शुक्रबार, १६ चैत २०८०

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

समयपोष्ट २०७९ माघ ६ गते ११:३८

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ ।

केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभएको छ । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।”

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ ।”

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन् ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ ।” मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि केन्द्रले भूमिका खेलको भन्दै प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले त्यसका लागि केन्द्रलाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्रीले थप्नुभयो, “यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै सातवटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यकपर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री