
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको आधिकारिक उम्मेदवार घोषणा गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले यो निर्णय गरेको हो। उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेको प्रस्तावलाई पारित गर्दै सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय भएको हो ।
उपसभापति शर्माले विभिन्न बुँदाहरूमा थापालाई किन सबैभन्दा उपयुक्त उम्मेदवार मान्नुपर्छ भन्ने तर्क प्रस्तुत गर्दै बैठकका सदस्यहरूलाई आग्रह गरेका थिए। उनले मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याउँदै प्रस्तावलाई ‘समयको माग’ को रूपमा चित्रण गरे।
बैठकमा शर्माले भने, “केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु।”
यो निर्णय पार्टीभित्र एकता कायम गर्दै निर्वाचनमा कांग्रेसलाई थप मजबुत बनाउने उद्देश्यले लिइएको बताइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापाको नेतृत्वमा पहिलो पटक सानेपामा बसेको यो बैठकले पार्टी कार्यालय प्रवेशसँगै चुनावी रणनीति पनि तय गरेको छ। पार्टीले एक्लै लडेर बहुमत ल्याई सरकार गठन गर्ने लक्ष्य राखेको छ।
थापाले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। बैठकपछि उनले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार अभियान तीव्र पार्ने कार्यक्रम रहेको जनाइएको छ। अन्य प्रमुख दलहरूले पनि प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेकाले यो निर्णयले निर्वाचनको माहोल थप रोचक बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया