चार वर्षमा ३१७ जना विदेशीको फेक रेस्क्यु, २ अर्ब ८९ करोड अवैध रकम दाबी

चार वर्षको अवधिमा नेपालको पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ३१७ जना विदेशी पर्यटकको फेक रेस्क्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उच्च हिमाली क्षेत्रमा घुम्न आएका यी पर्यटकहरूलाई ट्रान्सपोर्ट सर्भिस कम्पनीहरूले उद्धार र उपचारको आवरणमा नक्कली रेस्क्यु गरेर विदेशी बीमा कम्पनीहरूलाई ठगेका हुन् ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा सन् २०२२ यता माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर्ड सर्भिस र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालि गरी तीन कम्पनीका सञ्चालक तथा म्यानेजरहरूको संलग्नता पुष्टि भएको छ । यी कम्पनीहरूले कुल ३१७ जनाको शङ्कास्पद रेस्क्यु गरेको भेटिएको छ, जसमध्ये माउन्टेन रेस्क्यु सर्भिसले १७१ जना, नेपाल चार्टर्ड सर्भिसले ७५ जना र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिले ७१ जनाको फेक उद्धार गरेको अनुसन्धान निष्कर्ष छ ।

Advertisement

यी नक्कली उद्धारबाट कम्पनीहरूले विदेशी बीमा कम्पनीहरूमा कुल २ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा दाबी गरेको सीआईबीले जानकारी दिएको छ । सामान्य लेक लाग्ने अवस्थामा पनि पर्यटकहरूलाई मिलेमतोमा हेलिकप्टरबाट जबरजस्ती उद्धार गर्ने, अस्पतालमा भर्ना गरेर अनावश्यक उपचारको कागजात तयार पार्ने र बीमा रकम दाबी गर्ने गरेको पाइएको छ । उद्धार गर्नुअघि नै पर्यटकको इन्स्योरेन्स पोलिसीको जानकारी लिई उच्च हिमाली क्षेत्रमा लेक लाग्दा हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेको अनुसन्धानमा खुलेको छ ।

सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिएअनुसार, रेस्क्यु कम्पनी र अस्पतालले छुट्टाछुट्टै बीमा दाबी गर्ने गरेको देखिन्छ । आरोपीहरूले चार्टर्ड फ्लाइटलाई रेस्क्यु भनेर बीमा दाबी गर्ने र पर्यटकलाई हिमालको बेसक्याम्प घुमाएपछि फर्किँदा हेलिकप्टर मगाएर ‘रेस्क्यु’ फ्लाइटको कागजात बनाउने गरेको भेटिएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रबाट एउटा फ्लाइटमा एक जना पर्यटकसँग ३ हजार १०० अमेरिकी डलरसम्म असुल्ने गरेको पनि अनुसन्धानबाट थाहा भएको छ । डीएसपी दान बहादुर थापाले भने, “हेलिकप्टरमा ल्याएपछि अनिवार्य अस्पताल भर्ना गरेर कागजात बनाउने गरेको देखिन्छ ।”

फेक रेस्क्युमा संलग्न आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया, एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।

पक्राउ गर्नुअघि २ हजारभन्दा बढी उद्धारका विवरण विश्लेषण गरिएको एआईजी केसीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री