आइतबार, २३ वैशाख २०८१

स्वास्थ्य बिमा सरकारले गर्ने होइन, बिमा कम्पनीहरु मार्फत हुनुपर्छ

नेपाल विमक सङ्घका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका सीईओ चङ्की क्षेत्रीको अन्तर्वार्ता

समयपोष्ट २०७६ फागुन १२ गते ११:४६

Advertisement

निर्जीवन बिमा क्षेत्रको अवस्था कस्तो छ ?

निर्जीवन बिमा क्षेत्र दिन प्रतिदिन बढ्दै गइरहेको छ । मानिसमा जनचेतना बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा सरकारले अनुदान दिन थालेपछि ग्रामीण क्षेत्रमा पनि राम्रो भइरहेको छ । समग्रमा निर्जीवन बिमाको वृद्धि ठिकै छ । विकासका पूर्वाधारका कुरा पनि आइरहेका छन् । विकास निर्माण र पूर्वाधारमा काम हुन थालेपछि आर्थिक क्रियाकलाप बढ्छन् र बिमाको दायरा पनि बढ्छ । अहिले पनि कभरेज गर्नुपर्ने ठाउँ धेरै छन् । अरू देशमा पनि मानिसले बिमा स्वस्फूर्त रूपमा गर्दैनन् । त्यो शिक्षाकै कमीले गर्दा भएको हो । यहाँ तेस्रो पक्ष बिमा भने जस्तो विकसित देशमा पनि सुरुवातका दिनमा अनिवार्य नै गरिएको थियो । कृषिमा सरकारले अनुदान दिँदा त अहिले हामी सबै ठाउँमा पुुग्न सकेका छैनौँ । बिमाको क्षेत्रमा सरकारले पहल लिएर जनतामा सचेतना जगाए सरकारको दायित्व पनि घट्छ । पछि भूकम्प जस्तै विभिन्न प्राकृतिक जोखिम नआउलान् भन्ने छैन । त्यो घाटा बचाउन बिमाको दायरा निरन्तर बढाउँदै लैजानुपर्छ । त्यसकारण बिमा अनिवार्य गर्न ज्यादै जरुरी छ । नेपालमा तेस्रो पक्ष बिमा छ, तर त्यो पूर्णरूपमा भएको छैन । न्यूनतम ३५ देखि ४० लाखको हाराहारीमा सवारी साधन रजिस्टर्ड छन् । हामीले हेर्दा सात लाख जतिको मात्र बिमा पोलिसी छ । समग्रमा १३ लाख होला, त्यसले गर्दा सरकारी राजस्वसमेत कम आएको छ । फुल फेजमा काम हुने हो भने राजस्व, रोजगारी पनि बढ्थ्यो साथै जनताको दुर्घटनाको जुन जोखिम छ त्यो पनि कभर हुने थियो ।

बिमा अनिवार्य गर्न ज्यादै जरुरी छ । नेपालमा तेस्रो पक्ष बिमा छ, तर त्यो पूर्णरूपमा भएको छैन । न्यूनतम ३५ देखि ४० लाखको हाराहारीमा सवारी साधन रजिस्टर्ड छन् । हामीले हेर्दा सात लाख जतिको मात्र बिमा पोलिसी छ ।

 

Advertisement

बिमा अझै पनि करकाप र अनिवार्य गरिएका क्षेत्रमा मात्र हुने गरेको छ, सरकारी संरचनाकै बिमा भएको छैन, बिमाको महत्व सरकारले नै नबुझेको हो ?

