
सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ ।
उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा गठित आयोगले आजैबाट काम सुरु गर्दैछ ।
आयोगले एक महिनासम्म अनुसन्धानको काम गर्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आयोगले बालकुमारी घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्ने टीओआर पनि तोक्न सक्ने गरी काम गर्नेछ र एक महिना पछि प्रतिवेदन सरकारलाई बुझाउने पनि उनले जानकारी दिइन्।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेलको संयोजकत्वमा गठन गरेको आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेका छन्।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो ।










प्रतिक्रिया