सोमबार, २४ वैशाख २०८१

घरघरमै स्वास्थ्यकर्मी

rss २०७६ माघ २१ गते १५:१५

Advertisement

पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै छ ।

पूर्वखोलाका ९० वर्षीय डिल्लीसरा आलेले हिँडेर स्वास्थ्यचौकी पुग्ने अवस्था नहुँदा डाक्टर घरमै आएर जाँच गर्दा निकै खुशी लागेको बताउनुभयो । “आफ्ना छोराछोरीले झैँ घरमै आएर स्वास्थ्य अवस्था बुझ्ने र औषधि दिने गरेको देख्दा अचम्म लाग्छ”, आलेले थप्नुभयो, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ । योभन्दा राम्रो खबर के हुन्छ र ?”

वृद्ध र शारीरिक हिसाबले कमजोर नागरिकलाई स्वास्थ्य जाँच तथा उपचारका निम्ति रिङ्नेरह स्वास्थ्यचौकीका कर्मचारी घरघरमै पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । उहाँले प्रदेश नम्बर ५ सरकारको समन्वयमा गाउँपालिकाभरिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने अभियान नै रहेको जानकारी दिनुभयो । पूर्वखोला–२ जल्पाका ८९ वर्षीय खडानन्द अधिकारी पनि घरमा स्वास्थ्यकर्मी आएर उपचार गर्छन् भन्ने कहिल्यै नसोचेको बताउनुभयो । उहाँले घरमै आएर स्वास्थ्य परीक्षण गरेर औषधि पाउँदा बूढेसकालमा हिँडेर स्वास्थ्य केन्द्र धाउन नपरेकामा खुशी व्यक्त गर्नुभयो ।

चौरासी वर्षका नागरिकलाई घरघरमै पुगेर रक्तचाप, ग्याष्ट्रिकलगायत रोगको परीक्षण गरी खानपान, स्याहारसुसार र बसाइका सन्दर्भमा परामर्शसमेत दिने गरिएको रिङ्नेरह स्वास्थ्यचौकीका प्रमुख श्रीराज आचार्यले बताउनुभयो । ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै आवश्यकतानुसार निःशुल्क औषधिसमेत प्रदान गरिएको पूर्वखोला गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । प्रदेश सरकारले ८४ वर्ष उमेरमाथिका नागरिकको उपचारमा समन्वय गरेको र गाउँपालिकाको पनि छुट्टै ८० वर्षमाथिका नागरिकको परीक्षण अभियान जारी रहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

पालिकाका छवटै वडामा पोषणका निम्ति हर्लिक्सलगायत गाउँपालिकाले दिन मिल्ने खालका औषधि वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारेमा अभिलेख राख्ने कार्यक्रम भइरहेका छन् । गाउँपालिकाले नागरिक स्वास्थ्य परीक्षणसँगै अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने व्यवस्था, गर्भवतीलाई अण्डा वितरण, सुत्केरीलाई जाउलो र जुवानोको झोल खुवाउने अभियान, स्वास्थ्य संस्थामै सुत्केरी हुनेका निम्ति नेपाल सरकारले दिनेबाहेक गाउँपालिकाबाट रु ३०० देखि ६०० प्रदान, सुत्केरीलाई अनिवार्य बेलाबेला घरमै पुगेर स्वास्थ्य परीक्षणलगायत काम गर्दै आएको पूर्वखोला १ का वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकामा अहिले ८० वर्षमाथिका करीब २५० को हाराहारीमा ज्येष्ठ नागरिक रहेको गाउँपालिकाको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री