सरकारले नै बुुझेन भन्नु उचित होला किनभने नीति निर्माण गर्नेले नै पहिले बिमाको महत्व बुझ्न जरुरी छ । आर्थिक क्रियाकलापमा बिमा मेरुदण्ड नै हो । अर्थतन्त्र जति चल्छ त्यसलाई सपोर्ट र सुरक्षा दिने भनेको बिमाले नै हो । यो कुरा पोलिसी मेकरले बुुझ्न जरुरी छ । सरकारले आफ्नै सम्पत्तिको सुरक्षा गरेको छैन भने जनताले गर्न झन् गाह्रो हुन्छ । त्यसैले सबैभन्दा पहिले सरकारले नै आफ्नो सम्पत्तिको बिमा गर्नुपर्छ । सरकारले नियम बनाइदिने हो भने जनताले फेरि स्वस्फूर्त रूपमा गर्छन् । सरकारले घरको सुरक्षाका लागि बिमा अनिवार्य गर्नुपर्ने नीति बनाइदियो भने भोलि भवितव्य आइहाले सरकारले त्यसको भार बोक्नुपर्दैन । भूकम्पकै समयमा पनि हामीले झण्डै १३ अर्ब तिर्यौं। सरकारले कतैबाट ल्याउनुपरेन । सरकारले अहिलेसम्म पुनस्र्थापन गरेको छैन तर हामीले उति नै बेला जहाँ–जहाँ बिमा भएको थियो त्यहाँ गएर त्यसको व्यवस्थापन गर्यौं । उहाँहरू आफ्नो व्यापार व्यवसायमा लागेर घर पनि बनाइसक्नुुभयो ।

सरकारले आफ्नै सम्पत्तिको सुरक्षा गरेको छैन भने जनताले गर्न झन् गाह्रो हुन्छ । त्यसैले सबैभन्दा पहिले सरकारले नै आफ्नो सम्पत्तिको बिमा गर्नुपर्छ । सरकारले नियम बनाइदिने हो भने जनताले फेरि स्वस्फूर्त रूपमा गर्छन् ।

बिमा भन्ने कुरा राज्यले गर्ने होइन कि बिमा कम्पनीलाई उहाँहरूले दिएको लाइसेन्स अथोरिटीबाट हुनुपर्छ । जस्तो अहिले स्वास्थ्य बिमा भनिएको छ, प्रचार प्रसारका लागि राम्रो छ । त्यो सरकारले गर्ने होइन, बिमा कम्पनीले गर्ने हो । अर्र्थमन्त्रीले एउटा कार्यक्रममा कसले बिमा बेच्ने, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा आफैँ गर्ने, पुलिस, सहकारी सबैले आफैँ गर्ने हो भने बिमा कम्पनी राखेर के काम छ भन्नुुभयो । यसमा केही तर्क छ । हामी लाइसेन्स लिएर यही क्षेत्रमा खटिरहेका छौँ । अरू व्यवस्थापनभन्दा हामीले राम्रो गर्छौं  । जनतालाई सेवा पुर्याउन हामी पनि सक्षम छौं । त्यसैले बिमा गर्न कम्पनी मार्फत आउनुपर्छ । बाहिरतिर पनि बिमा गर्दा जनताको सबैथोक गरेको हुन्छ तर छुटाएको जुन फन्ड हुन्छ त्यो बिमाकै दायित्व भनेर राखिदिएको हुन्छ । त्यो उहाँहरूले आफैँ गर्ने हो । हामी जति बिमा कम्पनी छौँ त्यो भन्दा ठूलो सञ्जाल राखेर प्रशासनिक मूल्यका लागि बल्ल काम गर्नुपर्यो । त्यो उहाँहरूले गरेर भ्याउनुहुन्न र गर्न पनि सक्नुहुन्न ।

हामी लाइसेन्स लिएर यही क्षेत्रमा खटिरहेका छौँ । अरू व्यवस्थापनभन्दा हामीले राम्रो गर्छौं  । जनतालाई सेवा पुर्याउन हामी पनि सक्षम छौं । त्यसैले बिमा गर्न कम्पनी मार्फत आउनुपर्छ ।

