शनिबार, ५ जेठ २०८१

भारत विश्वको इतिहासमा खुला समाज हो : विदेशमन्त्री जयशङ्कर

समयपोष्ट २०८१ वैशाख २२ गते २२:०५

Advertisement

भारतका विदेशमन्त्री एस. जयशङ्करले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गर्नुभएपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो ।

आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिनुभएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष सङ्कलन कार्यक्रममा उक्त टिप्पणी गर्नुभएको थियो ।

विदेशमन्त्री जयशङ्करले शुक्रबार एक मिडिया गोलमेचमा बाइडेनको टिप्पणीहरू भारतको वास्तविकतासँग मेल खाँदैन भन्नुभयो । “सबैभन्दा पहिला हाम्रो अर्थतन्त्र कमजोर छैन”, इकोनमिक्स टाइम्स अखबारद्वारा शनिबार प्रकाशित छलफलको रिपोर्टअनुसार उहाँले भन्नुभयो, “भारत धेरै अद्वितीय मुलुक हो, म वास्तवमा भन्न चाहन्छु, विश्वको इतिहासमा यो खुला समाज हो, विभिन्न समाजका विभिन्न मानिस भारतमा आउँछन् ।”

Advertisement

फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो ।

भारतको नागरिकता कानूनमा हालै लागु गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् । सन् २०१९ मा संसद्ले पहिलो पटक पारित गरेपछि अन्ततः मार्च लागु भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ ।

“यस्ता मानिस छन् जसले सार्वजनिकरूपमा यस मुलुकमा १० लाख मुसलमानले आफ्नो नागरिकता गुमाउने छन् भनेर रेकर्डमा भनेका छन्”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “उनीहरूलाई जिम्मेबार किन ठहर गरिँदैन ? किनकी कसैले पनि नागरिकता गुमाएको छैन ।”

अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोड्नुभएको थियो । “चीन आर्थिकरूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ ? रुस किन समस्यामा छ ? र भारत ? किनकी उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्”, कोष सङ्कलन कार्यक्रममा उहाँले भन्नुभएको थियो ।

टोक्योले शनिबार प्रतिक्रिया दिँदै ‘जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण’ भएको बताएको छ ।

सन् २०२१ मा पदभार सम्हालेदेखि बाइडेनले एसियामा अमेरिकी सहयोगीहरू विशेषगरी भारत र जापानसँगको सम्बन्धलाई बलियो बनाउनुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदा दुवैका लागि ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गर्नुभएको छ ।

त्यसपछि ह्वाइट हाउसले बाइडेनको टिप्पणीलाई अस्वीकार गर्नुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भन्नुभयो, “राष्ट्रपतिले ‘अमेरिका आप्रवासीहरूको देश हो’ भनेर फराकिलो सन्देश दिनमात्र खोजिरहनुभएको थियो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री