शनिबार, १५ वैशाख २०८१

प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने

RSS २०७६ फागुन १३ गते १७:५७

Advertisement

विराटनगर महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश नं.१ को सभामुख प्रदीपकुमार भण्डारीलाई प्रदेशको संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा उपलब्ध गराउने सम्बन्धमा आज ज्ञापनपत्र बुझाउनुभएको छ ।

प्रदेश सरकार निर्माण भएको दुई वर्ष बितेको छ र प्रदेशसभा अहिले जिल्ला समन्वय समितिको कार्यालय सञ्चालन भइरहेको अवस्थामा नयाँ संरचना बनाउन महानगरपालिकाले जग्गा उपलब्ध गराउने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रदेशको राजधानी सुहाउँदो न्यूनतम आधारभूत सुविधासहितको आधुनिक र समृद्ध शहर निर्माणको दूरदृष्टिका साथ महानगरपालिकाले भौतिक पूर्वाधार, सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको योजनाबद्ध निर्माणका लागि जग्गा उपलब्ध गराउने ज्ञापनपत्रमा उल्लेख छ । प्रदेश सरकारको योजनाअनुरुप आवश्यक पर्ने जग्गा महानगरपालिकाले खरिद गरेरसमेत उपलब्ध गराउन सकिने नगर कार्यपालिकाको बैठकबाट निर्णय भइसकेको जनाइएको छ । “नगरपालिकाभित्रमा रहेका सार्वजनिक जग्गामध्ये कुन जग्गा प्रदेशसभाका लागि उपयुक्त हुन्छ, त्यो उपलब्ध गराउने छ”, ज्ञापनपत्रमा भनिएको छ, “विराटनगर महानगरपालिकाले एक वर्षको बजेटसमेत खर्च गर्न नगर कार्यपालिकाले सहमति जनाएको छ ।”

सभामुख प्रदीपकुमार भण्डारीले ज्ञापनपत्र ग्रहण गर्दै विराटनगर महानगरपालिकाको गम्भीरतालाई प्रदेशसभाले सम्मान व्यक्त गरेको बताउनुभयो । उहाँले प्रदेशसभाको सभा सञ्चालन गर्न हल अभाव रहेकाले तत्काल हल मात्र बनाउन प्रदेश सरकारलाई आग्रह गरिसकेको बताउँदै सहयोगी भावना लिएर आएको विराटनगर महानगरपालिकाको प्रतिबद्धताले प्रदेशसभालाई ऊर्जा मिलेको छ भन्नुभयो ।

उहाँले विराटनगर महानगरपालिकाको आग्रहलाई प्रदेश सरकारसँग सहकार्य गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशसभाको भवन बन्दा प्रदेशसभा सदस्यका लागि आवास पनिसँगै निर्माण हुने जानकारी दिनुभयो । प्रदेशसभाको संरचना निर्माण गर्न तत्काल कति जग्गा आवश्यक पर्ने जिज्ञासामा सभामुख भण्डारीले यसको गृहकार्य भइरहेकाले तत्काल भन्न नसकिने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेशसभा भवन, मन्त्रालय आवास तथा अन्य संरचना निर्माणका लागि प्रदेश सरकारले महानगरपालिकालाई दिने जुनसुकै भूमिका पूरा गर्न सदैव प्रतिबद्ध रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री