हामी स्वास्थ्य बिमा गरिदिन्छौँ । एकमुुष्ठ रकम हामीलाई दिनुपर्यो । हामी सबै व्यवस्थापन गर्छौ । हाम्रो देशको जुन भौगोलिक वातावरण छ । सबै ठाउँमा स्वास्थ्य सुविधा छैन । राज्यले थप सुविधा दिने हो भने त्यस्तो ठाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी उपलब्ध गराइदिनुपर्यो । राज्यले ५० हजार कभरेज दिने । काठमाडौँ आउन पर्यो भने दुुर्गमका जनतालाई उस्तै परे आउँनै ५० हजार रुपियाँ खर्च लाग्छ । सरकारले कतिपय अत्यावश्यक कुरा जुन निःशुल्क गरेको छ त्यो नै जनताले खरिद गर्नुपर्ने अवस्था छ । डाटा हेर्ने हो भने क्लेम रेसियो हाई भइसकेको छ । त्यो असफल भयो भने फेरि भोलि बिमाले दिएन भनेर दोष हामीलाई नै आउँछ । हामीले राम्रो व्यवस्थापन गरिरहेका हुन्छौँ । सालमा बिमा समितिमा मुद्दा गर्नै एक/दुई सय जान्छ होला । सबै कम्पनीले क्लेमको रेसियो गर्दा २० वटा कम्पनीमा २५/२५ अर्बको बिजनेस छ भने १३/१४ अर्ब हामीले त्यही सालमै तिरिसकेका हुन्छौँ । अरू आउट स्ट्यान्डिङ क्लेम ट्यारिफ आवर हुन्छ । हामीले प्रिमियम सबैको कटाएर झण्डै १०/१५ प्रतिशत मात्र नाफा गर्ने हो । ट्यारिफ आवर भनेको त्यसरी हो । यहाँ एक/दुई जनाको कुरा सुनेर मानिस क्लेम नै दिँदैन भन्छन् । बिमा कम्पनीले क्लेम दिन्छ कि दिँदैन त्यो आफैँले हेर्न बुझ्नुपर्यो । पत्रपत्रिकाले पनि यस्ता विषयवस्तुलाई बेवास्ता गर्नुपर्यो । कम्पनीको ब्यालेन्ससिटमा कति प्रिमियम कलेक्सन भयो, कति तिरियो, नम्बर अफ क्लेम कति र बाँकी कति भन्ने प्रस्ट लेखेको हुन्छ ।

अहिले गाउँगाउँमा बैङ्क पुगेका छन् । स्थानीय तहमा आर्थिक गतिविधि बढेको छ तर बिमा कम्पनी किन सहरमा मात्र केन्द्रित छन् ?

बैङ्कका शाखा जहाँ–जहाँ पुगेका छन्, त्यहाँ उनीहरूले लेन्डिङ गरेपछि सुरक्षा चाहिन्छ । सुरक्षा बिना बैङ्कले केही गर्नसक्ने अवस्था रहँदैन । आर्थिक क्रियाकलापमा बिमाकोे सपोर्ट अनिवार्य छ । हामी आर्थिक क्रियाकलापको मुटु नै हौ । बैङ्क र बिमा भनेका एक अर्काका पूरक नै हुन् । पहिलेको दाँजोमा बिमा कम्पनीले धेर नै शाखा सञ्जाल विस्तार गरिसकेका छन् । अहिलेको नयाँ प्रडक्टमा हामी कृषि, माइक्रो इन्स्योरेन्समा गएका छौँ । स्वास्थ्य बिमाको डिजाइनिङ भइरहेको छ । फेरि सबैले स्वास्थ्य बिमा भन्न थाले भने बिक्री गर्नै गाह्रो छ । अहिले कसरी अनलाइन गर्ने भन्ने डिजिटल इन्स्योरेन्स, साइबर सेक्युरिटी लगायतका प्रडक्ट ल्याउन सकिन्छ ।  नयाँ भनेको ब्रान्डिङ गर्ने हो । भ्यालु याडेड सर्भिस दिने हो । मुख्य रिस्क भनेको त्यही नै हो । पुराना प्रडक्टलाई पनि अलिकति रि ब्रान्डिङ गरेर ल्याउनुपर्ने जरुरी छ । जसरी हामीले त्यहीँ पैसामा भीआईपी अन द स्पट ल्यायौँ । हामीले घरमै बसेर गर्न मिल्ने इन्स्योरेन्स डिजिटल्ली भन्ने ल्यायौँ ।

