घलेगाउँ पर्यटकले भरिभराउ, सञ्चालकलाई भ्याइनभ्याई

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् ।

Advertisement

समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “ विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन् । अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् । तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उहाँले बताउनुभयो ।

घरबास सञ्चालक हेमकुमारी गुरुङकाका अुनसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याई छ । उहाँले पर्यटक आउने अहिलेको याममा प्रतिघरबासले रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिनुभयो ।

विसं २०५७ देखि सञ्चालनमा भएको घरबास यहाँ बढेर अहिले ४२ घरबास पुगेको छ । पर्यटकको सत्कारसँगसँगै घरबासमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् । विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।

घलेगाउँँबाट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमाल, सात हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो)लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् ।

Advertisement

आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गरी गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री