटर लम्बाइको पुल निर्माण पनि सकिएको छ । शर्मा–एपेक्स जेभी काठमाडौँले रु ५० करोड २० लाख दुई हजार २०० को लागतमा पुल निर्माण गरेको हो । त्यस्तै दमकलाई मोरङको मधुमल्ला जोड्ने मावामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल निर्माण भएको र त्यसको लागत रु ३० करोड २२ लाख ९१ हजार ७५० रहेको जनाइएको छ ।

मावा खोलामै दमक– १० सेतुमारीदेखि मोरङको उर्लाबारी नगरपालिका– ९ राजघाट नै जोड्ने गरी ७५ दशमलव ४५ मिटरको पुल निर्माण सकिएको छ । जिल्ला समन्वय समिति झापाको लगानीमा निर्मित पुलसँग जोडिने बाटो नभएका कारण प्रयोगविहीन भएको थियो । मावाखोलामै रु चार करोड २१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

दमकदेखि उर्लाबारी नगरपालिकास्थित आमबाडी जोड्ने गरी पनि मावा खोलामा अर्को पुल निर्माण भएको छ । एघार मिटर चौडाइ र २०० मिटर लम्बाइको पुल निर्माणको लागत रु २२ करोड ८७ लाख ५० हजार छ । मावा र रतुवा नदीबीचमा रहेको पुल निर्माण भएपछि दमक मोरडका ग्रामीण बजारको केन्द्रका रुपमा विकास हुने स्थानीयवासी नवराज न्यौपानेले बताउनुभयो । वर्षेनी पुल नहुँदाको सास्ती भोग्दै आएका स्थानीय बासिन्दाले अब राहत महसुस गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री