सरकारले रिटर्नको ग्यारेन्टी गर्दै बजारीकरण गरिदिनुपर्छ । बिमा कम्पनीले सुरक्षा प्रदान गरिदिन्छ । बिग्रिएको बाटो नयाँ बनाउँदा समय लाग्छ तर बिस्तारै राम्रै हुन्छ ।

अहिले सबै कम्पनी स्वास्थ्य बिमा र कृषिमा फोकस भएका छन् । कृषि भनेको नयाँ सेक्टर हो । सरकरले कृषिमा केन्द्रित हुनुपर्यो भनेर विदेशिएका युवालाई फर्काएपछि उसले लगानी गर्छ । त्यसपछि सरकारले रिटर्नको ग्यारेन्टी गर्दै बजारीकरण गरिदिनुपर्छ । बिमा कम्पनीले सुरक्षा प्रदान गरिदिन्छ । बिग्रिएको बाटो नयाँ बनाउँदा समय लाग्छ तर बिस्तारै राम्रै हुन्छ ।

तपाईंहरूले आचारसंहिता पनि ल्याउनुभएको थियो । त्यो कत्तिको प्रभावकारी भयो ?

आचारसंहिता ल्याएपछि त्यसको प्रभावकारिता बिस्तारै राम्रो हुँदै छ । त्यो बिमा समितिले पहिले नै उल्लेख गरेको थियो । बीचमा धेरै कम्पनी चुक्ता पुँजीका कारणले होस् या अस्वस्थ प्रतिस्पर्धाका कारणले बजारमा उथलपुथल भएका थिए । त्यसलाई कन्ट्रोल गर्न अन्डरस्ट्यान्डिङका आधारमा आचारसंहिता ल्याइएको हो । त्यसलाई सबैले मनन पनि गरेका छन् । हामीले जनतालाई सुरक्षा दिने हो । त्यसका लागि पहिले हामी आफैँ सुरक्षित हुनुपर्यो । यसरी अस्वस्थ प्रतिस्पर्धा गर्दा त्यसको परिणाम राम्रो हुँदैन । हरेक प्रडक्ट, हरेक चिजको आ–आफ्नै महत्व हुन्छ । त्यही अनुसारको मूल्य निर्धारण गरिन्छ । त्यही मूल्य नै तोडमोड गर्यो भने त्यसलाई थेग्न सकिँदैन । पुनर्बिमाका कुरा पनि छन् । हाम्रा कुनै पनि निकायले त्यति बुझेका छैनन् । पुनर्बिमा छँदै छ नि देऊ न भन्छन् । पुनर्बिमा कम्पनी पनि यहाँ व्यवसाय गर्न बसेका हुन् । उनीहरूको च्यारिटी अर्गनाइजेसन त होइन । हरेक पोलिसी, टर्म एन्ड कन्डिसन लेखेको हुन्छ । जोखिम के हो, प्रिमियम कसरी दिएको छ त्यो अनुसारको रिस्क हुन्छ । त्यो बुझ्न जरुरी छ ।

हरेक प्रडक्ट, हरेक चिजको आ–आफ्नै महत्व हुन्छ । त्यही अनुसारको मूल्य निर्धारण गरिन्छ । त्यही मूल्य नै तोडमोड गर्यो भने त्यसलाई थेग्न सकिँदैन ।

सगरमाथा इन्स्योरेन्सले मोबाइलबाटै बिमा गर्न मिल्ने एपको विकास गरेको छ । त्यो कत्तिको प्रभावकारी भइरहेको छ ?

