
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी मानिस बिरामी परेका छन् ।
गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको छ ।
बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए ।
बिरामीको अवस्था अत्यन्तै कमजाेर भएको र केहीको अवस्था एम्बुलेन्समा बस्न समेत नसक्ने रहेको श्रेष्ठले बताए ।

संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए । उनले भने, ‘केन्द्रमा पनि सम्पर्क गरेका छौं। चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो । भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको ।’बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको उनले जानकारी दिए ।








प्रतिक्रिया