नेपालमा पहिलोपटक तीन÷चार वटा प्रडक्ट हामीले अनलाइनमा दिएका छौँ । अहिले धेरैजसो कम्पनीले पेमेन्ट गेट वे भन्छन् । पेमेन्ट दिएपछि हाम्रो पोलिसी नै आउछ । अनलाइन पोलिसी नै पाउन सकिन्छ । हामीले नेपालमा पहिलो पटक यसको परीक्षण गरेका छौँ । लन्च पनि भइसक्यो । त्यसको रेस्पोन्स बिस्तारै आउँदै छ । पोलिसी बिक्री हुने क्रम जारी छ तर रिन्युअल वाला धेरै आउन थालिसके । गर्यो भने त हुनेरहेछ । सरकारी निकायले पनि बिजुली, टेलिफोनको पैसा त्यसरी लिँदैछ । बिस्तारै मानिस अभ्यस्त भइहाल्छन् । फेरि कतिपयले प्रयोग गर्न जानेका पनि हुँदैनन् र बानी पनि परेको हुँदैन । बिस्तारै बानी बसाल्न सक्नुपर्छ । यसरी जाँदा, छिटोछरितो, सुलभ र समयको पनि बचत भयो ।

हामीले भीआईपी अन द स्पट गर्यौं, अब त्यसलाई अन द स्पट फोटो नै अपलोड गरेर कसरी गर्ने भनेर त्यसमा लागिरहेका छौँ । नयाँ–नयाँ क्रियसन सोचमा छन् । अरूभन्दा अलि पृथक् हुन त्यो गर्न पनि पर्छ । हामी त्यसको तयारी गर्दै छौँ ।

सिस्टममा बैङ्क निकै अगाडि बढिसके अब बिमा पनि आउँछन् । यहाँले भनेको जस्तो हाम्रो भीआईपी अन द स्पट भन्ने जुन एप छ त्यहाँ क्लेमको एउटा सेक्सन पनि छ । त्यसमा पोलिसी कहिले सकियो भन्ने पनि हेर्न मिल्छ । त्यो एप डाउनलोड गरेपछि अन्य सामाजिक सञ्जाल चलाउँदा जुन पिन कोड आउँछन् हाम्रोमा पनि त्यस्तै आउँछ । त्यसपछि कुन सेक्सनमा जाने हो त्यो स्टार्ट हुन्छ । स्टार्ट भएपछि क्लेमको स्टेटस के छ ? पोलिसी कहिले म्याचुअर हुन्छ ? नयाँ पोलिसी के छ ? त्यो सबै फिचर्स त्यहाँ छन् । त्यसले गर्दा कुन स्टेटसमा छ, कुन–कुन डकुमेन्ट पुगेको छैन थाहा हुन्छ । यी कुरा बिस्तारै विकास गर्दै लैजाने हो । हामीले भीआईपी अन द स्पट गर्यौं, अब त्यसलाई अन द स्पट फोटो नै अपलोड गरेर कसरी गर्ने भनेर त्यसमा लागिरहेका छौँ । नयाँ–नयाँ क्रियसन सोचमा छन् । अरूभन्दा अलि पृथक् हुन त्यो गर्न पनि पर्छ । हामी त्यसको तयारी गर्दै छौँ ।

सगरमाथा इन्स्योरेन्सको पछिल्लो अवस्था के छ ? आगामी योजना के छन् ?

नयाँ ग्राहक खोज्ने र पुरानालाई सम्हाल्ने हामीले गरिरहेका छौँ । त्यस बाहेक हरेक वर्ष केही नयाँ योजना हामीले ल्याइरहेका छौँ । त्यसले गर्दा पनि ग्राहकको विश्वास बढ्दो छ ।

हाम्रो नामै सगरमाथा । हाम्रो कम्पनी सुरुवातबाट नै अटल, विश्वासिलो र ज्यादै सरल छ । बिजनेस ग्रोथसँग तुलना गर्दा बजारमा हाम्रो राम्रोे छ । यति धेरै कम्पिटिसन हुँदा पनि पहिलेदेखि नै ग्राहकले हामीलाई विश्वास दिइरहेका छन् । हामीले निरन्तरता पाइरहेका छौँ, त्यो नै ठूलो कुरा हो । नयाँ ग्राहक खोज्ने र पुरानालाई सम्हाल्ने हामीले गरिरहेका छौँ । त्यस बाहेक हरेक वर्ष केही नयाँ योजना हामीले ल्याइरहेका छौँ । त्यसले गर्दा पनि ग्राहकको विश्वास बढ्दो छ । शाखा विस्तार भइरहेका छन् । बिजनेस ग्रोथ राम्रो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री